जनकपुर बोल्ट्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पाकिस्तानी ब्याट्सम्यान इफ्तिखर अहमदलाई अनुबन्ध गरेको छ । जनकपुरले बिहीबार अहमदलाई अनुबन्ध गरेको जनाएको छ । जनकपुरले तेस्रो खेलाडीका रूपमा उनलाई भित्र्याएको हो । यसअघि हरमित सिंह र जिमी निसमसँग सम्झौता गरेको थियो ।
अनुभवी ब्याट्सम्यान अहमदले पाकिस्तानबाट टेस्ट, एकदिवसीय र टी–२० आईको प्रतिनिधित्व गरेका छन् । उनले ६६ टी–२० आईमा चार अर्धशतकसहित ९८९ रन बनाएका छन् ।
आवश्यक परे उनी बलिङ पनि गर्न सक्छन् । उनले टी–२० आईमा आठ विकेट लिएका छन् । अहमदसँग पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र लंका प्रिमियर लिग खेलेको अनुभव छ । उनले दुईपटक पिएसएलको उपाधि जितेका छन् । उनी सन् २०१७ मा पेसावर जालिम र सन् २०१८ मा इस्लामाबाद युनाइटेडबाट च्याम्पियन बनेका थिए । तेस्रो संस्करण ९ कात्तिकदेखि ५ मंसिरसम्म त्रिवि मैदानमा हुनेछ ।
कर्णालीलाई हेडगेयरको साथ
कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ । कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबिच तेस्रो संस्करणका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा बिहीबार कर्णालीका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरेका छन् । सम्झौता तीन वर्षका लागि भएको हो । पल्मबर गत सिजन कर्णालीको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो । निर्देशक मल्लले गत सिजनदेखि सुरु भएको पल्मबरसँगको सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताए ।
म्याकमुलेन सुदूरपश्चिममा
सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनका लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई अनुबन्ध गरेको छ । यसअघि पहिलो संस्करणमा म्याकमुलेनले सुदूरपश्चिमबाट प्रतिस्पर्धा गरेका थिए । टोलीमा फेरि अनुबन्ध हुँदा उत्साहित भएको म्याकमुलेनले बताएका छन् । सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले म्याकमुलेनलाई पुनः टोलीमा भित्र्याउन पाउँदा खुसी लागेको बताए ।
म्याकमुलेनको अनुभव र क्षमताले टोलीलाई थप बलियो बनाउने खड्काले बताए । ब्याटिङ अलराउन्डर म्याकमुलेनले स्कटल्यान्डका लागि ४७ एकदिवसीय र ३० टी–२० आई खेल खेलेका छन् । उनले टी–२० आई ३० खेलमा ७८७ रन बनाएका छन् । समग्र टी–२० मा उनले ५४ खेलमा ११ अर्धशतकसहित एक हजार ३६६ रन बनाएका छन् ।