एसियाली खेलकुदका खेलाडीको आवास : स्पोर्टस् भिलेजमा होइन, कन्टेनर र पानीजहाजमा राख्ने

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

जापानमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगितामा खेलाडीलाई स्पोर्टस् भिलेज उपलब्ध नहुने भएको छ । यसअघिका संस्करणमा आयोजकले सहभागी खेलाडी र अफिसियललाई एकै छानामुनि (स्पोर्टस् भिजेल)मा बस्ने सुविधा मिलाउने गरेको थियो । तर, यसपटक आयोजक जापानले नागोयामा हुने प्रतियोगितामा यस्तो व्यवस्था नहुने प्रस्ट पारिसकेको छ ।

यसपटक आयोजकले खर्च कटौती गर्न खेलाडीका लागि अस्थायी बसोबासको व्यवस्था मिलाएको बताएको छ । त्यसका लागि इटालियन क्रुज जहाज ‘कोस्टा सेरेना’ भाडामा लिएको छ । सहभागीमध्ये चारदेखि पाँच हजार खेलाडीलाई पानीजहाजमा बस्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, दुई हजार खेलाडी तथा अफिसियल ‘सिपिङ कन्टेनर’ शैलीका अस्थायी आवासमा बस्ने जनाइएको छ । अन्य खेलाडीका लागि होटेल व्यवस्था गरिएको छ ।

प्रतियोगिताका अधिकांश खेल नागोयामा हुनेछन् । नागोयाबाहिर टोकियोलगायत सहरमा हुने खेल पौडी, डाइभिङ र घोडचडीलाई भने होटेल व्यवस्था गरिएको छ । सामान्यतथा सेप्टेम्बर र अक्टोबरमा जापानमा आँधीबेहरी आउने मौसम नरहेकाले फनि कन्टेनर तथा त्रुजको बसाइमा कुनै समस्या नआउने आयोजकको दाबी छ ।

प्रतियोगिताको आधिकारिक खेल असोज ३ देखि सुरु हुँदै छ । तर, पाँच दिनअघि नै समूहगतका खेल सुरु भइसकेका छन् । आयोजक समितिका अध्यक्ष हिदेआकी ओमुराले प्रतियोगिता नयाँ स्थानमा हुने भएकाले आवश्यक व्यवस्था मिलाउन बजेट र जनशक्तिको अभाव भएको बताएका छन् ।

‘हामीसँग अहिले न त बजेट छ, न जनशक्ति नै । त्यसैले आवश्यक व्यवस्था मिलाउन निकै गाह्रो भएको छ,’ ओमुराले भने, ‘यदि कोही खेलाडी र अफिसियलहरू आफ्नो खर्चमा आउन चाहन्छन् भने उनीहरूले आफ्नो व्यवस्था आफैँले गर्नुपर्छ ।’

यद्यपि, आयोजक जापान र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले संयुक्त रूपमा आधिकारिक खेलाडीका लागि बसोबासको व्यवस्था मिलाएको बताएका छन् । ओसिएले यसपटक एसियाली खेलकुदमा कुल १७ हजारको सहभागिता रहने अनुमान गरेको छ । सुरुमा १५ हजार भनिए पनि बढेर १७ हजार पुगेको हो । जसमा ११ हजार खेलाडी हुनेछन् । ६ हजारभन्दा बढी अफिसियल सहभागी हुने बताएको छ ।

नेपाली खेलाडी कोही होटेलमा, कोही जहाजमै

  • होटेल : कराँते, स्केट बोर्डिङ, तेक्वान्दो, सफ्ट टेनिस, भलिबल, स्विमिङ, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, ब्रेकिङ, क्रिकेट, साइक्लिङ, गल्फ 
  • पानीजहाज : कबड्डी महिला, स्क्वास, टेबलटेनिस, कुस्ती, उसु, आर्चरी, र्याफ्टिङ एन्ड क्यानोइङ, जुडो

नेपाली खेलाडी केहीलाई होटेलमा व्यवस्था गरिए पनि कोही जहाजमै बस्ने भएका छन् । नेपाली टिमलाई नागोयामा होटेलमा राखिएको कप्तान निरुता ठगुन्नाले जानकारी गराइन् । होटेलमा भने सबै व्यवस्थापन राम्रो भएको उनको भनाइ छ । प्रतियोगिताको उद्घाटनअघि नै नेपाली राष्ट्रिय भलिबल टोलीले बुधबार पहिलो खेल खेल्दै छ । पार्क एरिना कोमाकीमा हुने खेलमा नेपालले आयोजक जापानसँग खेल्नेछ । त्यसका लागि नेपाली टिम तीन दिनअघि नै नागोया पुगेको हो । यस्तै, कराँते टिम टोकियोबाट बुधबार मात्रै नागोया जाँदै छ । उनीहरूलाई सुरुमा होटेलमा बस्ने भनिए पनि अहिले सार्ने तयारी भइरहेको छ । ‘हामी बुधबार नागोया जाँदै छौँ । बस्ने ठाउँ त्यहीँ गएपछि टुंगो लाग्छ,’ एक सदस्यले भने । नेपालबाट २१ खेलका खेलाडी तथा अफिसियलसहित २११ जना सहभागी छन् । 

दक्षिण कोरियाले भन्यो, ‘सबैभन्दा खराब व्यवस्थापन’
जापानले कन्टेनरको व्यवस्था गरेपछि अहिले ठुला राष्ट्रहरू चीन, दक्षिण कोरिया, फिलिपिन्स भारतजस्ता देशका खेलाडीले असन्तुष्टि जनाउन थालेका छन् । एसियाली खेलकुदमा उद्घाटन सेप्टेम्बर १९ बाट भए पनि पाँच दिन अघिबाटै बास्केटबलका खेल सुरु भए । यस्तै, फुटबल पनि सुरु भएको छ ।

बास्केटबल खेल्न जापान पुगेका दक्षिण कोरियाली खेलाडी र पदाधिकारीले ‘सबैभन्दा खराब आवास व्यवस्थापन’ भएको आरोप लगाएका छन् । कोरिया बास्केटबलका उपाध्यक्ष जुङ जे योङले भनेका छन्, ‘मेरो अनुभवमा यो अहिलेसम्मकै सबैभन्दा खराब अवस्था हो । ढुवानी कन्टेनर झुपडी शैलीका छन् । खेलाडीलाई बस्न निकै कष्टकर भएको छ । दुई मिटरभन्दा अग्ला खेलाडीलाई ओछ्यान निकै सानो भएको छ । खुट्टा तन्काउनसमेत गाह्रो छ ।’ बास्केटबल खेलाडी ब्योन जुन ह्योङले त छानाबाट पानी चुइरहेको र भुइँ भिजेको अवस्थाको भिडियो नै खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे । त्यसपछि उनले लेखेका छन्, ‘कृपया हामीलाई सहयोग गर्नुहोस् ।’

फिलिपिन्सका अफिसियलले पनि कन्टेनरको बसाइ दुःखद भएपछि अपार्टमेन्ट लिएको बताएका छन् । उनीहरूले एउटै कोठामा तीनजनासम्म बस्नुपर्ने र एउटै शौचालय प्रयोग गर्दा निकै कष्टकर रहेको बताएका छन् । कुनै–कुनै स्थानमा भने पाँच वटासम्म कन्टेनर रहेको र शौचालय भने एउटै भएको पनि उनीहरूको गुनासो छ । कोरियाली एक पदाधिकारी भन्छन्, ‘आवासको गम्भीर समस्या दक्षिण कोरियाली खेलाडी र पदाधिकारीलाई मात्रै होइन, नागोया र आइची आउने सबैलाई हुनेछ ।’

भारतले भने आफ्ना क्रिकेट खेलाडीलाई कन्टेनरमा राख्न नसक्ने भन्दै विरोध गरेपछि अहिले होटेलको व्यवस्था गरिएको छ । भारतले क्रिकेट मैदानको विषयमा पनि असन्तुष्टि जनाएको छ । विशेषगरी भारतले ६५ मिटरको बाउन्ड्री, पिचको विषयमा प्रश्न गरेको हो ।

भारतले आफ्नो तयारी नै कन्टेनरमा गर्दै
आफ्ना खेलाडीलाई जापानमा कन्टेनर र क्रुजको बसाइ गाह्रो हुने तथा बिरामीसमेत हुन सक्ने आकलन गर्दै भारतले कन्टेनरमै तयारी सुरु गर्यो । भारतले आफ्नो खेलाडीलाई त्यस्ता संरचनामा अभ्यस्त बनाउन नमुना कन्टेनर नै बनाएर पटियालामा तयारी सुरु गरेको थियो ।

भारतले पटियालामै बनाएको कन्टेनरमा ६ फिटभन्दा थोरै लम्बाइ भएको ओछ्यान, चारैतर्फ साँघुरिएको भित्ता, सामान राख्न सीमित ठाउँ र हिँड्ने सानो स्थान मात्रै छ । स्पोर्टस् अथोरिटी अफ इन्डिया (एसएआई)ले पटियाला र बेंग्लुरूमा कन्टेनर तयार गरेको हो । एसएआईका निर्देशक विनीत कुमारले भने, ‘दुई वर्षअघि नै खेलाडीका लागि भिलेज नहुने पक्का भएको थियो । त्यसैले आफ्ना खेलाडीलाई मानसिक र शारीरिक रूपमा तयार राख्न कन्टेनरमै अभ्यस्त बनाइरहेका छौँ ।’

भारतले यसपटक पदक संख्या बढाउने योजनासहित ७५८ खेलाडी तथा अफिसियललाई जापान पठाउँदै छ । जसमा ५०३ खेलाडी छन् । भारतले ४३ मध्ये ३६ खेल खेल्नेछ । भारतले पछिल्लोपटक चीनमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक प्रदर्शन गर्दै एक सय पदक पार गरेको थियो । 

सुझावित समाचार