महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्द्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सुरु भएको छ । नेपाल महिला चेम्बरको आयोजनामा शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालनमा आएको हो ।
नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा सुरु भएको चेम्बर बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङलगायतका स्टल रहेका छन् । चेम्बर बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुका साथै आयात–निर्यातसँग सम्बन्धित सामग्रीको बिक्रीका लागि राखिएको छ ।
मेला उद्घाटन सत्रमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउन चेम्बर बजारले सहयोग गर्ने बताइन् । ‘महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउने हाम्रो प्रयास हो,’ उनले भनिन्, ‘उत्पादनसँगै व्यवसाय विस्तारका लागि पनि सहयोग पुग्नेछ ।’
महिला उद्यमीले उत्पादन गरेका वस्तुले पर्याप्त बजार नपाउँदा व्यवसाय विस्तारमा समस्या हुने गरेको अवस्थामा उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा चेम्बर बजारलाई अघि बढाउन खोजिएको श्रेष्ठले बताइन् । उनले बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था गरिएको पनि जानकारी दिइन् ।
त्यसैगरी, चेम्बरका पूर्वाधार तथा भूमि सुधार समिति सभापति रोशन भयोद्योले यस्ता मेलालाई विस्तार गर्न आवश्यक रहेको बताउँदै महिला उद्यमीका उत्पादनको प्रवर्द्धनसँगै सर्वसाधारण उपभोक्ताले स्थानीय तथा स्वदेशी उत्पादन सहज रूपमा खरिद गर्न पाउने अवसर सिर्जना हुने उल्लेख गरे ।
नेपाल महिला चेम्बरकी सचिव इरा प्रसाईंले चेम्बर बजारलाई व्यापारिक कारोबारमा मात्र सीमित नराखी महिला उद्यमीको आर्थिक सशक्तीकरण, सिप विकास र बजार पहुँच विस्तारको अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको बताइन् । ‘चेम्बर बजारलाई केवल व्यापारिक मेला नभई महिला उद्यमीको आर्थिक सशक्तीकरण, सिप विकास र बजार पहुँच विस्तार गर्ने अभियानका रूपमा अघि बढाउने उद्देश्य हो,’ उनले भनिन्, ‘महिलालाई आफ्ना उत्पादनको बजार विस्तार गर्ने अवसर दिनुका साथै नयाँ उद्यम सुरु गर्न चाहने महिलालाई पनि व्यवसायमा आकर्षित गर्ने लक्ष्य छ ।’
मेलाकी संयोजक अनिता अमात्य श्रेष्ठले बजारमा उत्पादनको बिक्री तथा प्रवर्द्धनसँगै उद्यमशीलता विकाससम्बन्धी गतिविधिसमेत सञ्चालन गरिने बताइन् । त्यस्तै, नेपाल महिला चेम्बरकी सल्लाहकार नीलम ताम्राकारले यस मेलाले महिला उद्याशीलता प्रवर्द्धनमा टेवा पुने विश्वास व्यक्त गरिन् ।
यस मेलाको अवसरमा उद्यम गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक महिलाका लागि सरकारी प्रक्रिया, व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । यसैगरी, सिप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षणजस्ता गतिविधिसमेत चेम्बर बजारसँगै सञ्चालन गरिनेछन् । जमलबाट सुरु भएको चेम्बर बजारलाई आगामी दिनमा काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य प्रमुख सहर तथा विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना रहेको नेपाल महिला चेम्बरले जनाएको छ ।