अफगानिस्तानले २०औँ एसियाली खेलकुदको क्रिकेटतर्फ नेपाललाई १०३ रनको सामान्य लक्ष्य दिएको छ। शुक्रबार आइचीको निसिनस्थित कोरोगी मैदानमा अफगानिस्तानले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसले २० ओभरमा सात विकेट गुमाउँदै १०२ रन बनायो।
दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको नेपालले सानदार बलिङ गर्याे। नेपाली बलरले अफगानिस्तानी ब्याटरलाई ठुलो साझेदारी हुनै दिएनन्। स्पिनरद्वय ललित राजवंशी र कुशल भुर्तेल चम्किए। कुशल भुर्तेलले चार तथा ललितले तीन विकेट लिएका थिए । त्यसपछि अफगानिस्तानको ब्याटिङ धराशायी भएको थियो।

भुर्तेलले चार ओभरमा एक मेडनसहित २१ रन खर्चिए। ललितले चार ओभरमा १३ रन मात्रै दिएका थिए। दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने चार ओभर बलिङ गरेर पनि विकेटविहीन भए । यस्तै, रोहितकुमार पौडेल, करण केसी र कुशल मल्ल पनि विकेटविहीन भएका थिए।
अफगानिस्तानका फैसल खान अहमदजाई र नजिबुल्लाह जाद्रनले समान ३० रन बनाएका थिए। नांगेयालिया खानले १७ रन बनाएर अविजित रहे ।
यसअघि ओपनर हसन इसाखिललाई ललितले डकआउट गराए। ललितले नै अर्का ओपनर मोहमद अक्रमलाई लोकेश बमबाट दुई रन बनाउँदा क्याच गराएका थिए। तेस्रो नम्बरमा आएका करिम जानतलाई पनि नाै रन बनाउँदा ललितले नै आउट गराएपछि अफगानिस्तान दबाबमा आएको थियो। छैटौँ बलमै विकेट गुमाएको अफगानिस्तानले ४.१ ओभरमा १६ रन जोड्दा तीन विकेट गुमायो । कप्तान डार्बिस रोसुलीलाई भुर्तेलले डकआउट गराए ।