रुजकोटको रोचक इतिहास

बैतडीको उत्तरपूर्वी क्षेत्र पुरचौंडीको झन्डै हजार वर्ष लामो इतिहासको साक्षी हो ‘रुजकोट’

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

उत्तर, पश्चिम र पूर्वी क्षेत्रतर्फ अक्करे भिर । भिरको तल बगिरहेका जमाडी गाड (खोला) र लामुनी गाड । माथिसम्म परेको मैदान । त्यही मैदानको उत्तर–पूर्वी भागमा दरबारको भग्नावशेष । दक्षिणतिरबाट मात्र उक्लिने भिरालो बाटो । यही हो, बैतडीको उत्तरपूर्वी क्षेत्र पुरचौंडीको झन्डै हजार वर्ष लामो इतिहासको साक्षी हो ‘रुजकोट’ ।  

‘रुजकोट’को शासकीय कथाको पृष्ठभूमि सुरु हुन्छ साके १०११ को आसपासबाट । यहाँका तत्कालीन गोकर्ण नामका मांसाहारी राजा, धीरा र धारा नामका दुई भाइबाट उनको वध, त्यसपछि लटै बमको शासन र उनको २७औँ पुस्तासम्मको इतिहास यही रुजकोटआसपास घुमेको छ । अलिखित इतिहासको पानामा दर्ज यो कथा थाहा पाउनुभन्दा अघि यहाँको भूगोल थाहा पाउनु सान्दर्भिक होला । 

बैतडी जिल्लाको उत्तर पूर्वमा दार्चुला र बझाङसँग जोडिएको पुरचौंडी क्षेत्र झन्डै दुई सय वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यहाँ जिल्लाको २० प्रतिशत जनसंख्या छ । पुरचौंडीको पूर्वी क्षेत्रबाट तीनवटा साना नदी (लोलीगाड, बागागाड र कोटिलीगाड) बग्दै आएर जमाडीगाडमा परिणत हुन्छन् । वडा नं. ८ को मध्यभाग भएर लामुनीगाड दक्षिणबाट उत्तरतर्फ बग्दै जमाडीमा मिसिन्छ । जमाडीगाड दोगडाकेदारको पन्ज्युनयाँमा चमेलिया नदीमा मिसिन्छ । चमेलिया दशरथचन्द नगरपालिका–६, को सेरास्थित महाकालीमा मिसिन्छ ।दक्षिणबाट उत्तर बग्ने लामुनीगाड र जमाडीको संगमस्थलमा तीनतर्फ भिरालो भएको डाँडो नै रुजकोट हो । त्यही डाँडोको टुप्पामा ऐतिहासिक ‘रुजकोट’ दरबारका भग्नावशेष छन् ।

रुजकोट जाने बाटो
रुजकोट
जाने बाटो

किंवदन्तीअनुसार साके १०११/०१२ तिर पुरचौंडीमा ‘गोकर्ण जाड’ नामका राजाको शासन थियो । उनको बस्ने ठाउँलाई ‘डिङ्कोट’ भनिन्थ्यो । कतिपयले हालको रुजकोटको नाम नै त्यतिवेला डिङ्कोट भनिने दाबी गर्छन् । तर, रुजकोट विकास समाजका निवर्तमान अध्यक्ष मीनबहादुर बम गोकर्ण राजाको दरबार रुजकोटभन्दा पश्चिमतर्फ न्वाकोट गाउँ नजिकमा रहेको बताउँछन् । यो क्षेत्रका दिग्गजको हस्तलिखित डायरी, पाकाहरूको भनाइ तथा अध्येताहरूले खोतलेका तथ्यले रुजकोट सत्ताका कैयौँ चाखलाग्दा कुरा सतहमा ल्याउने प्रयास गरेका छन् ।  

पुरचौंडीको हाँटमा वि.सं. २००४ सालमै शिक्षाको जग बसाल्दै तीन दशक विद्यालयको नेतृत्व गर्ने व्यक्ति हुन स्व. डम्बरबहादुर बम । उनले कालान्तरमा संसद्सम्मको यात्रा गर्दै आफ्नो प्रभाव छाड्न सफल भए । स्व. बमको हस्तलिखित संस्मरणअनुसार डिङ्कोटमा बसेर शासन गर्ने राजा गोकर्ण र उनको पतनबारे तत्कालीन पण्डित धन्नाकर जोशी परिवारको लिखित दस्ताबेजलाई मुख्य स्रोत मानिएको छ । साके १४१६ को जोशी परिवारको लिखतले थप चार सय वर्षपहिलेका कुरा पनि दस्ताबेजीकरण गरेको दाबी गरिएको छ ।

रुजकोटको शासकीय कथाको पृष्ठभूमि सुरु हुन्छ साके १०११ आसपासबाट । यहाँका तत्कालीन गोकर्ण नामका मांसाहारी राजा, धीरा र धारा नामका दुई भाइबाट उनको वध, त्यसपछि लटै बमको शासन र उनको २७औँ पुस्तासम्मको इतिहास यही रुजकोटआसपास घुमेको छ ।

डिङ्कोटमा बसेर पुरचौंडी क्षेत्रमा शासन गर्ने राजाको प्रसंग कोट्याउँदै उनले लेखेका चारवटा डायरीमध्ये पहिलो डायरीको दोस्रो पृष्ठमा लेखिएको छ, ‘करिब १०११÷१०१२ संवत्को समयमा यस (पुरचौंडी) गर्खामा गोकर्णे नामको राजाले राज गथ्र्याे, त्यो राजाले आफ्नो भोजनमा मासु नभई खाना खाँदैनथ्यो । सिकारी राखेका थिए । तिनीहरू रोज वनमा गएर सधँै मृग, चराहरू मारेर ल्याउँथे । रोज रोज ताजा मासुसँग भोजन गथ्र्यो ।’ एक दिन सिकारीले केही नपाएर जंगलमा मरेको मान्छेको मासु ल्याए । राजालाई त्यो मासु मिठो लाग्यो । त्यही दिनदेखि प्रत्येक दिन मान्छे मारेर मासु खाने चलन चलाएको प्रसंग उनले उल्लेख गरेका छन् ।  

बमद्वारा लेखिएको संस्मरणअनुसार भारतको कासीबाट सल्याल जोशीका मूल बाजे धन्नाकर नामका ब्राह्मण आएर डिङ्कोटे राजाको शक्ति च्युत गर्ने जुक्ति निकालेका थिए । सल्याल जोशी परिवारलाई यो क्षेत्रको प्रसिद्ध ज्योतिषका रूपमा लिइन्छ । उनै धन्नाकरले गोकर्ण राजाका बारेमा अध्ययन गरिसकेपछि पुनः भारत फर्के । भारतको धारानगरी भन्ने ठाउँबाट धारा र धीरा नामका दुई भाइलाई ल्याई नरभक्षी राजा गोकर्णेलाई वध गराउन सफल भए ।  

पुरचौंडी क्षेत्रका बासिन्दा तथा अध्येता डा. सुरेन्द्र बमले गरेको खोज र स्व. बमले लेखेको इतिहास उस्तै–उस्तै छ । जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्रमुख डा. बमका अनुसार उनको आफ्नो विद्यावारिधिका क्रममा पुरचौंडीको इतिहासबारे पनि खोज गरेका थिए । पुरचौंडीका तीनजना ज्येष्ठ नागरिक तथा जानकारले यो क्षेत्रमा राज गर्ने डिङ्कोटे राजाबारे बताएका थिए । सधैँ मासु खानुपर्ने राजाका सिकारीले जंगली जनावर मारेर ल्याउनेदेखि धारा र धीराले उनको वध गरेसम्मको कथा लगभग दुरुस्तै मिल्छ । 

‘एक दिन जंगली जनावर नपाएपछि राजाका सिकारीले मरेको मान्छेको मासु ल्याए । त्यो मासु वन्यजन्तुको भन्दा मिठो लागेको र त्यही दिनबाट हरेक गाउँबाट मान्छे मारेर खान थालियो । सुरुमा गाउँअनुसारको पालो लगाइयो । त्यसपछि घर–घरको पालो ।’ डा. बम आफूले गरेको खोजका क्रममा थाहा पाएको प्रसंग कोट्याउँदै भन्छन्, ‘एक दिन पुरचौंडीको एउटा गाउँमा वृद्धा ब्राह्मणीको नातिको पालो रहेछ । ती वृद्धाले नातिका लागि मिठो खानेकुरा पकाउँदै रुँदै गरेको कारुणिक दृश्य दुईजना भाइ धारा र धीराले देखेछन् । उनीहरू त्यही घरमा बसेर भोलिपल्ट वृद्धाको नातिको पालोमा आफूहरू बली चढ्न गए । सोही क्रममा राजाको वध गरेर शासन आफ्नो हातमा लिन सफल भए ।’ 

स्व. डम्बर बम र अध्येता सुरेन्द्र बमले राजाको वधका क्रममा सुनाएको कथा पनि उस्तै छ । ‘धीरा र धारा दरबारमा हाजिर भएपछि उनीहरूको बलि चढाउने तयारी हुन्छ । दरबारभित्रको वधशालामा उनीहरूलाई उम्लिरहेको तेलको कराहीको वरिपरि घुम्न लगाइन्छ । तर, राजाले स्वयं आएर वरिपरि घुम्ने तौरतरिका सिकाउनुपर्ने माग दुई भाइले राख्छन् । राजा आएर बलि चढ्नुपूर्वको विधि सिकाउन लाग्दा कम्मरमा लुकाइराखेको तरबार निकालेर उनकै शिर काटेर वध गरेछन्,’ डिङ्कोटे राजाको सत्ताच्युतको कथा यसरी टुंगिन्छ । डिङ्कोटे राजाको यो कथा पुरचौंडी क्षेत्रको एउटा प्रसिद्ध लोककथाका रूपमा समेत प्रचलित छ । यो कथा मात्र नभई इतिहासका तथ्यसँग धेरै हदसम्म मेल खान्छ । 

 धीरा–धारा र लटै बम  
गोकर्ण राजाको अन्त्यपछि धीरा र धाराको शासन सुरु हुन्छ । उनीहरूका पाँच पुस्ताले यो क्षेत्रको शासन सम्हाल्छन् । धीरा र धारा चन्द वंशका भएको स्थानीय जानकार दलबहादुर विष्ट दाबी गर्छन् । उनीहरूको संघर्ष तत्कालीन डोटी राज्यसँग भएको र त्यसपछि मारिएको उनी बताउँछन् । कालान्तरमा उनीहरूका सन्तान विष्ट भए । पुरचौंडीमा शासन गर्दा जनतामाथि अन्याय गर्न थालेपछि उनै धन्नाकर ब्राह्मणका सन्ततिको अगुवाइमा डिलासैनी भगवती मन्दिरमा नौ दिन आराधना चल्छ । भगवती माताले कुमाउको कुमकन भन्ने ठाउँबाट राजा ल्याएपछि राम्रो हुने वाणी दिन्छिन् । सोहीअनुसार जोशी परिवार (सल्याल, सोड्याल, भवन्याल र डाडाकोटी) ब्राह्मणहरूलगायत अगुवा कुमाउतर्फ लाग्छन् । कुमाउको कुमकनका ठकुरी राजपरिवारमा सातजना राजकुमार थिए । उनीहरूमध्ये लटै बमलाई छानेर पुरचौंडी ल्याइएसँगै नयाँ अध्यायको सुरुवात हुन्छ । साके १३०० (अनुमानित) देखि पुरचौंडीमा बमहरूका पूर्वज लटै बमको शासन सुरु भएको उल्लेख छ । 

रुजकोट
प्रवेशद्वार

लटै बमले रुजकोटमा बसेर शासन सुरु गर्छन् । लटै बमको शासनपछि पुरचौंडी क्षेत्रमा अमनचयन कायम हुन्छ । बमहरूको वंशावलीअनुसार १५ पुस्तासम्म बम परिवारमा एक–एकजना राजकुमारको मात्र जन्म भयो । १६औँ पुस्तामा आएर जितारी बमका तीन भाइ छोरा जय बम, पहाडी बम र हिमा बम जन्मिए । यही समयमा पुरचौंडी क्षेत्रमै अर्का शक्तिशाली व्यक्तिको जन्म भयो । उनी थिए रन्जिते कोर । कालान्तरमा रन्जितेका नौ छोरासँग पहाडी बमका तीन छोरा (सुन्नर, दिलिप र करन)को संघर्ष कुनै चलचित्रको क्लाइमेक्स दृश्यभन्दा कम छैन । 

रन्जिते कोर (कुँवर)को घरमा पहाडी बम एक दिन पाहुना बस्न गएको वेला मार्ने षड्यन्त्र थाहा पाएर मध्यराति सुरक्षित ठाउँतर्फ गएको प्रसंगदेखि रन्जितेका नौ छोरा सिर्तो उठाउन मार्मा (दार्चुला) गएका वेला पहाडीका तीन छोरा बोहरा पहलवानसँग मिलेर उपल्लो मार्मा क्षेत्रमा लडेको लडाइँ रोचक छ । उक्त लडाइँमा कान्छा करनको नाक मात्र काटिन्छ भने रन्जितेका नौ छोराले ज्यान गुमाउँछन् । विजयी भएर पुरचौंडी आएका बोहरा पहलवान र रन्जितेको अर्को घमासान लडाइँ हुन्छ । दिलिपले लुकेर तीर चलाउँदै रन्जितेलाई पराजित गर्छन् । त्यसपछि उनको टाउको काटेर गिर (भकुन्डो) खेलिएकाले हाल मध्य पुरचौंडीमा गिरेगडा नामक ठाउँको नाम रहन गएको विश्वास गरिन्छ । यहाँ अहिले पनि हरिवोधनी एकादशीमा लाग्ने गिरेगडा जात (मेला)मा गिर खेल्ने चलन छ । 

गोर्खाली फौजले नेपाल एकीकरणको लडाइँ नलड्दासम्म पुरचौंडी क्षेत्रमा ठकुरी बम परिवारको शासन चलिरह्यो । अहिले पुरचौंडीमा सुन्नर बमपट्टिका छ राठ(हागा) छन् भने करनतर्फका नकाली कुँवरहरू भएको मानिन्छ । त्यस्तै जय बम र हिमा बमतर्फका सन्तति विभिन्न गाउँमा बस्दै आएको कुरा स्व. डम्बर बमले उल्लेख गरेका छन् ।

  डिलबाट उत्पत्ति भएकी देवी  
हाल पुरचौंडी नगरपालिका–९, तल्लादेहीमा रहेको यो क्षेत्रको प्रसिद्ध शक्तिपीठ डिलासैनी भगवती मन्दिर हो । मन्दिरवरपरका कलात्मक ढुंगे देवल पुरातात्विक सम्पदामा सूचीकृत छन् । यी देवलले यो क्षेत्रको इतिहासको झल्को दिन्छ । इतिहासका साक्षी बनेर उभिएका देवलमा साके १२०३ मिति उल्लेखित शिलालेख छ । तत्कालीन डोटी राज्यका शक्तिशाली शासक नाग मल्लले यी देवल निर्माण गर्न लगाएको स्थानीय विश्वास गर्छन् ।  

डिलासैनीलाई जगदम्बा, बोदलासैनी, डिलेश्वरी भनेर पनि पुकारिन्छ । स्थानीय जानकार दलबहादुर विष्टका अनुसार डिलासैनीको पहिलो उदय द्वारीगाउँमा भएको थियो । स्थानीय जमने बोहराले डिलासैनीलाई प्राप्त गरी बोदलो (गाजाबाट बनेको लुगा) ओढाई राखेको हुँदा बोदलासैनी नामकरण भएको थियो ।

गोरु जोत्दा माता वोदलासैनीको गाथमा हलोको फालीले घोचेर रगत बग्दै केही किलोमिटर दक्षिणतर्फको नुवाकोट डिलमा थामिएको थियो । त्यहाँबाट तल्लादेही तेलीगाउँको चौडमा उदयमान हुँदा डिलासैनी नाम रहन गएको लोकगाथा छ । सुदूरपश्चिममा प्रसिद्ध सात बहिनी भगवतीमध्ये वोदलासैनी, कफलासैनी र डिलासैनी देवभूमि पुरचौंडी क्षेत्रमा रहेका छन् । कालान्तरमा धामीगाउँ र मल्लादेहीमा समेत डिलासैनीको स्थापना गरिएको पूर्वशिक्षक विष्ट बताउँछन् । 

दुर्गममा शिक्षाको ज्योति फैलाउने डम्बर बम
लटै बम परिवारका २६औँ पुस्ताका स्व. डम्बर बम विसं १९७५ सालमा जन्मिएका हुन् । उनले भारतको मुवानी फुपूको घरमा बसेर ‘हाई स्कुल’सम्मको शिक्षा आर्जन गरे । पढाइमा अब्बल भएकाले भारत सरकारको सरकारी छात्रावृत्ति प्राप्त गरेका थिए । कालान्तरमा काठमाडौं गएर राणा सरकारका तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर र शिक्षा विभाग प्रमुख डाइरेक्टर जनरल मृगेन्द्रशमशेर जबरासँग सम्बन्ध बनाए । त्यसपछि निकै संघर्ष गरेर विसं २००४ सालमा उनै डिलकी देवीको नामबाट डिलेश्वरी आधारभूत शिक्षालय स्थापना गरे । बैतडीमा त्यो समय केही भाषा पाठशाला मात्र थिए ।

सरकारी अनुमति प्राप्त जिल्लाकै पहिलो विद्यालय यही थियो । संस्थापक बमले भने यो नै सुदूरपश्चिमको पहिलो विद्यालय भएको दाबी गरेका छन् । उनले विसं २०३३ सालसम्म विद्यालयको नेतृत्व गरेका थिए । त्यसपछि विसं २०३८ मा चुनाव लडे । त्यो वेला मतगणना गर्दा षड्यन्त्र गरेर उनलाई पराजित गरियो । २०४३ मा पुनः चुनाव लडेर उनले विजयी हुँदै संसद्सम्मको यात्रा तय गरेका थिए । 

See More On

सुझावित समाचार