२०औँ एसियाली खेलकुद : कराँतेका आशा गरिएका खेलाडी नै पदकविहीन

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

जापानको नागोया र आइची सहरमा चलिरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को दोस्रो दिन नेपालले पदकको आशा गरेका अधिकांश खेलाडी पराजित भएका छन् । कराँते र उसुका खेलाडीको विगतको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले स्वर्णसहित दोहोरो अंकमा जापानमा पदक जित्ने घोषणा गरेको थियो । 

तर, आइतबार नागोयाको तोयोहासी जिम्नाजियममा नेपाली टोलीको निराशाजनक प्रदर्शन हुँदा सरकारको तीन वर्षअघिदेखिको मिसन पूरा हुन नसक्ने अवस्थामा पुगेको छ । कराँतेबाट निश्चित पदकको आशा लिएर जिम्न्याजिम पुगेका नेपाल ओलम्पिक कमिटी र राखेपका पदाधिकारी निराश भएर फर्किए । कराँतेको प्रतिस्पर्धामा खेलाडीमा मनोबल नै नभएजस्तो देखिएको थियो । राज्यदेखि खेलकुद क्षेत्रका सरोकारवालाले खेलाडीमाथि पदकको दबाब दिँदा उनीहरूले झेल्न नसकेको देखियो । 

यसपटक कराँतेकी एरिका गुरुङबाट स्वर्ण पदकको आशा थियो । पछिल्लो संस्करणमा रजत जितेकी एरिकाले तीन वर्षमा प्रिमियर लिगदेखि विश्व कराँते महासंघले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । यसैका आधारमा उनीमाथि स्वर्णको दबाब थियो । तर, उनी पदकविहीन फर्किएकी छिन् । एरिकाजस्तै ओलम्पिक स्करसिपमा प्रशिक्षणमा रहेकी कराँतेकै सानुमाया थिङ तथा उसुका विजय सिँजाली, कराँतेकै मीनबहादुर तामाङ र राकेश मानन्धर पनि बाहिरिए । 

 एरिका गुरुङ 
एरिका गुरुङले ६८ केजीमाथि प्रतिस्पर्धा गरेकी थिइन् । २२ वर्षीया एरिका एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारी र प्याराग्लाइडिङपछि रजत जित्ने तेस्रो खेलाडी हुन् । ६८ केजीमाथिको सेमिफाइनलमा एरिका आफ्ना सदाबहार प्रतिद्वन्द्वी कजकस्तानकी बेरुल्टसेभा सोफियासँग २–१ ले पराजित भइन् । एरिकाले युकोबाट १ अंक हासिल गर्दा सोफियाले २ अंक बटुलिन् । यस खेलमा सोफियासँगको लगातार हारको बदला लिने अवसर एरिकालाई थियो ।

अग्रता रक्षा गर्न नसक्दा एरिका लगातार सोफियाबाट चौथोपटक पराजित भइन् । तीन वर्षअघिको एसियाडअन्तर्गत फाइनल र दुईपटक प्रिमियर लिगको फाइनलमै सोफियाले एरिकालाई हराइन् । ६८ केजीमाथि २५ वर्षकी सोफियाले आफ्नो प्रभाव जमाउँदै स्वर्ण जितिन् । उनले फाइनलमा थाइल्यान्डकी बुट्सुवन मानिबनलाई ८–० ले हराइन् । कांस्य पदक भिडन्तमा पनि एरिका विपक्षीबाट ८–७ ले पराजित भइन् । यसअघि जापानमा भएको पहिलो प्रतिस्पर्धामा जोर्डनकी यारा नासेरलाई ७–१ पराजित गर्दै एरिका सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । एरिकाले युकोमा १, वाजारियोमा ३ अंक जोडेकी थिइन् । 

 सानुमाया थिङ 
कराँते काता खेलाडी सानुमाया थिङ पनि लामो समयदेखि प्रशिक्षणमा रहेकी खेलाडी हुन् । सानुमायाले ओलम्पिक छात्रवृत्ति पाएकी छिन् । तर, उनको प्रदर्शन स्वाभाविक रहन सकेन । पहिलो खेलमै पराजित भएसँगै उनको पदक सम्भावना नै सकियो । नागोयाको गिफु प्रिफेक्चरस्थित तोयोहासी जिम्नेसियममा अन्तिम १६ को प्रतिस्पर्धामा उनी दक्षिण कोरियाकी चो हाउनसँग ५–० को एकपक्षीय अंकले पराजित भइन् । अब सानुमायासँगै अलिशा रासकोटी मगर र मेघा लिम्बूले काता टिमतर्फ चुनौती दिनेछन् ।

 मीनबहादुर तामाङ
कराँतेको कुमुतेमा नेपालबाट २३ वर्षीय मीनबहादुर तामाङले पहिलो चरणमै पुरुष ६० केजीमुनिमा साउदी अरेबियाका अल्बासेर साउद अब्दुलाजिजसँग प्रतिस्पर्धा गरेका थिए । मीनबहादुरले खेल २–० को स्कोरमा जिते । तर, उनी सेमिफाइनलभन्दा अगाडि जान सकेनन् । उनी सेमिफाइनलमा कुवेतका साहब अब्दुल्लाहसँग १०–१ को लज्जास्पद हार व्यहोर्न पुगे । कांस्य पदकको प्रतिस्पर्धामा उनले प्रयास गरेका थिए । तर, साउदी अरेबियाकै अलबासेर साउदबाट २–० ले पराजित भए । यसअघि प्रिक्वार्टरफाइनलमा उनले हङकङका हिम चाउलाई ४–१ ले हराएका थिए । उनले क्वार्टरफाइनलमा ताजकिस्तानका मिर्जोजोदा मुहम्मदलाई २–० ले हराएपछि कांस्यको आशा दिलाए । 

 राकेश मानन्धर
कराँतेका राकेशले पनि पदकको सम्भावना बढाएका थिए । ५५ केजीमुनिको सेमिफाइनलमा पराजित भए पनि १८ वर्षीय राशेकसमक्ष कांस्य जित्ने अवसर थियो । कांस्यको प्रतिस्पर्धामा राकेश मलेसियाका कालिआना सुनद्रामसँग ९–१ ले पराजित भए । यसअघि उनी फाइनल प्रवेशको भिडन्तमा उज्वेकिस्तानका खालिमोभ खुमोयुन्मिजोबाट ७–० ले हारेका थिए । अनुभवी खालिमोभले युकीमा २ तथा वाजी र इप्पोनमा समान १ अंक जोडेका थिए । तर, मीनले अंक जोड्न सकेनन् । यसअघि राकेशले क्वार्टरफाइनलमा थाइल्यान्डका इन्ग्लोय नाथक्रितलाई ९–० ले हराए । बलियो चुनौती दिएका राकेशले युकोमा २, वाजा अरीमा २ तथा इप्पोनमा १ अंक हासिल गरेका हुन् ।

 विजय सिँजाली
पछिल्लोपटक विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा गर्विलो प्रदर्शनपछि उसुका विजयबाट पनि पदकको आशा थियो । विजयले सन् २०१९ मा १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण र थाउलो विश्वकपमा ऐतिहासिक कांस्य पदक जितेका थिए । आइचीको मार्सल आर्ट हलमा चाङ्सेन प्रतिस्पर्धामा विजयसहित २१ खेलाडी सहभागी थिए । विजय आफ्नो समूहमा १९औँ स्थानमा सीमित भए । उनले कुल ९.१४६ अंक हात पारे । उनले क्वालिटी अफ मुभमेन्टतर्फ ४.७०, २.६४६ र १.८० अंक जोडे । यस विधामा मकाउका क्वोङ सिएचले ९.७२३ अंकसहित स्वर्ण पदक जिते । 

कसैलाई पनि दोष दिन सकिँदैन 
युवराज लामा, टिम लिडर, कराँते

आज खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । यसमा कसैलाई दोष दिन मिल्दैन । हामीले जापानमा स्वर्ण पदकको लक्ष्य पूरा गर्न सकेनौँ । आइतबार तीनवटा कांस्य पदक जित्ने अवसर थियो । त्यो पूरा भएन । यसले एउटा महत्वपूर्ण पाठ सिकाएको छ । बाँकी तीनवटा स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्ने विश्वास छ । 

सबैले राम्रो खेले, तर भाग्यको साथ भएन
कुशल श्रेष्ठ, प्रशिक्षक, कराँते

कराँतेको नतिजा निराशाजनक भए पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । कहिलेकाहीँ खेलमा भाग्यले पनि काम गर्छ जस्तो लाग्छ । खेलाडीले खेल जित्न ९९ प्रतिशत मिहिनेत गर्छन् भने एक प्रतिशत भाग्यको पनि साथ चाहिन्छ । आजको प्रदर्शन यस्तै भयो । सोफिया र एरिका एकै समूहका उत्कृष्ट खेलाडी हुन् । सोफिया पछाडि रहँदा विपक्षीलाई आक्रामक बनाएर अंक बटुल्ने खेलाडीमा पर्छिन् । 

एसियाड संक्षेप
भलिबलमा नेपालले कीर्गिस्तानलाई हरायो
एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले पहिलो जित दर्ता गरेको छ । जापानको आइचीस्थित ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्न्यासियममा आइतबार नेपालले वरीयता निर्धारणका लागि खेलिएको प्लेअफमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले कीर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले पाखा लगाएको हो । अब नेपालले नवौँ स्थानका लागि कतार र फिलिपिन्सबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा जापान र इन्डोनेसियासँग सोझो ३–० सेटमा पराजित भएपछि नेपालले क्वार्टरफाइनलमा स्थान बनाउन सकेन । त्यसपछि वरीयताका लागि प्ले अफ खेलेको हो । 

उसुकी सविता राई दसौँ स्थानमा
२०औँ एसियार्डअन्तर्गत उसुको महिला ताइजिच्वान तथा ताइजिजियानमा नेपालकी सविता राई दसौँ स्थानमा रहिन् । आइची प्रिफेक्चरल मार्सल आर्टस् हलमा भएको प्रतिस्पर्धामा सविताले ९.१८३ अंक प्राप्त गरिन् । सविता सहभागी इभेन्टमा १२ खेलाडी थिए । चीनकी छिन टोङले ९.७८३ अंक प्राप्त गर्दै स्वर्ण पदक जितिन् । ९.७४० अंकका साथ जापानकी सिहो साइतोले रजत पदक हात पारिन् । ९.७४० अंक प्राप्त गरेकी सिंगापुरकी जियान झी निङ लाउ र ब्रुनाईकी बास्मा लाच्करले ९.७२० अंक बटुल्दै कांस्य जिते । उसुका विभिन्न विधामा नेपालबाट १० खेलाडी सहभागी भएका छन् । 

टेबलटेनिसमा पहिलो चरणमै सीमित 
टेबलटेनिसको टिम इभेन्टमा नेपाल पहिलो चरणबाटै बाहिरिएको छ । नागोयास्थित स्काई हल टोयोटामा सम्पन्न खेलमा नेपाल पुरुषतर्फ चाइनिज ताइपेईसँग तथा महिलातर्फ चीनसँग ३–० ले पराजित भयो । पुरुष टिम इभेन्टमा रुविन महर्जन, संयोग कपाली र गणञ्जय दाहालले प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा रुविनले लिन युन जुसँग प्रतिस्पर्धा गरेका थिए ।

जसमा उनी ५–११, १–११ र ६–११ पराजित भए । दोस्रो खेलमा हुङ जिन काईले संयोगलाई ११–५, ११–५ र ११–४ ले हराए । फेङ यी सीनसँगको तेस्रो खेल गणञ्जयले ३–११, २–११, ११–० ले गुमाए । महिलातर्फ इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेलले नेपालको प्रतिनिधित्व गरेका थिए । इभानले चेन यीसँगको पहिलो खेल १–११, ६–११ र ५–११ ले गुमाइन् । दोस्रो खेलमा अनुभवी नविता क्वाई मानसँग ४–११, ३–११, ४–११ ले पछि परिन् । तेस्रो खेलमा योङगी फान सुहानसँग १–११, ५–११, १–११ को हारको सामना गरिन् ।

भारत र श्रीलंका फाइनलमा
एसियाड महिला क्रिकेटको स्वर्ण पदकको भिडन्त भारत र श्रीलंकाबिच हुने भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई आठ विकेटले हराउँदै फाइनल पक्का गरेको थियो । पाकिस्तानले पहिलो ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १७७ रन बनाएको थियो । श्रीलंकाले १७.५ ओभरमा दुई विकेटको क्षतिमा १७८ रन बनायो । अर्को सेमिफाइनलमा भारतले बंगलादेशमाथि ११४ रनको जित निकाल्यो । भारतले पहिलो ब्याटिङ गरी चार विकेट गुमाएर १९४ रन बनाएको थियो । बंगलादेश १५.४ ओभरमा ८१ रनमा समेटियो । 

सुझावित समाचार