भारतले दैनिक १८ घण्टा ६५४ मेगावाट बिजुली दिने

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक १८ घण्टा विद्युत् दिने निर्णय गरेको छ । भारतको विद्युत् मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर ३१ डिसेम्बर अर्थात् १६ पुसम्म दैनिक १८ घण्टा ६ सय ५४ मेगावाट विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो ।

हरेक दिन मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म नेपाललाई विद्युत् उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्युरो (पिआइबी)ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार मुजफ्फरपुर–ढल्केबर चार सय केभी डबल सर्किट प्रसारणलाइनमार्फत ६ सय मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर एक सय ३२ केभी सिंगल सर्किट प्रसारणलाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराइनेछ । जनवरी ०२७ पछिका लागि भने आगामी डिसेम्बरमा पुनरवलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । अहिलेको स्वीकृतिअनुसार भारतले साँझ ६ देखि राति १२ बजेसम्म अर्थात् पिक आवरमा भने विद्युत् दिनेछैन । भारतले यसअघि पनि पिक आवरमा नेपाललाई विद्युत् दिने गरेको थिएन ।

अहिले नेपाल विद्युत् प्राधिकरणले भारतमा दैनिक औसत आठ सय मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । हिउँद लागेपछि भने नेपालमा विद्युत् उत्पादन कम हुँदै जान्छ र सामान्यत मंसिर–पुसदेखि विद्युत् आयात गर्नुपर्छ । तर, यसपालि भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चार सय ३१ मेगावाटको १२ परियोजना क्षतिग्रस्त बनाएका कारण उत्पादन नै बन्द छ । त्यो अवस्थामा यसपालि छिट्टै विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्ने विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।

बंगलादेश निर्यात अनुमतिमा ढिलाइ 
१० भदौको रसुवा बाढीले बंगलादेश निर्यात गरिने ४० मेगावाट विद्युत्को स्रोत आयोजना बन्द गराएपछि त्यसतर्फको विद्युत् निर्यात ठप्प छ । त्यसपछि प्राधिकरणले नयाँ स्रोत आयोजना देखाएर अनुमति मागे पनि भारतले स्वीकृति दिएको छैन ।

प्राधिकरणले भारतीय प्रसारणलाइन हुँदै १ असारदेखि ३० कात्तिकसम्म बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने गर्छ । बंगलादेशमा विद्युत् निर्यात गर्न परियोजना नै तोकेर भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट स्वीकृति लिनुपर्छ । त्यसमा २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रबाट १८.६० मेगावाट र २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रबाट २१.४० मेगावाट विद्युत्लाई स्रोत देखाएर भारतबाट अनुमति लिइएको थियो । तर, १० भदौको रसुवा बाढीले ती दुवै परियोजना बन्द गराएको छ । बाढीले बन्द गराएका ४३१.१ मेगावाटका १२ आयोजनामा यी दुई पनि हुन् ।

त्यसपछि २५ मेगावाटको काबेली बी–१ र २१.३ मेगावाटको ठुलो खोला जलविद्युत् आयोजनाको विद्युत् बंगलादेशमा निर्यात गर्नका लागि भारतसँग सहमति मागिएको थियो । बाढी आएलगत्तै भारतमा प्रस्ताव पठाए पनि अझै अनुमति प्राप्त नभएको प्राधिकरणका एक अधिकारीले बताए । स्रोत देखाइएको आयोजना नै बन्द भएपछि भारतीय ‘प्रसारण प्रणालीको सफ्टवेयर’ स्वीकार गर्दैन । त्यसले गर्दा विद्युत् निर्यात अवरुद्ध भएको छ । त्यसले गर्दा बंगलादेशबाट हुने सम्भावित आम्दानी पनि गुमेको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकाल भन्छन्–
यसपालि अलि छिट्टै भारतबाट सहमति आएको हो । पहिला अक्टोबर–नोभेम्बरमा यस्तो अनुमति आउँथ्यो । सायद, यसपालि बाढीले गर्दा पनि होला । तर, यसको म्याद डिसेम्बरसम्म मात्रै हो । तर, अहिले हामी विद्युत् आयात गर्नेभन्दा निर्यात नै गर्ने अवस्थामा छौँ । सायद, नोभेम्बर, डिसेम्बरसम्मै निर्यात गर्न सकिन्छ होला । त्यो अवस्थामा अहिले आयात गर्न पाउँछौँ भनेर कुनै फाइदा हुँदैन । अहिले विद्युत् नै भए पनि पावर प्लान्ट बन्द हुने, प्रसारणलाइन अवरुद्ध हुनेजस्ता कुनै आकस्मिक तथा आपत्कालीन अवस्थाका लागि भने यो सहज हुन्छ । सिस्टमलाई रिलायाबल बनाउँछ । बंगलादेशतर्फ विद्युत् निर्यात गर्ने अनुमतिका लागि पनि प्रयास तथा पहल भइरहेको छ । भारतबाट छिट्टै सहमति आउँछ भन्ने आशा छ । 

See More On

सुझावित समाचार