विकास साझेदारहरूले भोटेकोशी बाढीले निम्त्याएको विपत्पछिको पुनर्निर्माण तथा पुनरुत्थानमा नेपाललाई सघाउने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपत्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा बुधबार गरेको छलफलमा सहभागी विकास साझेदारहरूका स्थानीय प्रतिनिधिहरूले नेपालको आवश्यकताअनुसार सघाउन तयार रहेको बताएका हुन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजित बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको उपस्थिति रहेको थियो ।
बैठकमा रसुवा बाढी विपत्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपत् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा विस्तृत समीक्षा गरिएको थियो ।
कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गराउन प्रतिस्पर्धा नै गरिरहेको बताए । हालसम्म १२ अर्ब रुपैयाँ जम्मा भइसकेको उनले जानकारी गराए ।