डा. अभियान गौतमलाई ३ प्रश्न

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

१० वर्षअघि नै नियन्त्रणमा आइसकेको भनिएको जापानिज इन्सेफ्लाइटिस (जेई) फेरि बल्झिएको हो र ? 
सम्भवतः हामीले निगरानी बढाएकाले लुकेको रोग बाहिर आएको हुन सक्छ । सम्भवतः पहिले मानिसहरू यसको संक्रमणबाट मरिरहँदा पनि रेकर्डमा नआएको हुन सक्छ । अहिले हामीले निगरानी तीव्र बनाएका छौँ । प्रत्येक तीन र ६ महिनामा निगरानी बढाएकाले अहिले रोगी पहिचान भएको हुन सक्छ । 

कत्तिको घातक रोग हो यो ? धेरैले डेंगीसँग पनि तुलना गरिरहेका छन् ? 
यो डेंगीभन्दा धेरै घातक रोग हो । तीनजना संक्रमित हुँदा एकजना मर्ने, एकजना शारीरिक अशक्त हुने र एकजना मात्र पूर्ण रूपमा ठिक हुने सम्भावना हुन्छ । अहिले नै ६३ जना पहिचान भएका संक्रमितमा १६ को मृत्युले पनि त्यसै कुरालाई इंगित गर्छ । २०० जनाजतिलाई संक्रमित लामखुट्टेले टोक्दा एउटालाई रोग देखिने भएकाले मात्र संख्या कम देखिएको हो, डेंगीजस्तो संक्रमित लामखुट्टेले टोकेजति सबैलाई हुने हो भने धेरै भयावह हुने थियो ।

घातक भएका कारण दश वर्षअघि बालबालिकालाई खोप दिन थालिएका हो । अहिले १२ महिनासम्मका शिशुलाई यसविरुद्ध खोप दिइन्छ भने छुटेकालाई पाँच वर्षसम्म पनि दिइन्छ । संक्रमण देखिएका स्थानमा वयस्कहरूलाई पनि खोप अभियान चलाउने तयारी भइरहेको छ । 

व्यक्तिगत रूपमा रोकथामका लागि के गर्न सकिन्छ ? 
यो क्युलेक्स नामक लामखुट्टेबाट सर्छ, जुन साँझपख र राति सक्रिय हुन्छ । त्यसैले, त्यो वेला लामो बाहुला भएको कपडा लगाउने, बाहिर निस्कँदा ‘मक्युटो रिपलेन्ट’जस्ता मलम लगाएर हिँड्ने, घरमा मच्छड धुप बाल्ने र राति झुल लगाएर सुत्ने गर्नुपर्छ । तथापि, यो रोग खासमा सुँगुरजस्ता जीवबाट फैलिन भएकाले त्यस्ता जीव घरमा पालेको छ भने तिनलाई पनि सुग्घर राख्ने, तारजालीभित्र राख्ने, उनीहरू बस्ने ठाउँमा पनि मच्छड धुप बाल्ने गरेमा रोग लाग्ने सम्भावना कम हुन्छ । तथापि, सबैलाई खोप पुर्याउन सकियो भने यो रोग अन्त्य हुनेछ । 

सुझावित समाचार