भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर भासिँदा अवरुद्ध राजमार्ग खुलाउन डाइभर्सन निर्माणको काम थालिएको छ । पहिरो गएको स्थानभन्दा थोरै माथिबाट भित्ता काटेर नयाँ ट्रयाक खोल्न थालिएको हो । डाइभर्सन निर्माणका लागि बिहीबारदेखि झाडी तथा वनस्पति हटाउने र रुख काट्ने काम सुरु गरिएको मलेखु–मुग्लिन सडक आयोजना प्रमुख सजना अधिकारीले जानकारी दिइन् । ‘शुक्रबारदेखि नयाँ ट्रयाक खन्न थालिएको छ । भित्तामा कस्तो चट्टान भेटिन्छ । त्यसअनुसार कामको प्रगति हुनेछ । सकभर चाँडै वैकल्पिक मार्ग खुलाउने प्रयासमा छौँ,’ उनले भनिन् ।
एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनका लागि सकभर चाँडै वैकल्पिक मार्ग खुलाउन लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बताइन् । ‘अहिले तत्कालका लागि भित्ता कटान गरी राजमार्ग खुलाउन लागिएको हो । यही मार्गलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिन्छ कि, खोलाबाटै उठाएर दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्छ, अहिले नै भन्न सकिन्न,’ उनले भनिन्, ‘अहिलेलाई इमर्जेन्सी सवारी खुलाउने पहिलो प्राथमिकता हो । बिस्तारै साना तथा मालवाहक सवारी पनि खुलाउनेछौँ ।’
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन, पोखरातर्फ आवतजावत गर्न प्रभावित भएको छ । सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको टोली परिचालन गरेर १५ दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरेको छ ।