शान्त किशोर र उनको ‘जन स्वराज पार्टी’ले भारतीय जनता पार्टी (भाजपा) बाट बिहारको बाँकीपुर सिट ‘खोसेर’ राज्यमा एक प्रकारको उलटफेर सिर्जना गरे । रोचक कुरा के छ भने भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले प्रतिनिधित्व गर्दै आएको यो क्षेत्र उक्त पार्टीका लागि निकै सहज र सुरक्षित देखिन्थ्यो । तर, अब परिस्थित त्यो रहेन । प्रायः उपनिर्वाचनमा पहिले विजय हुने पार्टीकै उम्मेदवारको जित सम्भावना ८० प्रतिशत रहने तथ्यलाई हेर्दा, किशोरको जन स्वराज पार्टी (जेएसपी) का लागि यो एक ठुलो उपलब्धि हो । किनकि, गत वर्षको विधानसभा चुनावमा यो पार्टीले खातासमेत खोल्न सकेको थिएन । सो निर्वाचनमा खासै उल्लेख्य मत पनि पाएको थिएन ।
बाँकीपुर उपनिर्वाचनको नतिजाले मात्र आठ महिनाको अन्तरालमा जनमतमा ठुलो परिवर्तन देखाएको छ । सन् २०२५ मा भाजपाले ५१ हजार ९३६ मतको भारी अन्तरले यो निर्वाचन क्षेत्रमा जितलाई निरन्तरता दिएको थियो । तर, यसपटक भने पार्टी १९ हजारभन्दा बढी मतान्तरले पराजित भएको छ । तीन दशकभन्दा लामो समयदेखि आफ्नो कब्जामा रहेको क्षेत्रमा बहालवाला दलका लागि ७१ हजार मतको यो ठुलो अन्तरको फेरबदल निकै महत्वपूर्ण छ । यो मतले जेएसपीका लागि ठुलो अर्थ पनि राख्छ ।
सन् २०२५ को विधानसभा निर्वाचनमा बाँकीपुरमा भाजपा र आरजेडीबिच सीधा प्रतिस्पर्धा भएको थियो । त्यतिवेला भाजपाले ६२.७ प्रतिशत, आरजेडीले २९.६ प्रतिशत र जन स्वराज पार्टीले ४.९ प्रतिशत मत प्राप्त गरेका थिए । एक वर्षपछि सन् २०२६ मा भएको उपनिर्वाचनमा भने यो नतिजा उल्टियो । जेएसपीले कुल मतको ४९.२ प्रतिशत हिस्सा हासिल ग¥यो । भाजपाको मत घटेर ३४.४ प्रतिशतमा सीमित भयो भने आरजेडीको मत खुम्चिएर केबल ११ प्रतिशतमा झ¥यो । अन्य उम्मेदवारको मतमा भने खासै परिवर्तन देखिएन ।
सरल शब्दमा भन्नुपर्दा भाजपा र आरजेडीको मत क्रमशः २८ र १९ प्रतिशतले घट्यो भने जेएसपीले करिब ४४ प्रतिशत बिन्दुले मत बढायो । उपनिर्वाचनमा देखिएको यति ठुलो मतान्तरको फेरबदलले केवल ‘सत्ताविरोधी लहर’ वा अनिर्णित मतदाताको मत तान्ने कुरालाई मात्र संकेत गर्दैन । यसको अर्थ जेएसपीले दुई प्रमुख दलको विद्यमान जनाधारमा सीधै पकड जमाउन सफल भएको छ भन्ने हो ।
कुनै उपनिर्वाचनमा एउटा नयाँ दलले स्थापित राजनीतिक दलको गढमा पुगेर मुख्य प्रतिस्पर्धीको किल्ला भत्काउनु भनेको सामान्य उतारचढाव होइन । यो त बिहारका मतदाताको एउटा हिस्सा राज्यको राजनीतिमा हाबी रहँदै आएको भाजपा–आरजेडीको ध्रुवीकरणभन्दा पर सोच्न तयार छ भन्ने संकेत हो ।
भाजपाका लागि ठुलो झट्का
उपनिर्वाचनमा जेएसपीले मुख्य विपक्षी दल आरजेडीको मत हिस्सा घटाउने र सन् २०२५ मा आरजेडीतर्फ गएका भाजपाविरोधी मतको ठुलो हिस्सा आफूतिर तान्ने अपेक्षा गरिएको थियो । तर, यसले भाजपाको मतमा पनि ठुलो असर पु¥याउनु आश्चर्यजनक थियो ।
गत वर्षका जेएसपीको मत हिस्सा (४.९ प्रतिशत) लाई आधार मानेर हेर्दा मतको यो फेरबदलको हिसाब लगभग दुरुस्त देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा बाँकीपुरमा जेएसपीको उदय कुनै एउटा असन्तुष्ट समुदायले एउटा दललाई त्यागेको घटना मात्र थिएन, यो राज्यको प्रभावशाली गठबन्धनका दुवै पक्षमाथि गरिएको एकैसाथको प्रहार थियो ।
उपनिर्वाचनमा यति ठुलो स्तरको जनमत परिवर्तनको सामान्यतया एउटा स्पष्ट कारण हुन्छ, कि त सत्ताधारी दलविरुद्धको असन्तुष्टि, कि त विपक्षीको आधार बलियो हुनु । तर, बाँकीपुरमा अलि फरक र दुर्लभ दृश्य देखियो, यहाँ एउटा ‘तेस्रो शक्ति’ले सत्ताधारी दल र उसका मुख्य प्रतिस्पर्धी दुवैको समर्थन एकैसाथ आफूतिर तान्यो । अर्थात्, जन स्वराज पार्टीले प्रमुख पार्टी भाजपा र उसको मुख्य प्रतिस्पर्धी आरजेडीको समर्थन जुटायो । यसले के संकेत गर्छ भने यहाँ जेएसपीको आकर्षण वैचारिक वा सत्ताविरोधी भावनामा आधारित नभई आकांक्षामा केन्द्रित थियो । यो आकर्षण ती मतदाताप्रति लक्षित थियो, जो लामो समयदेखि जरा गाडेर बसेको दुईदलीय संरचनाको विकल्प खोजिरहेका थिए । प्रशान्त किशोरको पार्टीले त्यो विकल्पको फाइदा उठायो ।
जातीय विविधतायुक्त बाँकीपुर
विभिन्न वर्ग वा समूहगत विवरणले यो प्रवृत्तिलाई अझ स्पष्ट पार्छ । जनसांख्यिक बनावटका कारण यो सिट भाजपा गढ मानिन्छ । यहाँ ६५ प्रतिशत मतदाता ‘उच्च जात’ र ‘यादवबाहेकका अन्य पिछडा वर्ग’ का छन्, जसले गर्दा यो क्षेत्र पार्टीका लागि सुरक्षित आधार बनेको छ ।
जेएसपीले हरेक सामाजिक समूह, कायस्थ, भूमिहार, ब्राह्मण, राजपूत, यादव, वैश्य/बनिया, कुर्मी, कुशवाहा, अन्य ओबिसी, मुस्लिम र अनुसूचित जातिमा आफ्नो पकड बलियो बनायो । यस क्रममा कायस्थहरूमा करिब २९ अंकदेखि लिएर मुस्लिम मतदातामा आश्चर्यजनक रूपमा ६७ अंकको जनमत परिवर्तन देखियो ।
यहाँ दुईवटा मुख्य कुरा देखिएका छन् । पहिलो, भाजपाको समर्थनमा आएको गिरावट कुनै एउटा निश्चित जातीय समूहमा मात्र सीमित थिएन । बिहारमा भाजपाको गठबन्धनको मुख्य आधार रहेका उच्च–जातीय समुदाय (जस्तै– भूमिहार, ब्राह्मण, राजपूत र कायस्थ) सबैमा भाजपाको मत २१ देखि ४३ प्रतिशत विन्दुसम्म घट्यो । यसका साथै वैश्य/बनिया र ओबिसी वर्गमा पनि उस्तै वा अझ बढी मात्रामा मत घट्यो । तसर्थ, भाजपाको परम्परागत सहरी र उच्च–जातीय आधारमा देखिएको यो गिरावट कुनै सीमित वा साँघुरो दायराको नभई व्यापक प्रकृतिको थियो । आर्थिक अनियमितता, भ्रष्टाचार, राज्य संयन्त्रमा ढिलासुस्ती, बेरोजगार जस्ता समस्यका कारण भाजपाका पकेट क्षेत्रका मानिस पनि पार्टीप्रति रुष्ट थिए र त्यसको रिस उनीहरूले उपनिर्वाचनमा पोखे ।
भरत तिवारी इन्काउन्टर प्रकरण, युजिसीका मापदण्ड (विश्वविद्यालय अनुदान आयोगले भारतमा उच्च शिक्षाका लागि मापदण्ड निर्धारण गर्छ), प्रश्नपत्र चुहावटविरुद्धका विरोध प्रदर्शन र अन्य विषयप्रतिको असन्तुष्टि तथा राजनीतिक थकानका कारण जेएसपीतर्फ आकर्षित भएका उच्च–जातीय मतदाताले भाजपालाई एउटा चेतावनी दिन चाहेका हुन सक्छन कि सधैँ एउटै पार्टीलाई साथ दिन सम्भव छैन ।
दोस्रो र अझ नाटकीय कुरा के भने आरजेडीलाई सबैभन्दा ठुलो धक्का मुस्लिम मतदाताबाट लाग्यो । तीन दशकदेखि बिहारको राजनीतिमा आरजेडीको आधारस्तम्भ रहँदै आएको ‘मुस्लिम–यादव’ गठबन्धन यस निर्वाचन क्षेत्रमा भत्किएको देखिन्छ, किनकि मुस्लिम मतदाता ठुलो संख्यामा जेएसपीतर्फ आकर्षित भए । सायद उनीहरूले भाजपालाई पराजित गर्नका लागि प्रशान्त किशोरलाई बढी उपयुक्त ठाने ।
प्रश्नपत्र चुहावटविरुद्धका विरोध प्रदर्शन र यस विषयमा युवामाझ बढ्दो असन्तुष्टिले १८–२९ वर्ष उमेर समूहका युवा मतदाताको ठुलो हिस्सालाई (६० प्रतिशत) जेएसपीको पक्षमा गोलबन्द गरेको देखिन्छ । आखिर, प्रशान्त किशोर विगतमा विद्यार्थी आन्दोलनमा संलग्न रहिसकेका व्यक्ति हुन् र उनी सामाजिक सञ्जालमार्फत असन्तुष्ट युवाको यस वर्गलाई आफ्नो पक्षमा आकर्षित गर्न सफल भए ।
कुनै उपनिर्वाचनमा एउटा नयाँ दलले स्थापित राजनीतिक दल गढमा पुगेर मुख्य प्रतिस्पर्धीको किल्ला भत्काउनु भनेको सामान्य उतारचढाव मात्र होइन । यो त बिहारका मतदाताको एउटा हिस्सा बिहारको राजनीतिमा एक पुस्तादेखि हाबी रहँदै आएको भाजपा–आरजेडीको ध्रुवीकरणभन्दा पर सोच्न तयार छ भन्ने संकेत हो ।
भारतीय समाचार संस्था एनडिटिभीबाट