नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा सामाजिक परिचालकविरुद्ध मुद्दा

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा कार्यरत रहेको आरोपमा रौतहटको माधवनारायण नगरपालिकाका सामाजिक परिचालक कृष्णनन्दनप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रस्ट कोष समितिमा सामाजिक परिचालक (सहायकस्तर पाँचौँ) पदमा नियुक्ति लिने क्रममा बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।

उक्त प्रमाणपत्रका आधारमा नियुक्ति लिएका यादव हालसम्म पनि राष्ट्रसेवकको हैसियतमा कार्यरत रही पद, लाभ र सुविधासमेत प्राप्त गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको पुष्टि भएपछि यादवले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ।

आयोगले यादवलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

सुझावित समाचार