- देशको शासन प्रणाली कसरी चल्छ र त्यसलाई कसरी सञ्चालन वा हेरफेर गरिन्छ भन्नेबारे युवाले राम्ररी बुझेका छन्
युवाहरू आफ्नो आक्रोश व्यक्त गर्ने मामिलामा निकै नवीन शैली अपनाउँछन् । अर्कातर्फ, सत्ताधारी वर्गले यो बुझ्न सकिरहेको छैन कि विद्यमान शक्ति संरचनाले अब युवाको आकांक्षा पूरा गर्न सक्दैन । यस भनाइको सन्दर्भ दिल्लीको कक्रोच आन्दोलनसँग या आजाद जम्मु–कास्मिरका हिंस्रक प्रदर्शन वा राज्य प्रणालीसम्बन्धी संघीय गृहमन्त्रीको हालैको उत्तेजक बयानसँग जोडिएको या सम्बन्धित छैन । बरु, यसको सन्दर्भ बलुचिस्तानको खुजदारका युवाले गरेको त्यो शान्तपूर्ण प्रदर्शनसँग छ, जहाँ उनीहरू आफ्ना माग पूरा गराउन सफल भए ।
युवाको माग के थियो ? स्थानीय पुस्तकालय पुनः सञ्चालनमा ल्याउनु, जहाँ कुनै वेला विद्यार्थीले अध्ययन र निजामती सेवाको परीक्षा तयारी गर्थे । उक्त पुस्तकालय स्थानीय प्रशासनले बन्द गराएको थियो । सम्भवतः माथिल्लो निकायको सहमतिमै बन्द गरिएको थियो, जसले पुस्तक र पुस्तकालयलाई असहमति वा विरोधको स्रोतका रूपमा हेर्छन् । संकीर्ण सोच र औपनिवेशिक शासकजस्तै शासन गर्न सिकाइएका कर्मचारीतन्त्रलाई पनि यसमा दोष दिन सकिन्छ । खुजदारमा पनि तिनले युवाको पुस्तक र साहित्यप्रतिको झुकावलाई सुरक्षाका लागि सम्भावित खतराका रूपमा हेरेको हुन सक्छ । विडम्बना त के छ भने धेरै छात्रासहित अधिकांश विद्यार्थीले परीक्षाको तयारीका लागि सो पुस्तकालयलाई सुरक्षित र शान्त ठाउँका रूपमा उपयोग गरिरहेका थिए । उनीहरूमध्ये धेरैजसो निजामती कर्मचारी बन्ने आकांक्षा राख्थे, तर कर्मचारीतन्त्रले नै पुस्तकालय बन्द गराएर उनीहरूको भविष्यको ढोका बन्द गरिदियो । पुस्तकालय बन्द हुनुका पछाडि जुनसुकै कारण भए पनि युवाले विरोधका लागि एक अनौठो र शान्तिपूर्ण तरिका अपनाए । उनीहरूले पुस्तकालयबाहिर धर्ना दिए र फुटपाथ तथा छेउको सडकलाई खुला अध्ययन स्थलमा परिणत गरे । उनीहरूले कुनै नाराबाजी गरेनन् वा प्रहरी तथा स्थानीय प्रशासनसँग मुठभेड गर्ने प्रयास पनि गरेनन् । उनीहरू केवल चुपचाप बसेर अध्ययन गरिरहे । अन्ततः बलुचिस्तानका मुख्यमन्त्रीले हस्तक्षेप गरे र पुस्तकालयका ढोका पुनः खुले ।
यो शान्तिपूर्ण विरोध प्रदर्शन सशस्त्र विद्रोह चरम अवस्थामा रहेको द्वन्द्वग्रस्त प्रान्तमा भएको हो । राज्यले हिंसात्मक गतिविधिमा संलग्नमाथि कडा कारबाही गरेको छ । दुःखको कुरा, शान्तिपूर्ण राजनीतिक तथा नागरिक अधिकारका आन्दोलनमा सहभागी हुनेहरूलाई पनि निसानामा पारिन्छ । खुजदारको आफ्नै जटिल स्थानीय, जातीय र राजनीतिक परिवेश छ । त्यहाँका ‘सरदार’हरूले स्थानीय जनताको जीवन कष्टकर बनाएका छन् । तैपनि, युवाले विरोधको उपाय निकाले ।
खुजदारका युवा र भारतमा सिजेपीले गरेका विरोध प्रदर्शन शिक्षासँग सम्बन्धित थिए र ती जीवनमा निष्पक्ष अवसर प्राप्त गर्ने सोचबाट प्रेरित थिए । युवाका लागि समान अवसर र निष्पक्ष प्रणाली अपरिहार्य हुन्छ भन्ने तथ्यलाई सत्ता संरचनाले बिर्सिएको छ । युवाहरू राजनीतिक रूपमा अनभिज्ञ छैनन् । प्रणाली कसरी चल्छ र यसलाई कसरी सञ्चालन वा हेरफेर गरिन्छ भन्ने कुरा उनीहरूले बुझेका छन् ।
यसलाई ‘जेन–जी’ भनियोस् वा ‘अल्फा–जी’, यो भिन्न दृष्टिकोण बोकेको एउटा फरक पुस्ता हो । विशेषगरी, यस पुस्ताका सुविधासम्पन्न युवामाझ उत्पादनका नयाँ तरिका अपनाउने र आफ्नो वर्गीय प्रभाव विस्तार गर्ने प्रवृत्ति प्रमुख रूपमा देखिएको छ । उनीहरूका पुर्खाले सत्ता संरचनाभित्रका सम्बन्धका माध्यमबाट आफ्नो सुरक्षाका लागि बलियो आधार तयार पारेका थिए । तुलनात्मक रूपमा कम सुविधा प्राप्त युवा भने निजामती सेवा र उद्योगधन्दाभन्दा कर्पोरेट तथा वित्तीय क्षेत्रप्रति बढी आकर्षित भइरहेका छन् ।
जब कसैले उनीहरूको सपनाको बाटो छेक्ने प्रयास गर्छ, उनीहरू त्यसको प्रतिरोध गर्छन् । पुराना पुस्ताका मानिस नयाँ पुस्तालाई ‘केही नजान्ने’ भन्दै परम्परागत शैलीमा प्रतिक्रिया दिन्छन् । नेपाल र बंगलादेशजस्ता देशमा (जहाँ युवाले राजनीतिक परिवर्तन ल्याएका छन्) त्यहाँका स्थापित प्रणालीका वरिष्ठ व्यक्तिहरू तिनलाई मन पराउँदैनन् र तिनको दृष्टिकोणलाई त्रुटिपूर्ण ठान्छन् ।
पाकिस्तानमा, विशेषगरी युवाका लागि एउटा संकट सिर्जना भइरहेको छ । राजनीतिक क्षेत्रमा एउटा कठोर परिवर्तन देखा परिरहेको छ, जसमा पुराना पुस्ताका राजनीतिज्ञले आफ्नो विरासत, शक्ति र मूल्य–मान्यता अर्को पुस्तालाई हस्तान्तरण गरिरहेका छन् । तर, यो प्रक्रिया वैध संवैधानिक वा राजनीतिक माध्यमबाट नभई सबैभन्दा शक्तिशाली व्यक्तिसँग गरिने शंकास्पद सम्झौतामार्फत भइरहेको छ । यो प्रक्रिया हरेक राजनीतिक दलमा चलिरहेको छ र यो सत्ता हस्तान्तरणको क्रम डरलाग्दो छ, किनभने जसलाई सत्ता सुम्पिइँदै छ, राजनीतिक प्रक्रियासँग उनीहरूको सम्बन्ध निकै कम छ । उनीहरू आफूलाई शासन गर्नकै लागि चुनिएको ठान्छन् र सत्ता टिकाइराख्न जुनसुकै हदसम्म जान तयार हुन्छन् । तसर्थ, देशका युवासँग वर्तमान राजनीतिक व्यवस्थामा गर्व गर्ने वा प्रेरणा लिने कुनै आधार छैन ।
सत्तामा रहेकाहरू आफ्ना कार्यशैलीको समीक्षा गर्न इच्छुक छैनन् । बरु, उनीहरू प्रणालीलाई नियन्त्रण गर्ने अधिनायकवादी र वर्चस्ववादी शैलीमा विश्वास गर्छन्, जसमा शासितले शासकको आदेश मान्ने र उनीहरूले तोकेबमोजिम व्यवहार गर्ने अपेक्षा गरिन्छ । नागरिकताको अवधारणा धेरै अघि नै कमजोर भइसकेको छ र शक्तिहीनलाई केवल ‘प्रजा’ वा ‘शासित’ का रूपमा व्यवहार गरिन्छ ।
(राना सुरक्षा विश्लेषक हुन्)
पाकिस्तानी समाचार संस्था डनबाट