खैरो हेरोइनजस्तो पदार्थसहित धनकुटामा एक युवक पक्राउ

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

धनकुटा। धनकुटाको हिलेबजारबाट प्रहरीले लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी हिलेबाट प्रहरी नायब निरीक्षक दीपक कटुवालको कमान्डमा खटिएको टोलीले असोज १७ गते राति करिब ९ः३० बजे धनकुटा नगरपालिका– १, हिलेस्थित तोङ्बा चोकमा चेकजाँच गर्ने क्रममा छथर जोरपाटी गाउँपालिका– ६ का २७ वर्षीय शान्तिराम थापालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाको साथबाट प्लास्टिकसहित एक ग्राम १४० मिलिग्राम र प्लास्टिकबाहेक ५४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको छ।

यस्तै, उनको साथबाट ट्रामाडोल ५० का सातवटा क्याप्सुल र सातवटा स्पाइसपेन ट्याब्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित थापालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार