नेपाल भलिबल लिग : काठमाडौंसँग कर्णाली चौथो खेलमा स्तब्ध

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

कर्णाली शिवराजले पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा चौथो खेलमा हारको सामना गरेको छ । लगातार तीन खेल जित्दै उत्कृष्ट लयमा रहेको कर्णालीमाथि काठमाडौं रेड्सले ३–१ को सेटमा स्तब्ध बनाएको हो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार दोस्रो खेलमा कर्णालीले काठमाडौंको सामना गरेको थियो । 

रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा काठमाडौंले कर्णालीलाई २८–२६, २५–१८, २३–२५ र २५–२१ को सेटमा हराएको हो । चौथो सेटको एक समयमा कर्णाली र काठमाडौंले समान २०–२० स्कोर गरेका थिए । काठमाडौंले अन्तिम पाँच अंकका लागि उत्कृष्ट प्रदर्शन गर्यो । कर्णालीलाई २१ स्कोरमा रोक्दै काठमाडौंले लगातार पाँच अंक जोड्दै सनसनी जित निकाल्यो । दोस्रो सेटमा कर्णालीले १९ र काठमाडौंले १७ स्कोर गर्दासम्म कुन टोलीले बाजी मार्ने भन्ने अनुमान गर्न गाह्रो परेको थियो ।

कर्णालीका विदेशी खेलाडीले सर्भिस तथा सटमा दमदार खेल देखाउँदा काठमाडौं २०–२४ ले पछि पर्यो । यद्यपि, काठमाडौंले पनि चार सेट अंक रक्षा गरेको थियो । अन्तिममा काठमाडौंको एक सामान्य गल्तीमा कर्णालीले तेस्रो सेट जित्दै खेलमा टिकिरह्यो ।

खप्तड बाहिरियो
अन्नपूर्ण स्पाइकर किंग्सले एनभिएलमा तेस्रो जित निकालेको छ । लगातार चौथो हारसँगै खप्तड फाल्कन्स प्लेअफ समीकरणबाट बाहिरियो । अन्नपूर्णले खप्तडलार्ई अन्नपूर्णले २५–१५, २५–१५ र २९–२७ ले हरायो । जितसँगै अन्नपूर्णको प्ले–अफ सम्भावनामा बलियो बनेको छ । टोलीले चार खेलमा नौ अंक जोडेको छ । पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्णले त्यसपछि काठमाडौं रेड्स र मधेश वारियर्सलाई पराजित गरेको थियो ।

सुझावित समाचार