कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाबिच शिष्टाचार भेट भएको छ।

शुक्रबार सिंहदरबारस्थित मन्त्री गौतमको कार्यकक्षमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै फ्रान्स सरकारका तर्फबाट मानवीय सहायता प्रदान गरिएको जानकारी दिइन्।

भेटमा जलवायु परिवर्तनको प्रभाव, पारस्परिक कानुनी सहायता, नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्ध तथा हवाई सुरक्षा सुधारका विषयमा छलफल भएको थियो। राजदूत इन्जाले नेपालको हवाई सुरक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउने प्रयासको प्रशंसा गरिन्।

दुवै पक्षले नेपाल र फ्रान्सबिचको सम्बन्ध तथा आपसी सहयोगलाई थप सुदृढ बनाउँदै आगामी दिनमा समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटमा कानुन तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।

सुझावित समाचार