कर्णाली राजमार्गमा स्याउ बोकेको ट्रक दुर्घटना

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटना भएको छ। आइतबार दिउँसो ३ बजेतिर जुम्लाको तातोपानी गाउँपालिका– १, राँकाबाट ४५० स्याउका कार्टुन बोकेर गएको बा.प्र.०१००६ ख ८७३० नम्बरको ट्रक कालिकोटको तिला गुफा नगरपालिका– १ भिग्मस्थित कर्णाली राजमार्गमा दुर्घटना भएको हो।

अनियन्त्रित भई ट्रक भिग्मस्थित तिला नदीछेउमा पल्टिँदा लाखौँको स्याउ नदीमा बगेका छन्। नदीकिनारमा खसेका सबै स्याउ काम नलाग्ने भएको तातोपानी– १ का वडाध्यक्ष कर्णबहादुर कठायतले बताए।

राँका गाउँभरिका किसानबाट संकलन गरी बिक्रीका लागि ल्याइएको स्याउ तिला नदीछेउमा ट्रक दुर्घटना हुँदा लाखौँको क्षति भएको छ। ‘ट्रकमा ४५० स्याउका कार्टुन लोड गरिएको थियो,’ उनले भने।

४५० कार्टुनमध्ये अधिकांश कार्टुन तिला नदीमा बगिसकेका छन्। मुस्किलले बचेको १० प्रतिशत स्याउ काम लाग्ने अवस्थामा नरहेको वडाध्यक्ष कठायतले बताए। उनका अनुसार झन्डै ८ लाखभन्दा बढीको क्षति भएको छ। 

जुम्लाको स्याउ निर्यातकै सिजनमा कर्णाली राजमार्ग अवरुद्ध हुने, करोडौँको स्याउ बाटोमै कुहिने समस्या झेल्दै आएका कर्णालीका किसान तथा व्यापारीले राज्यबाट उचित राहत तथा सहुलियत नपाएको गुनासो गर्दै आएका छन्।
 

सुझावित समाचार