यदि कसैले मलाई तिमी आफ्ना बच्चाका लागि के छोड्न चाहन्छौ भनेर सोध्यो भने मेरो जवाफ हुनेछ, ‘प्राकृतिक रूपमा हुर्केका स्याउका रुखहरू ।’ मेरो मृत्युपछि मेरो स्याउ–खेतको हेरचाह गर्नेछौँ भन्ने मेरा तीन छोरीहरूलाई मैले ममतापूर्वक पालनपोषण र हेरचाह गरेर हुर्काएको छु । म तिनीहरूलाई मेरो ८०० स्याउका रुख छाडेर जान चाहन्छु । हामी सबैलाई यो भनाइ थाहा छ, ‘आफ्ना सन्तानका लागि चिरिच्याट्ट परेको खेत किनिदिने होइन, न त उनीहरूका लागि सर्वगुणसम्पन्न खेत नै छाडेर जाने हो । यदि आफ्ना छोराछोरीका लागि यस्तो खेत छाडेर जाने हो भने यसले उनीहरूमा खुसीको सट्टा विपत्ति ल्याउन सक्छ ।’ यो थाहा हुँदाहुँदै पनि किन तिमी तिनीहरूलाई स्याउको खेत छाडेर जाँदै छौ भनेर यदि तपाईंले मलाई सोध्नुभयो भने सायद मेरो जवाफ हुनेछ, ‘तिनीहरूले भविष्यमा मेरा बहुमूल्य स्याउका रुख काट्न सकून् ।’
तपाईंले स्याउको रुखलाई जति नै माया र हेरचाह गरे पनि तपाईं प्रकृतिको नियमलाई उल्लंघन गर्न सक्नुहुन्न । ती रुखहरू अन्ततः आफ्नो आयु पुगेर मर्ने निश्चित छ, किनभने रुखहरूका बिचमा कुनै खाली ठाउँ हुनेछैन । अर्को शब्दमा भन्नुपर्दा यदि खाली ठाउँ भएन भने हावाको आवतजावत कमजोर हुनेछ । सूर्यको प्रकाश र हावाको सञ्चार कमजोर हुँदै जान्छ । यदि तपाईंले यस्तो गर्नुभयो भने अन्ततः रुखहरू बिरामी हुनेछन् र मर्नेछन् । यदि नयाँ रुख रोप्नु छ भने सीमित क्षेत्रफल भएको खेतमा पहिले नै त्यहाँ भएका पुराना रुखलाई खेतबाट हटाउने चेष्टा गर्नुपर्छ । मेरा छोरीहरूले यी दुवै समस्या, मेरा प्यारा स्याउका रुख काटेर मात्र समाधान गर्न सक्नेछन् ।
मलाई थाहा छैन कि यो १० वर्षपछि हुनेछ वा २० वर्षपछि । तर, मेरा छोरीहरूको मनमा ‘मेरो जिन्दगीको महत्वपूर्ण खजाना’ सरहका स्याउका रुखहरू काट्दा कस्ता विचारहरू खेल्नेछन्, त्यो उनीहरूले मात्र महसुस गर्न सक्छन् होला । त्यतिन्जेलसम्ममा प्रकृतिसम्मत खेतीपाती विश्वभर फैलिसकेको हुनेछ भन्ने मेरो आशा छ । हाल जापान विश्वमा कीटनाशक र झारनाशक विषादीको सबैभन्दा ठुलो प्रयोगकर्ता हो ।
यसले सधैँ धेरै प्रभावकारी र उत्पादकत्व बढाउने उपायहरूको खोजी गरिरहेको हुन्छ । नतिजास्वरूप आयात गर्ने देशको क्वारेन्टाइन मापदण्ड पूरा नगरेको र अत्यधिक विषादी अवशेष पाइएको कारणले केही कृषि उपज फिर्ता भइरहेका छन् । जापानमा बनेका घरेलु विद्युतीय उपकरण, खासगरी जापानी फेसनहरू संसारभर जसरी प्रसिद्धि कमाउन सफल भएका छन्, जापानमा जन्मेको प्रकृतिसम्मत खेतीपातीले पनि विश्वव्यापी प्रशंसा कमाउने समय छिटै नै आउनेछ भन्ने मलाई विश्वास छ । यो सागसब्जी, तरकारी र चामलमा पनि उत्तिकै लागू हुन्छ ।
अहिले संसारभरि नै चामल खाइन्छ, तर मल वा कीटनाशक विषादीविना उत्पादन गर्ने देश भने धेरै कम छन् । हालको जस्तै अवस्था रहेमा भविष्यमा दक्षिणपूर्वी एसियाका प्रमुख धान–उत्पादक क्षेत्र र देशहरूमा जापानी कीटनाशक र मल कम्पनीलाई मार्गदर्शनका लागि पठाइनेछ र प्रायः धान एउटै कृषि–विधिमा उत्पादन गरिनेछ । हामी त्यो चामल सारा संसारलाई खुवाउनेछौँ । तथापि, म यस्तो संसारको कामना गर्दिन । यसको सट्टामा हामी साझेदार कम्पनीहरूको सहयोगमा प्राकृतिक रूपमा उत्पादन हुने फलफूलजस्ता कृषि उपजहरूको निर्यात उद्योगहरू विकास गर्नेछौँ ।
मलाई लाग्दैन कि यो केवल एउटा दिवास्वप्न हो । म धेरैपटक असफल भएको मान्छे हुँ, तर अनगिन्ती असफलताको बदलामा मैले अनगिन्ती उत्तर पाएको छु । असफलताविना कुनै नयाँ कदमको सुरुवात हुँदैन । यदि तपाईंले एक–दुईपटकको असफलतापछि हार मान्नुभयो भने तपाईंले कहिल्यै आफ्नो सपना साकार गर्न सक्नुहुनेछैन । मलाई थाहा छैन, मेरो बाँकी जीवनमा कति समयसम्म यो काममा दृढ रहन सक्नेछु, तर म अन्त्यसम्म यसैमा लागिरहने सोचमा छु । मलाई आशा छ कि सबैले प्रकृतिसम्मत खेतीपातीमा रुचि देखाउनेछन्, जसमा मल, कीटनाशक वा झारनाशक विषादी प्रयोग हुँदैन । र, म विश्वस्त छु, उपभोक्ताहरू पूर्ण रूपमा हाम्रो साथमा हुनेछन् । हामीलाई छान्नुहोस् । हामीले उत्पादन गरेको सेवन गर्नुहोस् ।
जोडदार रूपमा हामीलाई साथ दिनुहोस् । बजारको माग बढ्दै जाँदा प्रकृतिसम्मत खेतीतर्फको झुकाव पनि अझ तीव्र हुनेछ । अहिलेसम्म हामीले उत्पादनलाई प्राथमिकता दिएर आयौँ । फलस्वरूप हामीले आफ्नै स्वार्थ र सुविधाका लागि अति धेरै महत्वपूर्ण कुराको बेवास्ता गरी प्रकृतिलाई दूषित बनायौँ । अबको समय यो पृथ्वीलाई मर्मत गर्ने समय हो । किनकि, पृथ्वीबाट हामीले धेरै नै लिइसक्यौँ । अब यो जापान र यसका किसानले यसलाई प्राकृतिक स्वरूपमा फर्काउनु क्षतिपूर्तिस्वरूप गर्न सक्ने न्यूनतम कार्य हो । प्रकृतिसम्मत खेतीपातीलाई सामान्यीकरण गरी हाम्रो हृदय परिवर्तन गरेर भावी पुस्तालाई हस्तान्तरण गर्ने समय आएको छ । एक्काइसौँ शताब्दीको कृषि पुनर्जागरण जापानबाट सुरु हुनेछ । विषादी र मलको प्रयोग नगर्ने कृषि नै सबैभन्दा पुरानो र सबैभन्दा उन्नत कृषि पद्धति हो । प्रकृतिसम्मत खेतीमार्फत आउनुहोस्, हामी सबै मिलेर नयाँ भविष्य निर्माण गरौँ ।
(डा. कृष्णप्रसाद पौडेलद्वारा सम्पादित जापानी किसान किमुराको पुस्तक ‘पृथ्वी बचाउने खेतीपाती’ आइतबार सार्वजनिक हुँदै छ ।)