- तीन महिनाभन्दा लामो समयदेखि बुन्डिबुग्यो भाइरसले निम्त्याएको १७औँ इबोला प्रकोपको चपेटामा डिआर कंगो
हिजोआज हामी प्रत्येकपटक कंगो लोकतान्त्रिक गणतन्त्र (डिआर कंगो) पुग्दा अनिवार्य रूपमा विभिन्न सरोकारवाला पक्षको कुरा सुन्ने गर्छौं । देशको सहर बुनियामा, हामीले समुदायका दर्जनौँ प्रतिनिधिलाई भेटेका छौँ, जसमा संक्रमण लागेर निको भएकाहरू, महिला, युवा, स्थानीय संघसंस्था, स्वास्थ्यकर्मी र प्रभावित क्षेत्रका नेता थिए । उनीहरूको सन्देश सीधा र प्रत्यक्ष छ, ‘हामीलाई पनि अभियानमा संलग्न गराउनुहोस् । हामी हाम्रा समुदायलाई चिन्छौँ । हामीलाई थाहा छ, परिवारले हेरचाह कहाँ खोज्छन्, सूचना कसरी फैलाउन सकिन्छ र विश्वास किन टुटिरहेको छ ? अर्थात्, रोगविरुद्धको अभियान नेतृत्व गर्न मद्दत गर्ने माध्यम हामीलाई दिनुहोस् ।’ खासमा यस्तो विचार राख्ने समुदायका सदस्य सही छन् ।
इबोला समुदायमार्फत फैलिन्छ र समुदायले यसलाई रोक्न आवश्यक ज्ञान राख्छन् । तिनीहरूले रोगलाई चाँडै पहिचान गर्न सक्छन्, स्वास्थ्य टोलीलाई सचेत गराउन सक्छन्, रोगीको सम्पर्कमा आएकाहरूको पहिचान गर्न मद्दत गर्न सक्छन्, खतरनाक अफवाहलाई चुनौती दिन सक्छन् । त्यस्तै समुदायले नै उपचारमा पहुँच सुरक्षित गर्नेदेखि मृतकको सम्मानजनक अन्त्येष्टिमार्फत परिवारलाई सहयोग गर्न सक्छन् । जब समुदायले राष्ट्रिय अधिकारी र स्वास्थ्यकर्मीसँग हातेमालो गरेर महामारीविरोधी अभियानको नेतृत्व गर्छन्, तब प्रतिक्रिया सधैँ छिटो हुन्छ ।
एक सय दिनअघि डिआर कंगोको सरकारले बुन्डिबुग्यो भाइरसबाट देशमा १७औँ इबोला प्रकोप निम्त्याएको घोषणा गरेको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पछिल्लो इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गर्यो । लगत्तै अफ्रिकाको रोग नियन्त्रणसम्बन्धी निकाय सिडिसीले महादेशीय सुरक्षाको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गर्यो ।
इबोला प्रकोपले नित्याएको आपत्कालको अवस्था भयावह छ । अगस्ट २१ सम्म डिआर कंगो सरकराले ५६ स्वास्थ्य क्षेत्रमा पाँच हजार २९० मा रोगको पुष्टि गरेको थियो भने दुई हजार ५१६ मृत्युको रिपोर्ट गरेको छ । अहिले यो रेकर्ड राख्न थालिएपछिको दोस्रो सबैभन्दा ठुलो इबोला प्रकोप बनिसकेको छ । र, यो विगतमा भन्दा तीव्र गतिमा फैलिरहेको छ । दशकौँ लामो सशस्त्र द्वन्द्वले सिर्जना गरेको असुरक्षाले प्रकोपको विस्तारलाई बढावा दिइरहेको छ ।
प्रकोपविरुद्धको प्रतिक्रियाको केन्द्रमा छन्, हरेक दिन काममा गइरहेका जनशक्ति । स्वास्थ्यकर्मी बिरामीको हेरचाह गर्छन् । प्रयोगशाला टोलीले भाइरस पहिचान गर्छ । रोगीको सम्पर्कमा आएकाहरूको पहिचान गर्न अलग टोली गाउँ–गाउँ हिड्छ । सामुदायिक स्वास्थ्यकर्मी दिनरात विश्वास निर्माणमा लागिपरेका छन्, तर रोगबारे फैलाइएका गलत सूचनाले गर्दा धेरै स्थानमा कठिनाइ आइपरेका छन् । त्यस्तै, भाइरसबाट मृत्यु भएकाहरूको सुरक्षित अन्त्येष्टि गराउन अलग टोली खटाइएका छन्, जसले परिवारलाई आफ्ना प्रियजनलाई कसरी सुरक्षित बनाउने भनेर सिकाइरहेका छन् । सबै समूह असाधारण दबाबबिच काम गरिरहेका छन् । धेरै त प्रायः असुरक्षित र पुग्न कठिन क्षेत्रमा काम गर्न बाध्य यी जनशक्तिमध्ये कतिपयलाई कर्तव्यको क्रममा आफैँलाई इबोला लागेको छ । यसरी कठिन अवस्थामा कठिनाइसाथ काम गरिरहेका समूहप्रति हाम्रो पनि कर्तव्य निभाउनुपर्छ । उनीहरूलाई गलत सूचना बोकेका समूहबाट सुरक्षा दिनुपर्नेदेखि सुरक्षात्मक उपकरणमाथिको पहुँच, तालिम, समयमै भुक्तानी, मनोसामाजिक सहयोग र बिरामी परेमा द्रुत निदान र उच्च गुणस्तरको हेरचाह दिइनुपर्छ । अग्रपंक्तिका कामदारको सुरक्षाले नै रोगको प्रसार रोक्न मुख्य भूमिका खेल्छ । प्रकोप नियन्त्रणमा खटिएका कंगोली जनशक्ति, डब्लुएचओ, अफ्रिका सिडिसी र साझेदारले निगरानी विस्तार गरेका छन् । नयाँ–नयाँ प्रयोगशाला निर्माण गरेका छन् भने उपचार केन्द्रलाई पनि सहयोग गरेका छन् । यसले केही हदसम्म संक्रमण रोकथाम सुदृढ गर्दै आवश्यक आपूर्ति वितरण सुनिश्चित गरेको छ ।
छिमेकी युगान्डा भाइरसको प्रसारण रोक्न सफल भएको छ । त्यस्तै, डिआर कंगोभित्रै पनि उत्तरी इटुरी र दक्षिण किभु प्रान्तमा धेरै स्वास्थ्य क्षेत्रले पनि प्रकोपको प्रसारमा अवरोध पुर्याएका छन् । यी अनुभवका आधारमा द्रुत पहिचान, निर्णायक राष्ट्रिय नेतृत्व र समुदायसँगको घनिष्ठ सहयोगले संक्रमण प्रसारणको शृंखला तोड्न सकिने पुष्टि गर्छ । साथै प्रकोपलाई छिटो रोक्ने उपाय पनि यसैमा भेटिन्छ । तर, इटुरी प्रान्तको बाँकी भाग र डिआर कंगोका पाँच अन्य प्रान्तमा जारी आपत्कालले तुरुन्तै ठुलो स्तरको कदमको माग गर्छ । परिस्थिति उल्ट्याउन, निगरानी टोलीको विस्तार गरिँदै छ, ताकि यसले संक्रमितको शीघ्र पहिचान र संक्रमितको सम्पर्कमा आएकाहरूलाई छिटो पहिचान गर्न सकियोस् । सुरक्षित क्लिनिकल हेरचाह र संक्रमण रोकथामका उपाय बढाइँदै छन् ।
समुदायलाई प्रकोपविरुद्धको प्रतिक्रियामा सहभागी गराउन र हेरचाहमा देखिएका अवरोध सम्बोधन गर्न जोखिमसम्बन्धी थप सञ्चार र सामुदायिक संलग्नता टोली खटाइँदै छन् । मृतकको अन्त्येष्टिका क्रममा रोग फैलिएको देखिएकाले त्यस्तो प्रसारण रोक्न थप सुरक्षित र सम्मानजनक अन्त्येष्टिमा सघाउने टोलीलाई तालिम दिइँदै छ । असुरक्षित र पहुँचयोग्य क्षेत्रमा कमजोर जनसंख्या र समुदायमा पुग्न विशेष प्रयास भइरहेका छन् । तर, यी सबै प्रयासका बाबजुद, अझ धेरै गर्न आवश्यक छ ।
स्वास्थ्यकर्मी नै संक्रमित भइरहेकाले उनीहरूको तत्काल सुरक्षा आवश्यक छ । अगस्ट २० सम्म उपचारमा संलग्न १५८ स्वास्थ्यकर्मीमा भाइरस फैलिसकेको थियो भने तीमध्ये ४५ जनाको मृत्यु भएको छ । प्रभावित वा उच्च जोखिम क्षेत्रमा रहेका प्रत्येक स्वास्थ्य सुविधालाई प्रशिक्षित कर्मचारी, सुरक्षात्मक उपकरण, सफा पानी, सरसफाइ र कार्यरत संक्रमण–रोकथाम प्रणाली आवश्यक पर्छ ।
राष्ट्रिय र स्थानीय टोलीलाई प्रयोगशाला, उपचार, रसद, संक्रमण रोकथाम र सामुदायिक संलग्नताका लागि आवश्यक रकम चाहिन्छ । अग्रपंक्तिमा खटिएका जनशक्तिलाई समयमै भुक्तानी गर्नुपर्छ । स्थानीय संघसंस्थालाई समुदायसँग निरन्तर संलग्न हुनका लागि पनि प्रत्यक्ष सहयोग आवश्यक पर्छ, त्यसबाहेक उपचारका लागि आश्यक स्टक सकिनुअघि आपूर्ति भइसक्नुपर्छ ।
विक्तपोषणमा हुने ढिलाइले थप धेरैको ज्यान लिन सक्छ । खण्डित वित्तपोषणले विभिन्न कदम चाल्न कठिनाइ पुर्याउँछ । प्रकोपविरुद्ध अन्तरदेशीय समन्वय पनि बलियो रहनुपर्छ । मानिसहरू व्यापार गर्न, काम गर्न, अध्ययन गर्न, हेरचाह खोज्न र आफ्ना परिवारलाई सहयोग गर्न एउटा देशभित्र र छिमेकी देशबिच आवतजावत गर्छन् । यस्तोमा प्रभावित क्षेत्रका देशले सार्वजनिक स्वास्थ्यका लागि समन्वय राख्नुपर्छ । यसका लागि सीमा बन्द गर्नु वा सम्पूर्ण यात्रा र व्यापारमाथि नै प्रतिबन्ध लगाउन आवश्यक छैन ।
(गेब्रेयसस विश्व स्वास्थ्य संगठनका महानिर्देशक हुन्, डा. जनाबी अफ्रिकी क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक हुन् भने डा. कासेया रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिका केन्द्रका महानिर्देशक हुन् ।)
अलजजिराबाट