घरजग्गा कारोबारमा सुधार, बजार दोब्बरले बढ्यो

सुस्त बनेको रियल इस्टेट बजारमा दोब्बरले सुधार, राजस्व र लाभकरमा उच्च वृद्धि

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

लामो समयदेखि सुस्त रहेको देशको घरजग्गा कारोबारमा गत आर्थिक वर्ष ०८२/८३ मा उल्लेख्य सुधार आएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत आव ०८२/८३ मा घरजग्गाको कुल कारोबार रकम, कित्ताकाट, राजस्व संकलन तथा बैंक कर्जा प्रवाहमा उत्साहजनक वृद्धि भएको हो ।

अघिल्लो वर्ष ०८१/८२ मा १.८४ प्रतिशतले घटेको घरजग्गा कारोबार संख्या गत आर्थिक वर्षमा ४.७४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार वर्षभरिमा कुल सात खर्ब २० अर्ब ८६ करोडबराबरको घरजग्गा खरिद–बिक्री भएको छ । यो अघिल्लो वर्षको तीन खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको तुलनामा झन्डै दोब्बर हो । विशेषगरी वर्षको चौथो त्रैमासमा मात्रै दुई खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमसँगै खरिद–बिक्री भएको कुल क्षेत्रफल पनि १५.४१ प्रतिशतले बढेको छ ।

घरजग्गा खरिद–बिक्रीसँगै राज्यको आम्दानीमा पनि ठुलो सुधार देखिएको छ । समीक्षा अवधिमा घरजग्गा कारोबारबाट उठ्ने कुल राजस्व ४८.२६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २३.४५ प्रतिशतले बढेको थियो । घरजग्गा बिक्री गर्दा बुझाइने पुँजीगत लाभकर संकलन ६३.२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो २९.९८ प्रतिशतले बढेको थियो । यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट आवासीय घरजग्गासहित कुल घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा ६.९३ प्रतिशतले विस्तार भएको छ । अघिल्लो वर्ष ५.८६ प्रतिशतले बढेको थियो ।

प्रादेशिक हिसाबले हेर्दा बागमती प्रदेशमा घरजग्गाको सर्वाधिक कारोबार देखिएको छ । बागमती प्रदेशमा लिखत पारित हुने संख्या, कारोबार भएको क्षेत्रफल र कुल मूल्य सबैभन्दा धेरै दरमा बढेको छ । अर्कोतर्फ मधेश प्रदेशमा भने कारोबार संख्या र क्षेत्रफलमा केही कमी आए पनि कारोबारको कुल मूल्य भने वृद्धि नै भएको छ । बाँकी सबै प्रदेशमा कारोबारमा सुधार आएको छ । देशभरि नै साधारण मानिसले साना टुक्रा अर्थात् २.५ देखि १० आनासम्मका घडेरी धेरै खरिद–बिक्री गरेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा मधेशमा २० आनाभन्दा बढीका प्लट धेरै कारोबार भएका थिए भने अन्य प्रदेशमा २.५ देखि १० आनाकै प्लट किनबेच भएका थिए ।

देशका प्रमुख सहरमा काठमाडौं महानगरपालिका घरजग्गा खरिद–बिक्रीमा सबैभन्दा अगाडि रहेको छ । काठमाडौं महानगरमा कारोबार संख्या १५५ प्रतिशतभन्दा बढीले र कारोबार मूल्य २१७ प्रतिशतभन्दा बढीले बढेको छ । काठमाडौंपछि ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज महानगरमा पनि कारोबार बढेको छ ।

उपमहानगरपालिकाको हकमा धनगढीमा कारोबार संख्या सबैभन्दा धेरै बढेको छ भने हेटौँडा उपमहानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल र मूल्यमा सबैभन्दा उच्च वृद्धिदर देखिएको छ ।

सुझावित समाचार