चौथो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्री नै आम्दानीको मुख्य स्रोत बनेको छ। प्रतियोगितामा टिकट बिक्रीबाट मात्रै ३८ लाख २९ हजार ९ सय रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ। लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले सबैभन्दा धेरै रकम फाइनल खेलबाट उठेको बताए। फाइनलको टिकट बिक्रीबाट २० लाख ३३ हजार रुपैयाँ संकलन भएको उनले जानकारी दिए।
शेर्पाका अनुसार क्वार्टरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार २ सय र सेमिफाइनलका दुई खेलबाट ६ लाख ५ हजार ७ सय रुपैयाँ आम्दानी भएको छ। दर्शकको चापअनुसार आयोजकले खेलको चरणअनुसार टिकट दर निर्धारण गरेको थियो। क्वार्टरफाइनलमा २ सय, सेमिफाइनलमा ३ सय र फाइनलमा ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको थियो।
सबै खेल हेर्न चाहने दर्शकका लागि तीन हजार रुपैयाँको प्याकेज बिक्री गरिएको थियो। प्याकेज टिकटबाट भएको आम्दानीको हिसाब भने आउन बाँकी रहेको कोषाध्यक्ष शेर्पाले बताए। टिकट बिक्रीको रकमले ताप्लेजुङ गोल्डकपप्रति स्थानीय दर्शकको आकर्षणलाई समेत देखाएको आयोजकको भनाइ छ। पूर्वी पहाडी क्षेत्रमै ठुलो दर्शक उपस्थिति रहने फुटबल प्रतियोगिताका रूपमा ताप्लेजुङ गोल्डकप स्थापित हुँदै गएको आयोजकले जनाएको छ।
भदौ १२ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि सिराहाको सलहेस युवा क्लबले जितेको थियो। विजेताले ७ लाख २ हजार ८३ र उपविजेता पाँचथरको फिदिम स्पोर्टिङ क्लबले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगद पुरस्कार पाए। प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए।