५० हजार बोरा हेटौँडा सिमेन्ट किन्दै बागमती गाउँपालिका

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण
  • सबै प्रकारका विकास निर्माणको ठेक्का सम्झौता गर्दा सिमेन्ट पालिकाले नै उपलब्ध गराउने सर्त राखिएकाले सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उपलब्ध गराउन सम्भव भएको पालिका अध्यक्ष सर्केस घलानको भनाइ

मकवानपुरको बागमती गाउँपालिकाले चालू आर्थिक वर्ष ०८३/८४ का विकास योजनामा प्रयोग गर्न हेटौँडा सिमेन्ट उद्योगसँग तीन करोड ४६ लाख रुपैयाँबराबरको ५० हजार बोरा सिमेन्ट खरिद गर्ने सम्झौता गरेको छ ।

कोइला अभावका कारण गत चैतदेखि उत्पादन बन्द रहेको सरकारी स्वामित्वको उद्योगबाट गाउँपालिकाले ५० हजार ६ सय २८ बोरा ओपिसी सिमेन्ट खरिद गर्न लागेको हो । गाउँपालिकाभित्र निर्माण हुने सडक, ड्रेन, टेवा पर्खाल र विभिन्न भवनका लागि उक्त परिमाणको सिमेन्ट आवश्यक पर्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष सर्केस घलानले जानकारी दिए । उनका अनुसार छनोट भएका विकास योजनाको लागत अनुमानका आधारमा सिमेन्टको परिमाण निर्धारण गरिएको हो । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले सिधै उद्योगसँग खरिद सम्झौता गरिएको उनले बताए ।

सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट अध्यक्ष घलान र उद्योगका तर्फबाट महाप्रबन्धक भक्तिराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । गाउँपालिकाको निर्णय तथा प्रचलित कानुनअनुसार सरकारी संस्था–सरकारी संस्था अर्थात् जिटुजी प्रक्रियामार्फत सिमेन्ट खरिद तथा आपूर्ति गर्ने सम्झौतामा उल्लेख छ । गाउँपालिकाले विकास निर्माणका योजना ठेकेदार वा उपभोक्ता समितिले जुन माध्यमबाट कार्यान्वयन गरे पनि आवश्यक सिमेन्ट आफैँ उपलब्ध गराउने भएको छ । यसका लागि योजना छनोट र तिनमा प्रयोग हुने सिमेन्टको परिमाण अनुमान गरिसकिएको अध्यक्ष घलानले बताए । ‘ठेक्का लगाएर होस् वा उपभोक्ता समिति जसमार्फत काम भए पनि पालिकाले नै सिमेन्ट उपलब्ध गराउनेछ,’ उनले भने ।

उद्योगमा ७० हजार बोराभन्दा बढी सिमेन्ट प्याक गर्न बाँकी
गाउँपालिकासँग खरिद सम्झौता गरेको उद्योगमा भने प्याकिङ मेसिन बिग्रिँदा तयारी सिमेन्ट बोरामा भर्न बाँकी छ । उद्योगमा अहिले ७० हजार बोराभन्दा बढी परिमाणको सिमेन्ट प्याक गर्न बाँकी रहेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार तयारी अवस्थामा रहेको सिमेन्ट प्याकिङ मेसिनको समस्याका कारण बोरामा भर्न नसकिएको हो । ‘उद्योगको प्याक गर्ने मेसिन बिग्रेकाले बोरामा प्याक गर्न सकिएको छैन,’ उनले भने, ‘बिग्रेको मेसिन मर्मत–सम्भार गर्न बाहिरबाट प्राविधिक आउँदै छन् ।’ गाउँपालिकाले खरिद गर्न लागेको परिमाणभन्दा बढी सिमेन्ट उद्योगमा प्याक गर्न बाँकी भए पनि बोरामा भरेर आपूर्तिका लागि तयार पार्न मेसिन मर्मत आवश्यक रहेको श्रेष्ठले बताए । चैतदेखि सिमेन्ट उत्पादन बन्द गरेको उद्योगले तयारी सिमेन्ट प्याक गर्नसमेत मेसिनको समस्या झेलिरहेको छ । उद्योगको आर्थिक अवस्था कमजोर हुँदा कर्मचारीले १५ महिनादेखि तलब पाएका छैनन् । 

सुझावित समाचार