अस्ट्रेलियाका बायाँहाते ओपनिङ ब्याट्सम्यान डार्सी सर्ट तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ मा पनि साबिक विजेता लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन् । लुम्बिनीले बुधबार सामाजिक सञ्जालमार्फत सर्ट अनुबन्ध गरेको जानकारी दिएको हो । सर्टले अस्ट्रेलियाको सिनियर टोलीबाट २३ टी–२०आई खेलमा ६४२ रन बनाएका छन् । सर्टले गत संस्करणमा लुम्बिनीलाई उपाधि दिलाउने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनको विशेषता नै पावर–प्लेमा खेल आक्रामक रूपमा ब्याटिङ गर्नु हो । सर्टले समग्र टी–२० मा उनले १९७ खेलमा पाँच हजार ९१५ रन बनाएका छन् । बिगबासमा एडिलेड स्ट्राइकर्सबाट दुई सिजन खेलेका उनले होबार्ट हुरिकेन्सबाट सात सिजन खेलेका थिए । उनी होबार्टका सर्वाधिक सफल खेलाडीका रूपमा रहेका छन् । बिगबासको सन् २०१८ र २०१९ को सिजनमा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
सुदूरपश्चिमलाई होलिडेजको साथ
एनपिएलको साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले सिलिंक्स होलिडेज प्रालिलाई आफ्नो आधिकारिक ट्राभल पार्टनरका रूपमा अनुबन्ध गरेको छ । नेपालको अग्रणी टुर अपरेटर तथा डेस्टिनेसन म्यानेजमेन्ट कम्पनीका रूपमा रहेको सिलिंक्स होलिडेजले प्रतियोगिताभर सुदूरपश्चिमका खेलाडी, प्रशिक्षक, टोलीका पदाधिकारी तथा अधिकारीहरूको सम्पूर्ण यात्रा, यातायात, लजिस्टिक्स र आतिथ्य व्यवस्थापन गर्नेछ । साझेदारीले एनपिएलको आयोजनालाई सहज बनाउन सहयोग गर्नुका साथै नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेल पर्यटनको उदीयमान गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसमेत राखेको छ ।