- प्राचीन समयमा घण्टाघरको मुख्य उद्देश्य मानिसलाई समयको जानकारी गराउनु थियो । मध्यकालमा यसले सहरको शक्ति र सम्पन्नताको भूमिका निर्वाह गर्यो । आधुनिक युगमा पनि यसको महत्व समाप्त भएको छैन । अहिले घण्टाघरहरूले वास्तुकलाका नमुना, सांस्कृतिक सम्पदा र पर्यटकीय आकर्षणका रूपमा काम गरिरहेका छन् ।
घण्टाघर अर्थात् ‘क्लक टावर’ विश्वका विभिन्न सहरमा इतिहास, वास्तुकला र सार्वजनिक जीवनसँग जोडिएका महत्वपूर्ण संरचना हुन् । आज स्मार्ट घटी र मोबाइल फोनका कारण समय हेर्न सहज भए पनि कुनै समय सार्वजनिक घण्टाघर नै सर्वसाधारणका लागि समय थाहा पाउने प्रमुख माध्यम थिए । त्यसैले घण्टाघर समय बताउने संरचना नभई सहरको पहिचान, आधुनिकता, शक्ति र सामुदायिक जीवनका प्रतीकसमेत थिए ।
घण्टाघरको अवधारणा प्राचीन समयदेखि नै विकसित हुँदै आएको पाइन्छ । मानिसहरूसँग व्यक्तिगत घडीको सुविधा नभएका वेला समुदायलाई विभिन्न काम वा अन्य गतिविधिको समय जानकारी गराउन अग्ला टावरमा ठुला घन्टी राखिने गरेको इतिहास पाइन्छ । पछि यस्ता टावरमा घडी जडान हुन थाले र तिनले आधुनिक घण्टाघरको स्वरूप लिन थाले ।
ग्रिसको एथेन्समा रहेको ‘टावर अफ द विन्ड्स’ समय मापनसम्बन्धी प्राचीन संरचनाको महत्वपूर्ण उदाहरण हो । खगोलशास्त्री साइरस एन्ड्रोनिकसले निर्माण गरेको यो संरचना प्राचीन रोमन वास्तुकलामा आधारित छ । अष्टभुजाकार संगमरमरको संरचनामा सूर्यघडी र पानीको घडी (क्लेप्सिड्रा) प्रयोग गरिएको थियो । यसले प्राचीन सभ्यतामै समय मापनलाई वास्तुकलासँग जोडिएको देखाउँछ ।
१३औँ र १४औँ शताब्दीमा यान्त्रिक घडीको विकास भएपछि ठुलो घडीलाई सार्वजनिक टावरमा राख्ने प्रचलन बढ्यो । त्यतिवेला अधिकांश मानिससँग व्यक्तिगत घडी हुँदैनथे । त्यसैले चर्च, नगर भवन वा सार्वजनिक टावरमा राखिएका घडी र घन्टी सर्वसाधारणका लागि अत्यन्त महत्वपूर्ण थिए ।
यस्ता घण्टाघरहरू क्रमशः सहरको सम्पन्नता, शक्ति र आधुनिकताको प्रतीक बन्न थाले । पछि घडीको बाहिरी भागमा डायल र सुई राखिएपछि टाढाबाटै समय हेर्न सकिने भयो ।
विश्वका प्रसिद्ध घण्टाघर
बेलायतको राजधानी लन्डनको बिग बेन विश्वकै प्रसिद्ध घण्टाघरमध्ये एक हो । सन् १८५९ मा सञ्चालनमा आएको यसको घडी र टावर बेलायतको राजधानी लन्डनको प्रमुख पहिचान बनेका छन् । टावरभित्र ठुलो घण्ट ‘बिग बेन’ बाहेक अन्य चारवटा साना घन्टी पनि छन् । यी घन्टीले हरेक १५ मिनेटमा बजाउने धुनलाई ‘वेस्टमिन्स्टर च्याइम्स’ भनिन्छ । १९औँ शताब्दीमा बेलायत विश्वकै सबैभन्दा शक्तिशाली साम्राज्य थियो । लन्डनको मुटुमा विश्वकै सबैभन्दा ठुलो, सटिक र आधुनिक चारमुखे यान्त्रिक घडी बनाएर आफ्नो प्राविधिक र आर्थिक समृद्धिको प्रदर्शन गर्नु पनि यसको अर्को उद्देश्य थियो । सन् २०१२ मा महारानी एलिजाबेथको सम्मानमा ‘एलिजाबेथ टावर’ नामाकरण गरियो ।
चेक गणतन्त्रको राजधानी प्रागस्थित प्राग एस्ट्रोनोमिकल क्लक टावर पनि अर्को चर्चित घडीघर हो । सन् १४१० मा निर्माण गरिएको यो घण्टाघर विश्वकै सबैभन्दा पुरानो, अझै सञ्चालनमा रहेको खगोलीय घडी हो । यस घडीले समयका साथै सूर्य, चन्द्रमा र नक्षत्रहरूको स्थिति देखाउँछ । यो घडी हेर्नका लागि पर्यटकहरूको ठुलो घुइँचो लाग्छ ।
इटालीको भेनिसमा रहेको सेन्ट मार्क्स क्लक टावर १५औँ शताब्दीको अन्त्यतिर निर्माण भयो । भेनिसको धन, शक्ति र गौरव प्रदर्शन गर्ने उद्देश्यसँग पनि यसको निर्माण जोडिएको मानिन्छ । टावरको मुख्य भागमा नीलो र सुनौलो रङको ठुलो डायल छ । यसले समय मात्र नभई सूर्य र चन्द्रमाको स्थिति, चन्द्रमाको कला तथा १२ वटा राशिको जानकारी दिन्छ । त्यस समयमा समुद्रमा यात्रा गर्ने भेनिसका व्यापारीहरूका लागि यो निकै उपयोगी थियो ।
घडीको माथिल्लो भागमा दुईवटा साना झ्याल छन्, जहाँ रोमन र अरबी अंकहरूमा घण्टा र मिनेट सिधै देखिन्छ । यसलाई आधुनिक डिजिटल घडीको धेरै पुरानो रूप मानिन्छ । भेनिसको एउटा किंवदन्तीअनुसार, जब सन् १४९९ को फेब्रुअरी १ मा यो घडी सार्वजनिक गरियो, तब यो यति सुन्दर थियो कि शासकले घडी बनाउने कालीगढको आँखा नै फुटाइदिए ताकि उनले यसको बराबरी गर्न सक्ने अर्को घडी बनाउन नपाऊन् ।
रुसको राजधानी मस्कोस्थित स्फास्काया टावर मस्कोको रेड स्क्वायरमा अवस्थित छ । यो ऐतिहासिक घण्टाघर १४९१ मा बनेको हो । यसको विशाल घडीलाई ‘त्रेमलिन चाइम’ भनिन्छ । टावरको टुप्पोमा रातो तारा राखिएको छ ।
भारतको मुम्बईस्थित राजाबाई क्लक टावर मुम्बई विश्वविद्यालयको हाताभित्र रहेको छ । यो घण्टाघर सन् १८७८ मा निर्माण सम्पन्न भएको हो । ब्रिटिस वास्तुकार सर गिल्बर्ट स्कटले यसको स्वरूप लन्डनको ‘बिग बेन’को ढाँचामा तयार पारेका थिए । पाँच लाख ५० हजार लागतमा यो टावर निर्माण भएको थियो । जुन रकम भारतीय व्यापारी प्रेमचन्द रोयचन्द जैनले उपलब्ध गराएका थिए । उनले आफ्नी आमा राजाबाईको नाममा घडीघरको नामाकरण गर्ने सर्तमा रकम उपलब्ध गराएका थिए । सोहीकारण घडीघरको नाम राजाबाई रहनपुग्यो ।
त्रिविको घडीघर
२०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । विश्वविद्यालय निर्माणसँगै यसको हाताभित्र घडीघरसमेत स्थापना भयो । औपचारिक रूपमा यसलाई ‘विश्वविद्यालय क्षेत्र’ वा विभिन्न केन्द्रीय विभागहरूको भवन भनिए पनि यहाँ राखिएको ठुलो घडी र वास्तुकलाका कारण विद्यार्थी तथा स्थानीयहरूले यसलाई घडीघर भनेरै चिन्न थाले । व्यक्तिगत घडी वा प्रविधिको सहज पहुँच नभएको तत्कालीन समयमा विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरूलाई कक्षा सञ्चालन र समयको जानकारी दिन यो घण्टाघरले महत्वपूर्ण भूमिका खेल्यो ।
वीरगन्जको घण्टाघर
नेपालका अन्य सहरमा पनि घण्टाघर स्थानीय पहिचानका रूपमा स्थापित भएका छन् । वीरगन्जको मध्यभागमा रहेको वीरगन्ज घण्टाघर सहरको प्रमुख चिनारीमध्ये एक हो । २०३३ सालमा जापानको यागानो सहरका विद्यालयका विद्यार्थीहरूले आर्थिक सहयोग जुटाएर तथा जापानी सेईको कम्पनीको घडी प्रयोग गरी यसको निर्माणमा सहयोग गरेको उल्लेख पाइन्छ । वीरगन्जको मुख्य क्षेत्रमा अवस्थित भएकाले यो घण्टाघर भेटघाट तथा सहरको स्थान पहिचान गर्ने केन्द्रका रूपमा समेत परिचित छ ।
घण्टाघरको बदलिँदो भूमिका
प्राचीन समयमा घण्टाघरको मुख्य उद्देश्य मानिसलाई समयको जानकारी गराउनु थियो । मध्ययुगीन युरोपमा यसले सहरको शक्ति, सम्पन्नता र धार्मिक तथा प्रशासनिक प्रभाव प्रदर्शन गर्ने भूमिका पनि निर्वाह गर्यो । आधुनिक युगमा व्यक्तिगत घडी, मोबाइल फोन र डिजिटल प्रविधिको विकाससँगै सार्वजनिक घण्टाघरको व्यावहारिक आवश्यकता घटेको छ । तर, यसको महत्व समाप्त भएको छैन । अहिले घण्टाघरहरू ऐतिहासिक स्मारक, वास्तुकलाका नमुना, सांस्कृतिक सम्पदा र पर्यटकीय आकर्षणका रूपमा संरक्षण भइरहेका छन् । कुनै सहरको इतिहास र विकास बुझ्न त्यहाँका पुराना घण्टाघरले महत्वपूर्ण सन्दर्भ प्रदान गर्छन् ।
काठमाडौंको घण्टाघरदेखि वीरगन्जको घण्टाघरसम्म हेर्दा नेपालमा पनि यस्ता संरचनाले समय बताउने कामभन्दा पर गएर सहरको सामाजिक स्मृति र पहिचान बोकेको देखिन्छ । त्यसैले घण्टाघरको संरक्षण एउटा पुरानो भवन जोगाउनु मात्र होइन, त्यससँग जोडिएको इतिहास, वास्तुकला र पुस्तौँको सामूहिक स्मृतिलाई सुरक्षित गर्नु पनि हो ।
तीन वर्षदेखि बन्द काठमाडौंको घण्टाघर
काठमाडौंको मध्यभागमा रहेको घण्टाघर नेपालको ऐतिहासिक घण्टाघरमध्ये एक हो । यसको वास्तुकलामा तत्कालीन पश्चिमी शैलीको प्रभाव देखिन्छ । यसको स्वरूप लन्डनको बिग बेनबाट प्रभावित भएको पाइन्छ ।
घण्टाघरको प्रारम्भिक संरचना करिब एक सय फिट अग्लो र पाँचतले रहेको इतिहास छ । कुनै समय काठमाडौंमा सार्वजनिक रूपमा समय थाहा पाउने प्रमुख माध्यमका रूपमा यसले महत्वपूर्ण भूमिका खेलेको थियो । यसका साथै घण्टाघर काठमाडौंको आधुनिकीकरण र तत्कालीन शासकीय संरचनाको प्रतीक पनि बनेको थियो । १९५१ मा वीरशमशेरले घण्टाघरको स्थापना गरेका थिए । त्यस समयमा घण्टाघर समय बताउने संरचना नभई सार्वजनिक गतिविधिको केन्द्रसमेत थियो । किनभने घण्टाघर पुस्तकालयको प्रांगणमै निर्माण भएको थियो ।
१९९० को भूकम्पले तत्कालीन घण्टाघरमा ठुलो क्षति पुर्याएपछि यसको पुनर्निर्माण गरियो । त्यसपछि हाल देखिने स्वरूप विकसित भयो । २०७२ सालको भूकम्पबाट पनि घण्टाघरमा क्षति पुगेपछि यसको प्रबलीकरणको काम अघि बढाइएको छ ।
घण्टाघरको घडी यान्त्रिक प्रकृतिको भएकाले नियमित रूपमा दम दिनुपर्ने व्यवस्था रहेको छ । ०८० सालदेखि पुनर्निर्माण थालिए पनि अझै घण्टाघर निर्माण सम्पन्न हुन सकेको छैन । त्रिचन्द्र क्याम्पसको हाताभित्र रहेको यो घण्टाघर क्याम्पसले नै व्यवस्थापन गर्दै आएको छ । सहायक क्याम्पस प्रमुख अजन्त आचार्यका अनुसार तीन वर्षदेखि यो घण्टाघरले समय देखाउन सकेको छैन । जसकारण घण्टाघरको व्यवस्थापनका लागि भनेर कर्मचारीसमेत छैन । ‘घण्टाघर प्रबलीकरणको क्रममा रहेकाले व्यवस्थापनका लागि कर्मचारीको दरबन्दी तोकिएको छैन । निर्माण सम्पन्न भएर हस्तान्तरण भएपछि के गर्ने हुन्छ,’ आचार्यले भनिन् ।
ऐतिहासिक रूपमा घण्टाघरको घन्टीसँग काठमाडौंको सार्वजनिक जीवन पनि जोडिएको थियो । १२ बज्दा १२ पटक घन्टी बज्ने र टुँडिखेलमा सेनाले तोप पड्काएर समयको जनाउ दिने परम्परा रहेको पाइन्छ । घण्टाघरको घडीले दिएको जनाउका आधारमा वरपरका मानिसले समयबारे जानकारी पाउँथे ।
– एजेन्सीको सहयोगमा