भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण हालसम्म एक हजार ३५७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या एक हजार ३५७ पुगेको जनाएको हो।
प्राधिकरणका अनुसार विभिन्न प्रभावित जिल्लाबाट शव तथा मानव अंगहरू फेला पर्ने क्रम जारी छ। चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अंग फेला परेका छन्। फेला परेकामध्ये हालसम्म १०२ जनाको मात्र सनाखत गरी आफन्तलाई बुझाइएको छ।
बाढीपछि अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। रसुवामा मात्रै दुई हजार ८६० जना बेपत्ता छन्। त्यसमध्ये रसुवाका एक हजार ३९३, अन्य जिल्लाका एक हजार २८६ तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी र बैंक तथा वित्तीय संस्थाका कर्मचारीसमेत रहेका छन्।
त्यस्तै, नुवाकोटबाट करिब एक हजार ९८१ नेपाली नागरिक र ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।
विपतपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ। बाढी तथा पहिरोमा परी घाइते भएका ६ हजार ८२७ जनाको उपचार भइरहेको छ।