कांग्रेस सभापतिका लागि तीनजनाको उम्मेदवारी
नेपाली कांग्रेसको सभापतिका लागि तीनजनाको उम्मेदवारी परेको छ। १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी निर्वाचन प्रकृयामा तीन नेताले सभापतिका लागि मनोनयन दर्ता गराएका हुन्।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापासहित नेताहरु किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले पनि सभापतिका लागि उम्मेदवारी दिएका हुन्।
यो वर्ष विजयादशमी : ४ कात्तिक बिहान १०ः२६ मा उत्तम साइत
नेपाल पञ्चांग निर्णायक विकास समितिले यो वर्ष (०८३ साल)को बडादसैँअन्तर्गत विजया दशमीको उत्तम साइत ४ कात्तिक विहान १०ः२६ बजे हुने जनाएको छ ।
समितिले बडादसैँअन्तर्गतका विभिन्न धार्मिक कार्य तथा पूजाआजाका लागि विभिन्न शुभसाइत सार्वजनिक गरेको छ ।
समिति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठन भएको हो । समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिअनुसार असोज २५ गते घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ । चित्रा नक्षत्र र वैधृति योग परेकाले शान्ति पूजा गरेर मात्र घटस्थापना गर्न समितिले सुझाव दिएको छ ।
फूलपातीको शुभसाइत ३१ असोज ७ः३७ बजे फूलपाती तथा श्री तुलजाभवानी यात्राको साइत परेको छ । बिहान १०ः३९ बजे स्थिरासनको साइत रहेको छ । कात्तिक १ गते आइतबार महाष्टमी (कालरात्रि) र कात्तिक ३ गते मंगलबार महानवमी परेको छ ।
दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गर्ने मुख्य दिन विजयादशमी ४ कात्तिकमा परेको छ । समितिका अनुसार विजयादशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ भने टीका ग्रहणका लागि बिहान १०ः२६ बजेको समय उत्तम साइत तोकिएको छ ।
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा
सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका–४ मा रहेको ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार, रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औंल्याइएका जग्गा संरक्षण तथा सरकारको नाममा कायम गर्ने निर्णयअनुसार उक्त जग्गा नेपाल सरकारको नाममा कायम गरिएको हो।
आर्मीको ‘मेस’ मा दैनिक १० हजार लिटर डिडिसी दुध, निर्यातपछि आन्तरिक बजार बढाउने रणनीति
दुग्ध विकास संस्थान (डिडिसी) बाट दैनिक १० हजार २ सय ५१ लिटर प्रशोधित दुध खरिद गर्न नेपाली सेनाले सम्झौता गरेको छ ।
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका रथी संजयकुमार रंजितबीच दुध, दही, पनिर, पाडउर र चिज खरिद गर्न सम्झौता भएको हो ।
सम्झौताअनुसार सेनाले डिडिसीबाट दैनिक दही ३ सय ६५ लिटर, पनिर ३७ किलो, पाउडर दुध २१ किलो र चिज १५ किलो खरिद गर्नेछ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापति पदका लागि मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र शर्माको मात्रै उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापति पदमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो।
निर्धारित समयभित्र भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।
देश र संगठन माथि विश्वासघात गर्ने जोसुकै होस्, उसले उन्मुक्ति पाउने छैन : गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकैलाई कुनै उन्मुक्ति नदिने चेतावनी दिएका छन् । उनले पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउनेलाई कानूनको कठघरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।
उनले समाजिक सञ्जालमार्फत भनेका छन्, 'गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु।'
विनोद चौधरीद्वारा कांग्रेसको समावेशी उपसभापतिमा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
चौधरीले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा केही समयअघि उपसभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ २६ देखि २८ असोजसम्म
प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ आगामी २६ देखि २८ असोजसम्म हुने भएको छ।
संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा समितिको सचिवालयले २६, २७ र २८ असोजमा प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने मिति प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई समितिले स्वीकृत गरेको हो।
प्रस्तावित १३ राजदूतविरुद्ध सातवटा उजुरी परेको छ। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतविरुद्ध रहेका छन् भने पाँचवटा उजुरीमा एक–एकजना प्रस्तावित राजदूतलाई तोकेर उजुरी दिइएको छ।
मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न ५० हेक्टरमा टाइगर सेन्चुरी बनाइने
बाघको संख्या वृद्धिसँगै बढ्दै गएको मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न सरकारले ‘टाइगर सेन्चुरी’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र अमेरिकास्थित संस्था ‘द वाइल्ड एनिमल सेन्चुरी’ (टिडब्ल्युएएस) बिच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा एनटिएनसीका सदस्यसचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र टिडब्ल्युएएसका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गरेका छन्।
नेपालमा बाघको संख्या दोब्बरभन्दा बढी पुगेपछि मानव बस्तीमा प्रवेश गर्ने तथा मानवीय क्षति निम्त्याउने ‘कन्फ्लिक्ट टाइगर’को संख्या पनि बढ्दै गएको छ। यस्ता समस्याग्रस्त बाघलाई प्राकृतिक वासस्थानबाट नियन्त्रणमा लिएपछि हाल विभिन्न साँघुरा खोरमा राख्ने गरिएको छ। दीर्घकालीन स्याहार, आधुनिक आवास तथा वैज्ञानिक व्यवस्थापनका लागि छुट्टै सेन्चुरी आवश्यक देखिएपछि परियोजना अघि बढाइएको हो।