दसैँअघि सबै सडक सञ्चालनमा ल्याउन जिल्ला विपत् व्यवस्थापन समितिको आग्रह

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

जिल्ला विपत् व्यवस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै ग्रामीण सडक मर्मत गरी यातायात सञ्चालनयोग्य बनाउन स्थानीय तह र सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ।

नजिकिँदै गरेको दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आवतजावत गर्ने स्थानीयवासीलाई सहजता प्रदान गर्न जिल्लाका अवरुद्ध सडक तत्काल मर्मत गरी यातायात सञ्चालनयोग्य बनाउने निर्णय समितिले गरेको हो। त्यसका लागि सम्बन्धित स्थानीय तह र कार्यालयले आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ।

मध्यपहाडी लोकमार्गबाहेक जिल्लाका अधिकांश ग्रामीण सडक कच्ची अवस्थामा छन्। वर्षायाम सुरु भएसँगै ती सडक अवरुद्ध हुने गरेका छन्। १० स्थानीय तह रहेको खोटाङका अधिकांश वडा ग्रामीण सडक सञ्जालसँग जोडिए पनि सडक कालोपत्र नभएका कारण वर्षायाममा यातायात सञ्चालनमा समस्या हुने गरेको छ। सामान्य अवस्थामा समेत जिल्लाका ग्रामीण सडकमा वर्षमा करिब ६ महिना मात्रै यातायातका साधन सञ्चालन हुने गरेका छन्।

जिल्लामा निर्माण भएका ग्रामीण सडक तत्काल मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउन सके जिल्लावासीलाई ठुलो राहत पुग्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक काम अघि बढाउन आग्रह गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले बताए।

‘आफ्नो क्षेत्रको सडक निर्माण, मर्मत तथा सञ्चालनमा ल्याउने जिम्मेवारी सम्बन्धित पालिकाको हो। यसमा हामी पनि समन्वय गर्ने काम गर्छौँ,’ उनले भने, ‘चाडपर्व मनाउन आफ्नो गाउँ आएका कुनै पनि व्यक्तिले दुःख पाउनु नपरोस्। अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रशासनको तर्फबाट सक्दो सहयोग उपलब्ध हुनेछ।’

त्यसैगरी, दसैँ, तिहार तथा छठपर्वको समयमा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी–जयरामघाट सडकखण्डलाई २४सै घण्टा सञ्चालनमा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको प्रजिअ गुरुङले जानकारी दिए। खोटाङसहित छिमेकी भोजपुरका स्थानीयवासीले समेत प्रयोग गर्ने उक्त सडक मर्मत तथा सम्भारका लागि मध्यपहाडी लोकमार्ग आयोजना, सडक डिभिजन कार्यालय हर्कपुर, गाईघाट–दिक्तेल सडक आयोजना र सम्बन्धित पालिकाले आवश्यक समन्वय तथा सामग्री व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयको सभाहलमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लाका विभिन्न पालिकामा निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणका लागि प्राप्त दोस्रो किस्ताबापतको रकम अनुमोदन गर्ने निर्णयसमेत गरेको छ। निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणका लागि दोस्रो किस्ताबापत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १२ का सुविन श्रेष्ठ र कुमार श्रेष्ठलाई कुल तीन लाख ४० हजार रुपैयाँ वितरण भएकाले उक्त रकम अनुमोदन गरिएको प्रजिअ गुरुङले जानकारी दिए।

यस्तै, गत साउन १५ र २५ गते तथा भदौ १ गते आएको अविरल वर्षाका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मा, वडा नं. १० पाथेका र वडा नं. ११ खार्मीमा सडक तथा बाटोमा लगाइएको तटबन्धमा क्षति पुगेको थियो। उक्त क्षतिको मर्मतका लागि बजेट व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश, विराटनगरमा गरिएको सिफारिसलाई पनि बैठकले अनुमोदन गरेको छ।

जिल्लामा हुन सक्ने विपतका घटनामा प्रभावकारी प्रतिकार्यका लागि जिल्ला विपत् व्यवस्थापन समिति तथा सम्बन्धित पक्षको सहभागितामा व्यावहारिक अभ्यास सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

सुझावित समाचार