- घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक ः पाँच वर्षमा उद्योग दर्ता ६३ प्रतिशत घट्यो, रोजगारी ८७ प्रतिशतले खुम्चियो
उदयपुर/उदयपुरमा नयाँ उद्योग स्थापना गर्ने क्रम निरन्तर घट्दो अवस्थामा रहेको देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय, गाईघाटको वार्षिक प्रतिवेदनले पछिल्ला पाँच वर्षयता उद्योगको दर्ता निरन्तर घटेको देखाएको हो ।
प्रतिवेदनले पछिल्लो पाँच वर्षमा उद्योग दर्ता ६३ प्रतिशतले घटेको देखाएको हो । आर्थिक वर्ष ०७८/७९ मा चार सय ५८ नयाँ उद्योग दर्ता भएकामा ०८२/८३ मा एक सय ६६ वटामा झरेको हो । उद्योग दर्ता घट्दा उनीहरूले प्रतिबद्धता गर्ने रोगजारीसमेत ८७ प्रतिशतले घटेको देखिन्छ ।
कार्यालयका अनुसार ०७८/७९ मा चार सय ५८ वटा नयाँ उद्योग दर्ता भएका थिए । आव ०७९/८० मा दुई सय ९४ वटा, ०८०/८१ मा दुई सय ४७, ०८१/८२ मा एक सय ८४ र आव ०८२/८३ मा एक सय ६६ नयाँ उद्योग दर्ता भएका छन् । पछिल्लो पाँच वर्षमा हरेक वर्ष नयाँ उद्योग दर्ता घटेको देखिन्छ । उद्योग दर्तासँगै नयाँ उद्यमी थपिने क्रम पनि उल्लेखनीय रूपमा घटेको घरेलु तथा साना उद्योग कार्यालय, गाईघाटका प्रमुख पूर्णबहादुर थापाले बताए ।
उनका अनुसार ०७८/७९ मा एक हजार ६ सय ६३ जना नयाँ उद्यमी थपिएकामा ०७९/८० मा तीन सय २० जना, ०८०/८१ मा दुई सय ७०, ०८१/८२ मा एक सय ९३ र आव ०८२/८३ मा एक सय ७४ जना मात्र थपिएका छन् । पाँच वर्षमा नयाँ उद्यमी थपिने संख्या ८९.५ प्रतिशतले घटेको हो ।
नयाँ उद्योगबाट सिर्जना हुने रोजगारी प्रतिबद्धतामा पनि ठुलो गिरावट आएको छ । उद्योगहरूले दर्ता हुँदा गरेको प्रतिबद्धताअनुसार ०७८/७९ मा चार हजार सात सय ९४ जनालाई रोजगारी उपलब्ध गराउने उल्लेख थियो । रोजगारीको प्रतिबद्धता आव ०७९/८० मा एक हजार २७, ०८०/८१ मा एक हजार दुई सय ४०, ०८१/८२ मा सात सय २२ र आव ०८२/८३ मा पाँच सय ९५ जनामा सीमित भएको छ । पाँच वर्षमा नयाँ रोजगारी सिर्जना ८७.६ प्रतिशतले घटेको तथ्यांक भएको थापाको भनाइ छ ।
सेवामूलक उद्योगमा बढी आकर्षण
गत आर्थिक वर्ष ०८२/८३ को तथ्यंक हेर्दा दर्ता भएका एक सय ६६ उद्योगमध्ये सेवामूलक सबैभन्दा धेरै छन् । सेवामूलक ६६, कृषि तथा वनजन्य ५७, पर्यटन २३ र उत्पादनमूलक २० उद्योग दर्ता भएको कार्यालयको तथ्यांक छ ।
कुल दर्ताको ३९.८ प्रतिशत सेवामूलक, ३४.३ प्रतिशत कृषि तथा वनजन्य, १३.९ प्रतिशत पर्यटन र १२ प्रतिशत उत्पादनमूलक उद्योग छन् । ऊर्जामूलक, निर्माणजन्य, खनिजजन्य तथा सूचना प्रविधितर्फ भने कुनै उद्योग दर्ता भएको छैन । कार्यालय प्रमुख थापाले भने, ‘विशेषगरी उत्पादन, निर्माण, खनिज र सूचना प्रविधितर्फ नयाँ उद्योग दर्ता शून्य हुनु जिल्लाको औद्योगिक गतिविधिमा देखिएको कमजोर पक्ष हो ।’ तथ्यांकले उदयपुरमा उद्योगको संख्या बढे पनि नयाँ लगानी र रोजगारी सिर्जनाको आधार कमजोर बन्दै गएको देखाएको छ ।
दर्ता भएका एक सय ६६ उद्योगमध्ये एक सय ५० निजी फर्म, सात साझेदारी फर्म र नौ कम्पनी छन् । कृषि तथा वनजन्यतर्फ मात्रै ५२ निजी, चार साझेदारी र एक कम्पनी गरी ५७ उद्योग दर्ता भएका छन् ।