चुँडिएको दोधारा झोलुंगे पुल अध्ययन गर्दै प्राविधिक टोली

नदीको बहाब पिलरमै भार पर्ने गरी बगेको र पिलरको जगभन्दा मुनिबाट कटानी हुँदा पुल भत्किएको आशंका

शनिबार, १७ असोज, २०८३
प्रिन्ट संस्करण

१४ असोज बुधबार एकाबिहानै चुँडिएर दोधाराको झोलुंगे पुल क्षेत्रमा प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको छ । शुक्रबार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको हो ।

स्थानीय पूर्वाधार विकास विभाग उपमहानिर्देशक तथा इन्जिनियर कमलकुमार अधिकारी र वरिष्ठ डिभिजनल इन्जिनियर डा. हुमाकान्त मिश्रसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुलको स्थलगत अनुगमन गर्दै बाढीबाट भएको क्षति, पुलको वर्तमान अवस्था तथा तत्काल गर्नुपर्ने मर्मत र पुनर्निर्माणका सम्भावनाबारे अध्ययन गरेको छ । अढाई दशकअघि निर्माण भएको उक्त पुलको बिचभाग अनौठो तरिकाले चुँडिएपछि आउजाउ नै बन्द भएको छ । 

०५८ सालमा निर्माण सुरु भएर ०६१ मा सम्पन्न भएको एक हजार चार सय ५३ मिटर लम्बाइको उक्त झोलुंगे पुल झन्डै १० करोड लागतमा निर्माण भएको एसियाकै दोस्रो लामो पुलका रूपमा परिचित थियो । महाकाली नदीपारिको नेपाल भनेर चिनिने दोधारा चाँदनीलाई जिल्ला मुकाम महेन्द्रनगरदेखि देशकै भूगोलसँग प्रत्यक्ष जोड्न पुल निर्माण गरिएको थियो ।

पुलवारि भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामचन्द्र बोहरा (झक्कास)ले दोधारा चाँदनीका स्थानीयलाई छोटो दूरीमा रहेको पुल चुँडिएसँगै घुमाउरो भएर जानुपर्ने बाध्यता भएको बताए । भारतलगायतका तेस्रो मुलुकका पर्यटकसमेत दैनिकजसो शुक्लाफाँटासँगै पुल अवलोकनका लागि आउने गरेको उनले बताए । ‘दैनिक पुल हेर्नकै लागि सयौँ आन्तरिक तथा बाह्य पर्यटन आउने गरेका थिए,’ उनले भने, ‘अब पुल भत्किएसँगै यहाँ पर्यटक आउने कुरा भएन, जतिसक्दो शीघ्र सरकारले निर्माण गर्नुपर्छ ।’ 

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख एवं इन्जिनियर पदम मडैले प्रारम्भिक अध्ययन गर्दा सिंगो नदीको बहाब त्यही पिलर भएर बगेको र पिलरको जगभन्दा मुनिबाट कटानी हुँदा पिलर ढलेको हुन सक्ने बताए । 

महाकालीमा साढे पाँच लाख क्युसेक पानीको जलस्तर पुग्दा नढलेको पुल अहिले ६० हजार क्युसेक पानीको बहाबले भत्काइदिएको छ । शारदा ब्यारेजको तथ्यांकअनुसार पुलको पिलरसहित बिचभाग चुँडिएकै दिन १४ असोज ०८३ बिहान ६ बजेतिर ६० हजार एक सय ७३ क्युसेक पानीको जलस्तर थियो । यसअघि दुईपटक महाकालीको जलस्तर रेकर्ड कायम भएका वेला साढे पाँच लाखभन्दा बढी थियो । २ कात्तिक ०७८ मा पाँच लाख ४७ हजार दुई सय २४ क्युसेक र ४ असार ०७० मा पाँच लाख ४४ हजार क्युसेक पानीको बहाब हुँदा पनि नढलेको पुल अहिले ६० हजारले ढलायो । 

सुझावित समाचार