काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट सुरु हुँदै छ । महाधिवेशनमा देशभित्र र प्रवासमा रहेका गरी सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ ।
महाधिवेशनमा सहभागी हुन नेदरल्यान्ड्सबाट महाधिवेशन प्रतिनिधि रहेका युवा नेता शालिकराम गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । गौतमले ‘जन सम्पर्क समिति’ क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । उनी नेदरल्यान्ड्सबाट महाधिवेशन प्रतिनिधि छन् ।
१५औँ महाधिवेशनमा नेपाली कांग्रेसले प्रवासमा रहेका जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने गरी अलगअलग क्लस्टर बनाएर कोटा छुट्याएको छ । गौतम युरोपअन्तर्गतको कोटामा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यसअघि १३औँ महाधिवेशन प्रतिनिधि र १४औँ महाधिवेशनमा महासमिति सदस्य रहेका गौतमले पार्टीलाई समयसापेक्ष, गतिशील र युग सुहाउँदो बनाउन आफूले उम्मेदवारी दिन लागेको बताए ।
‘रूपान्तरित तथा युवाको बाहुल्य रहेको पार्टीलाई समयसापेक्ष, गतिशील र युग सुहाउँदो बनाउने उद्देश्यसहित उम्मेदवारी दिने निर्णयमा पुगेको छु‚’ उनले भने ।
विदेशमा आर्जन गरेको सिप, ज्ञान र अनुभवबाट पार्टीलाई थप बलियो बनाउने तथा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने अधिकार र गैरआवासीय नेपालीहरूको दोहोरो नागरिकताको अधिकारलगायतका महत्त्वपूर्ण सवाल कार्यान्वयनका निम्ति निरन्तर पहल गर्ने उद्देश्यसहित आफू केन्द्रीय सदस्यको निर्वाचनमा होमिएको गौतमले बताए ।
२०३८ सालमा बागलुङमा जन्मेका गौतम विद्यार्थी जीवनमै कांग्रेसको नीति विचारसँग आबद्ध भएका हुन् । राजनीतिक यात्रामा उनी नेपाली कांग्रेस बेल्जियम जनसम्पर्क समितिको महामन्त्रीसम्म भए । रेस्टुरेन्ट व्यवसायमा संलग्न उनी नेदरल्यान्ड्स पुगेपछि त्यहाँ जनसम्पर्क समिति महामन्त्री र पछि सभापति बनेका थिए ।
विगतमा सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतसँग निकट सम्बन्ध बनाएका गौतम पार्टीको विशेष महाधिवेशनका अभियन्तासमेत हुन् । ‘मेरो उमेर र अनुभव पार्टीमा लगानी गर्ने मन छ, कर्मभूमिमा बसेर जन्मभूमिको सेवा गर्ने मन छ‚’ उनले भने ।