रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग जुटिरहेका वेला सरकारले अनधिकृत क्युआर कोड तथा व्यक्तिगत बैंक खातामार्फत रकम संकलन नगर्न र त्यस्ता माध्यममा रकम नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार एक अपिल जारी गर्दै कतिपय व्यक्ति, समूह तथा संस्थाले जथाभावी अनधिकृत क्युआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विपतकाे विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग र सही व्यवस्थापन सुनिश्चित गर्न तथा सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले सार्वजनिक गरेको आधिकारिक बैंक खाता तथा क्युआर कोडमा मात्र रकम जम्मा गर्न कार्यालयले अनुरोध गरेको छ।
आर्थिक सहयोग गर्नुअघि क्युआर कोड वा बैंक खाताको नाम आधिकारिक विवरणसँग यकिन गरेर मात्र रकम पठाउन सरकारले आग्रह गरेको छ।
कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी अपिलमा बाढी प्रभावितका लागि जुटिरहेको सहयोग सही माध्यमबाट उपलब्ध गराउन र अनधिकृत रूपमा रकम संकलन गर्ने व्यक्ति वा संस्थाबाट सावधान रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
सरकारले विपतका वेला सहयोग गर्ने नाममा हुन सक्ने वित्तीय ठगी रोक्न तथा संकलित रकमको पारदर्शी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने जनाएको छ।