लहान/ सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका- २, बन्दीपुरबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित ब्राउनसुगरजस्तो देखिने पदार्थसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पूर्व–पश्चिम लोकमार्ग क्षेत्रमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा मिर्चैयास्थित इलाका प्रहरी कार्यालय र गोलबजारस्थित लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले यात्रुवाहक बसबाट प्लास्टिकबाहेक ५ ग्राम ब्राउनसुगरजस्तो पदार्थसहित सिराहाको धनगढीमाई नगरपालिका- ७ बस्ने करिब २० वर्षका अजयकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पूर्वबाट पश्चिम पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१९००१ ख ०२२१ नम्बरको यात्रुवाहक बसमा यात्रा गरिरहेका यादवलाई शुक्रवार राति पक्राउ गरिएको हो।
जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकमा प्याक गरी लुकाएको लागुऔषध ब्राउनसुगरजस्तो पदार्थ बरामद भएपछि उनलाई नियन्त्रणमा लिई मिर्चैया सिराहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।