- गत संस्करणमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीले मंगलबार समूह ‘बी’मा थाइल्यान्डलाई ४६–४३ ले हराएको छ । समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको नियमअनुसार सेमिफाइनल पुग्ने टोलीले कम्तीमा कांस्य पदक जित्नेछन् ।
नेपाली खेलाडीहरू २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा लगातार खराब नतिजा निकालिरहँदा महिला कबड्डी टोलीले पदकको आशा दिलाएको छ । महिला टोलीले मंगलबार समूह ‘बी’मा टोकाइ सिटिजन जिम्नेसियममा आफ्नो पहिलो खेलमा थाइल्यान्डमाथि ४६–४३ को रोमाञ्चक जित निकालेको छ । यस समूहमा नेपालसँगै श्रीलंका, चाइनिज ताइपेई रहेका छन् ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउनेछन् । एसियाडको नियमअनुसार सेमिफाइनलमा पुग्ने टोली पदकविहीन हुँदैनन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले संयुक्त रूपमा कांस्य जित्नेछन् ।
गत संस्करणको कांस्यपदक विजेता महिला टोलीले जापानको नागोया र आइचीमा चलिरहेको २०औँ एसियाडको आफ्नो पहिलो खेलमै कडा प्रतिद्वन्द्वी थाइल्यान्डमाथि सनसनी जित निकालेको हो । पहिलो हाफमा २४–१५ ले पछाडि परेको नेपालले त्यसपछि पुनरागमन गर्दै जित निकाल्यो । थाइल्यान्डले पहिलो हाफमा नेपालमाथि दबाब बनाउँदै २४–१५ को अग्रता लिएको थियो । पहिलो हाफमा नौ अंकले पछिपरेको नेपाली महिला खेलाडीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दा नेपालले थाइल्यान्डलाई ३१–१९ ले पाखा लगाउँदै समग्रमा ४६–४३ को स्कोरमा बाजी मार्यो । प्रतिस्पर्धामा थाइल्यान्डले २९ तथा नेपालले आउट अंक बटुलेका थिए । यसैगरी, नेपालले १७ बोनस अंक जोड्दा थाइल्यान्ड १० अंकमा सीमित भयो । नेपाल र थाइल्यान्डले समान चारपटक अलआउट अंक जोडेका थिए । थाइल्यान्डले प्रतिस्पर्धामा दुईपटक ग्रिन कार्ड पाएको थियो । गत वर्ष चीनमा भएको १९औँ संस्करणको एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले नेपाललाई पहिलो पदकका रूपमा कांस्य दिलाएको थियो । यसपटक पनि टोलीले नेपाललाई सुरुवातबाटै पदक जित्ने सम्भावना बलियो बनाएको छ । अब नेपाली महिला कबड्डी टोलीले आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेईसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।
त्यसपछि नेपालले श्रीलंकाको सामना गर्नेछ । आफ्नो समूहमा श्रीलंकाले पहिलो खेल गुमाइसकेको छ । चाइनिज ताइपेईले श्रीलंकालाई ६३–१७ को फराकिलोअन्तरले हराएको छ । यस समूहमा नेपाल र चाइनिज ताइपेईले मात्र जित निकालेका छन् । पुरुषतर्फ कबड्डीमा नेपाल लगातार दोस्रो हार सामना गरेको छ । समूह ‘बी’को खेलमा नेपाल पाकिस्तानसँग ५८–४३ ले पराजित भयो । पहिलो हाफ नेपालले १७–३० ले गुमाएको थियो । दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि परेको हो । यसअघि पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो ।
पुरुषतर्फ कबड्डीमा नेपाल लगातार दोस्रो हार सामना गरेको छ । समूह ‘बी’को खेलमा नेपाल पाकिस्तानसँग ५८–४३ ले पराजित भयो । पहिलो हाफ नेपालले १७–३० ले गुमाएको थियो । दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि परेको हो । यसअघि पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो ।
चन्द्रबहादुर पहिलो चरणमै रोकिए
आइभिए विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेर इतिहास रचेका नेपाली बक्सर चन्द्रबहादुर थापामगर मंगलबार २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को पहिलो खेलबाट बाहिरिएका छन् । नागोयाको निसिओ जिम्यानजियममा ५५ केजीमुनिको प्रतिस्पर्धा २६ वर्षीय चन्द्रबहादुर भारतका मन्देन्गबाम जादुमानी सिंहसँग ५–० ले पराजित भएका हुन् । जापानमा चलिरहेको एसियाडमा नेपालले चन्द्रबहादुरबाट पनि पदकको आशा गरिएको छ ।
एसियाडको चौथो दिन समाप्तिसम्म नेपालबाट पदकको आशा गरेका लगभग सबै खेलाडी बाहिरिइसकेका छन् । यसअघि ५१ केजीमा प्रतिस्पर्धा गरेकी रमिशा श्रेष्ठ भियतनामकी एनगुएन थी टामसँग ५–० ले पराजित भइन् । नागोयाको निसो जिम्यानजियममा रमिशा सहजै पराजित भएकी थिइन् । भारतीय खेलाडीविरुद्ध चन्द्रबहादुरले प्रतिस्पर्धात्मक खेल खेलेका थिए ।
पहिलो चरणमा दोस्रो जर्जका रूपमा जर्मनका जिमेर एरिकाले चन्द्रबहादुरलाई १०–९ को स्कोर दिएका थिए । यसबाहेक अन्य जर्जहरूले पहिलो राउन्डमा भारतीय खेलाडीलाई समान १०–९ को स्कोर दिए । यसैगरी, दोस्रो राउन्डमा साउदी अरेबियाका तेस्रो जर्ज सलेहले चन्द्रबहादुरलाई १०–९ को स्कोर दिए । अन्य जर्जहरूले भारतका खेलाडीलाई १०–९ को स्कोर दिए । अन्तिम तथा तेस्रो राउन्डमा सबै पाँचै जर्जले भारतका खेलाडीलाई समान १०–९ को स्कोर दिँदा चन्द्रबहादुर पहिलो चरणबाटै बाहिरिएका हुन् ।
पौडीमा हिट चरणसम्म
पौडी महिलातर्फ सय मिटर फ्रिस्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै आउट भइन् । मंगलबार टोकियो एक्वाटिक सेन्टरमा भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालिन् ।
३५ खेलाडी सहभागी स्पर्धामा उनी समग्रमा ३०औँ स्थानमा रहिन् । यसअघि सोमबार आर्या ५० मिटर ब्याक स्ट्रोकमा ३३.४० सेकेन्डसहित ३१ खेलाडीमध्ये २७औँ स्थानमा रहेकी थिइन् । डुवाना लामा, जादेन श्रेष्ठ र एर्भिन श्रेष्ठ पनि आ–आफ्ना स्पर्धाबाट बाहिरिएका थिए । अब एसियाड २०२६ मा पौडीतर्फ नेपालको तीन स्पर्धा मात्र बाँकी छन् । अब डुवानाले १०० मिटर ब्रेस्ट्रोक, अभिव प्रधानले ५० मिटर बटरफ्लाई तथा जादेनले ५० मिटर ब्रेस्ट स्ट्रोकमा
प्रतिस्पर्धा गर्नेछन् ।
कराँते कातामा पदकविहीन
कराँते कातामा नेपाल एसियाली खेलकुदमा पदकविहीन भएका छन् । मंगलबार तोयोहासी जिम्नाजियमको काताको कांस्य पदकका लागि भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग ५–० ले पराजित भयो । त्यसअघि क्वार्टरफाइनलमा पनि नेपाल भियतनामसँग ५–० ले नै पराजित भएको थियो ।
सानुमाया थिङ, एलिसा रासकोटी मगर र मेघा लिम्बूले टिम कातामा नेपालको प्रतिनिधित्व गरेका थिए । एकल कातामा सानुमाया कोरियन खेलाडी चोई हेउनसँग ५–० ले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।
टेबलटेनिसमा मिश्रित नतिजा
टेबलटेनिसमा नेपालले मिश्रित नतिजा निकालेको छ । मिक्स्ड डबल्समा इभाना थापा र रुबिन महर्जनको जोडीले पाकिस्तानी टोलीलाई हराए । मंगलबार स्काई हल टोयोटामा इभाना र रुबिनले मुहम्मद खान र कल्सुम खानको चुनौतीलाई ३–० ले पन्छाएका हुन् । खेल ११–६, ११–८ र ४–११ ले नेपालको पक्षमा गएको हो । जितसँगै टोलीले अन्तिम ३२ को यात्रा तय गरेका छन् । संयोग कपाली र नविता श्रेष्ठको जोडी पहिलो चरणमा रोकियो । मंगोलिया जोडी अन्खबायर बिल्गुन र सेर ओड अन्खमाको जोडी ३–१ ले विजयी भए । अब इभाना र रुबिनले बुधबार हङकङको टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
भलिबलमा नेपाल १२औँ स्थानमा
नेपाली महिला भलिबल टोलीले २०औँ एसियाडमा १२औँ स्थानका साथ यात्रा सकाएको छ । प्रतियोगिताको मंगलबार ११औँ स्थानका लागि भएको प्लेअफमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा हार्यो । ओकजाकी चुवो सोगो पार्क जिम्नेसियममा मंगोलियाले नेपाललाई २३–२५, १७–२५ र १३–२५ ले हरायो । समूहको पुछारमा रहेको नेपालले आइतबार ९ देखि १४औँ स्थानको प्ले–अफमा कीर्गिस्तानलाई ३–० को सेटमा हराएको थियो ।
जितले नेपाललाई ९ देखि १२औँ स्थानको प्ले–अफमा पुर्याएको थियो । यसअघि सोमबार नेपालले ९ देखि १२औँ स्थानको प्ले–अफमा हङकङसँग सोझो सेटको हार व्यहोरेको थियो । नेपाल समूह चरणको पोल १ मा नेपाल जापान र इन्डोनेसियासँग पराजित भएको थियो ।
उसुमा दीपक ११औँ स्थानमा
उसुमा पनि मंगलबार नेपालले गतिलो नतिजा निकाल्न सकेन । दीपक हमाल पनि पदकविहीन भएका छन् । ३३ वर्षीय खेलाडीले नान्क्वानमा प्रतिस्पर्धा गर्दा १८ खेलाडीबाट ११औँ स्थान हासिल गरेका छन् । यो विधामा चीनका ली जिआनमिनले स्वर्ण पदक जितेका छन् ।