मस्जिदमा कार बम हमला, कम्तीमा १५ जनाको मृत्यु

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

उत्तर–पश्चिमी पाकिस्तानको एउटा प्रहरीपरिसरभित्र रहेको मस्जिदमा भएको कार–बम आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका छन् । पाकिस्तानको समाचार संस्था ‘एपिपी’का अनुसार खैबर पख्तुनख्वा प्रान्तको कोहाट सहरमा भएको आत्मघाती आक्रमणमा मारिनेमा १५ जना प्रहरी अधिकारी र एक चार वर्षीय बालक पनि छन् । आक्रमणकारीले प्रहरी परिसरमा गोलीसमेत चलाएका थिए । आक्रमणको एक भिडियोमा घटनास्थल भग्नावशेषले ढाकिएको र मानिसहरू घाइतेहरूको उद्धारमा जुटेको देखिन्छ ।

खैबर पख्तुनख्वा प्रहरीले ‘पाकिस्तानी तालिबान’ भनेर चिनिने ‘तेहरिक–ए–तालिबान पाकिस्तान’को एउटा समूहले उक्त आक्रमण गरेको हुन सक्ने बताएको छ । प्रहरीका अनुसार स्थानीय समयअनुसार दिउँसो करिब १:१५ बजे विस्फोटक पदार्थले भरिएको एउटा कार मस्जिदको प्रवेशद्वारमा ठोक्किएको थियो । सो समयमा विशेष प्रार्थना चलिरहेको थियो । खैबर पख्तुनख्वा प्रहरीका प्रवक्ताका अनुसार विस्फोट र त्यसपछिको गोली हानाहानमा परी कम्तीमा ६ जना आक्रमणकारी मारिएका छन् ।

‘एक्स’मा गरिएको एक पोस्टमा सुरक्षा बलले ‘फित्ना–अल–खवारिज’ (पाकिस्तानी तालिबानलाई जनाउन अधिकारीले प्रयोग गर्ने नाम) को कुत्सीत योजना विफल पार्न आफूहरू दृढ रहेको बताएको छ । 

सन् २००७ मा इस्लामिक कानुनको कठोर संस्करण लागू गर्ने उद्देश्यले स्थापना गरिएको यो समूह अल–कायदा र अफगान तालिबानसँग आबद्ध छ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले एक विज्ञप्ति जारी गर्दै विस्फोटमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै विदेशी सहयोग प्राप्त अतिवादीको ‘पूर्ण उन्मूलन’ गर्न आह्वान गरेका छन् ।

संयुक्त राष्ट्र संघका एक प्रवक्ताले महासचिव एन्टोनियो गुटेरेसले उक्त बम विस्फोटको निन्दा गरेको र ‘नागरिक तथा धार्मिक स्थललाई लक्षित गरी गरिने आक्रमण अस्वीकार्य’ भएको बताएका छन् । यसअघि फेब्रुअरीमा अधिकारीहरूले इस्लामाबादस्थित सिया मस्जिदमा भएको आत्मघाती बम विस्फोट (जसमा ३० जनाभन्दा बढीको ज्यान गएको थियो) लगायत देशमा भएका शृंखलाबद्ध हमलाका पछाडि पाकिस्तानी तालिबानको हात रहेको आरोप लगाएका थिए । खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले शुक्रबार बताएअनुसार उक्त प्रान्तले ‘आतंकवादविरुद्धको लडाइँमा ठुलो बलिदान’ दिएको छ ।

सुझावित समाचार