रणनीतिक सामर्थ्यतर्फको नेपालको बाटो

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण
  • नेपालले आफूलाई असमान बाह्य शक्तिको अनुकूलन गरेर अस्तित्व जोगाउँदै आएको इतिहास छ, तर आन्तरिक व्यवस्थापनमा भने बारम्बार चुकेको छ

नेपालको आधुनिक रणनीतिक इतिहासलाई दुई महत्वपूर्ण कृतिको परिपूरक दृष्टिकोणबाट बुझ्न सकिन्छ, लियो ई रोजको ‘नेपाल : स्ट्राटेजी फर सरभाइभल’ र लुडविग एफ स्टिलरको ‘द साइलेन्ट क्राइ : द पिपुल अफ नेपाल, १८१६–१८३९’ फरक ऐतिहासिक कालखण्ड र दृष्टिकोणबाट लेखिएका पुस्तक हुन् । यी दुवै कृतिले नेपालको राज्य सञ्चालन र रणनीतिक व्यवहारसम्बन्धी एक मूल विशेषता उजागर गर्छन् । त्यो हो, नेपालले बाह्य शक्तिको असमानतासँग अनुकूलन गर्दै आफ्नो अस्तित्व जोगाउँदै आएको छ, तर आन्तरिक राजनीतिक व्यवस्थालाई त्यही गतिमा रूपान्तरण गर्न भने कठिनाइ भोगेको छ ।

रोजले नेपालको अस्तित्व र सुरक्षाको बाह्य आयामबारे व्याख्या गर्छन् भने स्टिलरले यसको आन्तरिक आयाम उजागर गर्छन् । यी दुवैलाई सँगै राखेर दाँज्दा अहिलेको नेपालका लागि महत्वपूर्ण रणनीतिक चेतावनी प्राप्त हुन्छ ।

रोज र ‘कमजोरको कूटनीति’
लियो ई रोजको ‘स्ट्राटेजी फर सरभाइभल’ले आफूभन्दा धेरै शक्तिशाली राज्यका बिचमा अवस्थित सानो राज्य नेपालले आफ्नो अस्तित्व सैन्य वा आर्थिक समानताका आधारमा नभई कूटनीतिक कौशल, रणनीतिक लचकता र प्रतिस्पर्धी शक्तिबिच उपलब्ध रणनीतिक स्थानको उपयोग गरेर जोगाउँदै आएको व्याख्या गरेका छन् ।

त्यसैले नेपालको भूगोल एकसाथ सबैभन्दा ठुलो जोखिम र रणनीतिक सम्पत्ति हो । परम्परागत नेपाली दृष्टिकोणले ठुला शक्तिलाई पराजित गर्न जोड दिँदैन, साथमा कुनै एक शक्तिलाई नेपालमाथि अत्यधिक प्रभाव स्थापित गर्न पनि नदिने जोड रहन्छ । यसलाई ‘कमजोरको कूटनीति’ भन्न सकिन्छ । यहाँ ‘कमजोर’को अर्थ असहाय होइन । खासमा सानो राज्यले कसरी रणनीतिक बुद्धिमत्ता, भूगोल, कूटनीति, समयको सही उपयोग र संस्थागत अनुशासनमार्फत भौतिक कमजोरीको क्षतिपूर्ति गर्न सक्छ भनेर नेपालको इतिहासले नै देखाउँछ ।

स्टिलर र अस्तित्वको आन्तरिक आयाम
स्टिलरको ‘द साइलेन्ट क्राई’ फरक ऐतिहासिक समस्याबाट सुरु हुन्छ । ‘एंग्लो–नेपाल युद्ध (अंग्रेज–नेपाल युद्ध)’ र सन् १८१६ को सुगौली सन्धिपछि नेपालको रणनीतिक वातावरण मौलिक रूपमा बदलियो । त्यसअघि विस्तारमा केन्द्रित नेपाल अब राज्यलाई संरक्षण गर्नुपर्ने अवस्थामा पुग्यो । त्यसले सैन्य महत्वाकांक्षा कूटनीतिक व्यवस्थापनमा मोडिनुपर्ने भयो ।

तर, आन्तरिक राजनीतिक प्रतिस्पर्धा, अभिजात वर्गबिचको संघर्ष, प्रशासनिक दबाब र काठमाडौंको राजनीतिक केन्द्र तथा आमजनताबिचको दूरीले आवश्यक समायोजनलाई जटिल बनायो । यहीँ रोजको विश्लेषणसँग स्टिलरको दृष्टिकोण जोडिन्छ । रोजले तत्कालीन नेपाली शासकले बाह्य वातावरण कसरी व्यवस्थापन गरे भन्ने देखाउँछन् भने स्टिलरले त्यही वातावरणमा आन्तरिक राजनीतिक प्रणाली मिलाउन कति कठिन भयो भन्ने देखाउँछन् । यी दुईलाई सँगै राखेर हेर्दा बाह्य सम्बन्धमा सफल भएका पनि आन्तरिक व्यवस्थानमा कमजोर हुन सक्छन्, र अन्ततः त्यही कमजोरीले बाह्य रणनीतिलाई कमजोर बनाउन सक्ने इंगित गर्छ ।

सुगौली सन्धिको पाठ
सुगौली सन्धिलाई केवल भूभाग गुमेको ऐतिहासिक सम्झौताका रूपमा मात्र बुझ्नु हुँदैन । यो नेपालको इतिहासमा रणनीतिक मोड थियो । नेपालले आफ्नो विस्तारको नीति त्यागेर राज्य जोगाउने पर्ने आवश्यकता आएपछि सैन्य महत्वाकांक्षाबाट कूटनीतिक व्यवस्थापनतर्फ केन्द्रित भएको अवस्था थियो त्यो । त्यस सन्धिबारे एउटा प्रश्न उठ्छ, के नेपालको राजनीतिक प्रणालीले यो नयाँ वास्तविकतासँग आफूलाई अनुकूलित गर्न सक्यो ? र, समकालीन नेपालका लागि त्यसको पाठ स्पष्ट छ : बाह्य शक्ति–सन्तुलनले आन्तरिक रणनीतिक कमजोरीलाई अनन्तकालसम्म क्षतिपूर्ति गर्न सक्दैन ।

नेपाल २०२६ : नयाँ ‘हाई वायर’ रणनीति 
आज नेपालले विगतभन्दा जटिल रणनीतिक माहोलको सामना गरिरहेको छ । भारत–चीन समीकरणमा अमेरिकाको बढ्दो संलग्नता र व्यापक इन्डो–प्यासिफिक प्रतिस्पर्धाले तेस्रो रणनीतिक आयाम थपेको छ । भारत नेपालको अपरिहार्य आर्थिक र भौगोलिक साझेदार हो । चीन बढ्दो आर्थिक, पूर्वाधारगत र रणनीतिक साझेदार हो । अमेरिका तथा अन्य बाह्य शक्ति विकास, प्रविधि, कनेक्टिभिटी र व्यापक अमेरिका–चीन प्रतिस्पर्धामार्फत नेपालमा चासो राखिरहेका छन् । नेपाल कुनै एक रणनीतिक ध्रुवको अंश बन्न सक्दैन । त्यसैले, नेपालको अवस्थालाई ‘हाई–वायर रणनीति’का रूपमा बुझ्न सकिन्छ । यसअन्तर्गत सबैसँग संलग्न हुने, कसैमाथि पनि अत्यधिक निर्भर नहुने र रणनीतिक स्वायत्तता कायम गर्दै राष्ट्रिय लाभ अधिकतम बनाउने नीति लिनुपर्छ । सबैसँग सम्बन्ध रार्ख्दै गर्दा आवश्यकताअनुसार छनोटात्मक सहकार्य गर्ने र निर्णय भने आफैँले लिने गर्नुपर्छ । यसमा रणनीतिक कमजोरीका लागि लगभग कुनै स्थान हुनेछैन ।

बफरबाट ‘डुअल–की ट्रान्जिट लक’तर्फ 
नेपालले आफूलाई भारत र चीनबिचको ‘बफर’का रूपमा मात्र हेर्न छोड्नुपर्छ । बरु क्षेत्रीय कनेक्टिभिटी, ऊर्जा, व्यापार र पूर्वाधारका प्रवाहमा नेपालको सहमति र सहभागिता अपरिहार्य हुने ‘डुअल की ट्रान्जिट लक’का रूपमा आफूलाई विकास गर्नुपर्छ । बफरले प्रतिस्पर्धा जनाउँछ भने पुलले सम्पर्क र कनेक्टिभिटी । ‘डुअल की ट्रान्जिट’ राज्य रणनीतिक साझेदार हुन्छ ।

यसले नेपालको भूगोललाई स्थायी जोखिमबाट रणनीतिक सौदाबाजीको शक्तिमा रूपान्तरण गर्न सक्छ । तर, त्यसका लागि पूर्वाधार, आर्थिक क्षमता, राजनीतिक स्थिरता र विश्वसनीय सुरक्षा संस्था आवश्यक छन् । भूगोलले अवसर सिर्जना गर्छ, राज्यको क्षमताले त्यसलाई शक्तिमा रूपान्तरण गर्छ ।

स्टिलरको सबैभन्दा महत्वपूर्ण चेतावनी यहीँ आउँछ । बाह्य शक्तिले प्रभाव जमाउन सधैँ प्रत्यक्ष प्रवेश गर्नुपर्दैन । आन्तरिक राजनीतिक विभाजनले बाह्य स्वार्थलाई देशको राजनीतिमा प्रवेश गर्ने बाटो खोलिदिन सक्छ । हरेक विदेशी सम्बन्धलाई हस्तक्षेप ठान्नु वा अन्य देशका सरकारसँग सहकार्य गर्ने हरेक घरेलु राजनीतिक शक्तिलाई अविश्वास गर्नु गलत हुन्छ । समस्या त्यतिवेला हुन्छ, जब घरेलु गुटगत प्रतिस्पर्धा नै बाह्य संरक्षण वा समर्थनका आधारमा चल्ने गर्छ ।

यसलाई होमरको इलियाडमा उल्लेख भएजस्तै ‘आन्तरिक ट्रोजन हर्स’ भन्न सकिन्छ । त्यसैले, राष्ट्रिय सुरक्षाको पहिलो रेखा सीमा मात्र नभई देशभित्रको संस्थागत एकता पनि हुन्छ ।

रोजको रणनीतिक ढाँचा आज पनि सान्दर्भिक छ । तर, नेपालको परिस्थिति बदलिएको छ । ‘कमजोरको कूटनीति’ त्यस्तो देशका लागि उपयुक्त थियो, जसको प्राथमिक उद्देश्य अस्तित्व जोगाउनु थियो । आज नेपालको चुनौती अस्तित्व जोगाउनेबाट अगाडि बढेर रणनीतिक सामर्थ्य हासिल गर्नु बनेको छ । यसको अर्थ परम्परागत रणनीतिक बुद्धिमत्ता त्याग्नु होइन, त्यसलाई आधुनिक राज्यका आवश्यक क्षमताले समर्थन गर्नु हो । यसका लागि निम्न काम गर्नुपर्ने हुन्छ ।

रणनीतिक शक्ति सन्तुलन कायम
नेपालले भारत, चीन, अमेरिका र अन्य प्रमुख शक्तिसँगको सम्बन्धमा सन्तुलन कायम राख्नुपर्छ, ताकि कुनै एक बाह्य शक्तिले नेपालको रणनीतिक निर्णयमा असमान प्रभाव स्थापित गर्न नसकोस् । शक्ति सन्तुलन विचारधारा होइन, राष्ट्रिय हितमा आधारित हुनुपर्छ ।

कूटनीतिक लचकता : क्षेत्रीय र विश्वव्यापी परिस्थितिमा परिवर्तन हुँदा नेपालले आफ्नो कूटनीतिक अवस्थिति समायोजन गर्न सक्नुपर्छ । यस्तो लचकताले मूल राष्ट्रिय हितमा सम्झौता नगरी काठमाडौंलाई आवश्यक रणनीतिक ‘म्यानुभरिङ स्पेस (चाल चाल्न सक्ने स्थान)’ प्रदान गर्छ ।

भारतसँग सावधानीपूर्वक सम्बन्ध व्यवस्थापन : भूगोल, आर्थिक अन्तरनिर्भरता, खुला सीमा र जनस्तरीय सम्बन्धका कारण भारत नेपालको रणनीतिक वातावरणको केन्द्रमा रहनेछ । उद्देश्य न त निर्भरता हुनुपर्छ, न दूरी, बरु आपसी सम्मान, पारस्परिकता, आर्थिक अन्तरनिर्भरता र स्पष्ट राष्ट्रिय हितमा आधारित परिपक्व सम्बन्ध हुनुपर्छ ।

चीनसँग रचनात्मक संलग्नता : नेपालले पूर्वाधार, कनेक्टिभिटी, व्यापार, पर्यटन र लगानीमा चीनसँग सकारात्मक रूपमा संलग्न हुनुपर्छ । तर, ठुला परियोजनाका रणनीतिक र आर्थिक प्रभाव मूल्यांकन गर्दै यस्तो संलग्नताले नेपालको विकल्प विस्तार गर्नुपर्छ, नयाँ अत्यधिक निर्भरता सिर्जना गर्नु हुँदैन ।

टाढाका शक्तिसँग छनोटात्मक संलग्नता : अमेरिका, जापान, युरोपेली देशहरू, अस्ट्रेलिया, दक्षिण कोरिया तथा अन्य मध्यम र प्रमुख शक्तिसँग सम्बन्ध भूराजनीतिक ध्रुवका आधारमा होइन, विशिष्ट राष्ट्रिय प्राथमिकताका आधारमा अघि बढाउनुपर्छ । प्रविधि, लगानी, बजार, ज्ञान र कूटनीतिक अवसर प्राप्त गर्नु यसको उद्देश्य हुनुपर्छ ।

सार्वभौमसत्ताको संरक्षण : एक्काइसौँ शताब्दीमा सार्वभौमसत्ता केवल भूअखण्डताको संरक्षण होइन, राजनीतिक, आर्थिक, प्राविधिक र सुरक्षा निर्णय स्वतन्त्र रूपमा गर्न सक्ने क्षमता पनि हो । बाह्य साझेदारीले नेपालको स्वतन्त्र निर्णय क्षमतालाई कमजोर होइन, बलियो बनाउनुपर्छ ।

स्थायी ध्रुवीकरणबाट बच्ने : नेपालले कुनै प्रमुख शक्ति वा गठबन्धनसँग स्थायी रूपमा आबद्ध हुने नीति अपनाउनु हुँदैन । नेपालको भूराजनीतिले स्थिर निष्ठाभन्दा रणनीतिक लचकता माग गर्छ । तथापि, यसको अर्थ हरेक मुद्दामा समान दूरी होइन, राष्ट्रिय हितअनुकूल विषयमा छनोटात्मक सहकार्य गर्ने र आवश्यक पर्दा असहमति जनाउने वा वैकल्पिक साझेदारी खोज्ने स्वतन्त्रता कायम राख्नु हो । स्थायी आबद्धताले रणनीतिक विकल्प सीमित गर्छ, लचिलो आबद्धताले रणनीतिक विकल्प विस्तार गर्छ । यसको मूल उद्देश्य रणनीतिक स्वायत्तता हो, रणनीतिक एकांकीपन होइन ।

तर, यसका लागि अब नयाँ राष्ट्रिय क्षमताको बलियो आधार आवश्यक छ । परम्परागत रणनीतिक उपायलाई अब नयाँ राष्ट्रिय क्षमताले समर्थन गर्नुपर्छ । तिनमा बाह्य झट्का सहन सक्ने अर्थतन्त्र, ऊर्जा सुरक्षा, प्राविधिक तथा साइबर क्षमतादेखि व्यावसायिक कूटनीति क्षमता विकास गर्नुपर्छ । त्यसबाहेक रणनीतिक सामर्थ्य विकास गर्न घटनापछि प्रतिक्रिया दिनु मात्र होइन, घटनाअघि जोखिम पहिचान गर्नु हो ।

नेपालको तीन तहमा रूपान्तरण गर्नुपर्ने देखिन्छ : बाह्य आयाममा रणनीतिक स्वायत्तता हासिल गरेर, आन्तरिक आयाममा राष्ट्रिय रणनीतिक आत्मविश्वास विकास गरेर आर्थिक आयाममा अहिलेको निर्भरताबाट अन्तरनिर्भरतातर्फ जानुपर्छ । 

रोज र स्टिलरबाट प्राप्त हुने सबैभन्दा महत्वपूर्ण पाठ हो : ‘नेपाल इतिहासको कठिन समयमा पनि ठुला शक्तिहरूका बिचमा बाँच्न सक्षम भयो ।’ अबको चुनौती भनेको बाह्य रूपमा जति सक्षम रूपमा बाँच्न सफल भएको छ, त्यति नै सक्षम रूपमा आफूलाई आन्तरिक रूपमा रूपान्तरण गर्नु हो । नेपालको अर्को यात्रा केवल अस्तित्व जोगाउने यात्रा हुनुहुँदैन, यो रणनीतिक सामर्थ्य निर्माण गर्ने यात्रा हुनुपर्छ ।

(बस्न्यात नेपाली सेनाका अवकाशप्राप्त उपरथी तथा रणनीतिक मामिलाका विश्लेषक हुन् । उनी थाइल्यान्डको राङ्सित विश्वविद्यालयसँग आबद्ध छन् ।)

सुझावित समाचार