तेस्रो संस्करणको रेवान पोखरा भेट्रान्स एकल तथा डबल्स टेनिस प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालामा सुरु भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको हो।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए। प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनसँगै खेलाडीबिच भाइचाराको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने पौडेलले बताए।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एकल तथा डबल्सतर्फका विजेता र उपविजेता खेलाडीले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संघका कार्यवाहक अध्यक्ष नवीन चालिसेले जानकारी दिए।
यसैबिच, पोखरा रंगशालाभित्र सञ्चालन गरिएको ‘क्लिन रंगशाला, ग्रिन रंगशाला’ अभियानअन्तर्गत रेवान पार्क निर्माण गर्ने उद्देश्यले वृक्षरोपणसमेत गरिएको छ। ‘क्लिन रंगशाला, ग्रिन रंगशाला’ अभियानका लागि रेवान पोखराले १५ हजार रुपैयाँ सहयोग गरेको छ।