हसिना बहिर्गमनको दुई वर्षमा बंगलादेशले अपनाएको मार्ग

नागरिकहरू केवल भाषण वा बहाना होइन, बरु ठोस नतिजा र वास्तविक सुधारको अपेक्षा गर्छन्

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

सन् २०२४ मा बंगलादेशमा भएको जुलाई क्रान्ति र त्यसको निष्कर्ष अगस्ट ५ को घटनाको दुई वर्षपछि यो देश अहिले यस्तो मोडमा उभिएको छ, जहाँ इमानदार आत्म–समीक्षा र अघि बढ्ने दृढ संकल्प दुवैको आवश्यकता छ । डेढ दशकभन्दा लामो समयपछि सेख हसिनाको सरकारको पतन देख्दा हामीले सामूहिक रूपमा अनुभव गरेको राहतको त्यो क्षण निःसन्देह यस देशको इतिहासकै सबैभन्दा महत्वपूर्ण घटनामध्ये एक रहनेछ ।

यसलाई केवल ‘अभूतपूर्व घटना’ भन्नु यसको महत्वलाई कम आँक्नु हुनेछ । तसर्थ विद्यार्थीको ऐतिहासिक आन्दोलनलाई कुनै हालतमा पनि अवमूल्यन गरिनुहुँदैन ।  किनकि, यो घटना सुरुमा जागिरसम्बन्धी अनुचित कोटा प्रणालीविरुद्ध विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनका रूपमा अघि बढेको थियो । तर, पछि यो आन्दोलन देशका तमाम जनताको कठोर व्यवस्थाविरुद्धको राष्ट्रव्यापी जनविद्रोहमा परिणत भयो । 

हसिनाको शासन व्यवस्था खासमा कुशासन, अभाव, असमानता र संस्थागत भ्रष्टाचारको पर्याय बनेको थियो । यसले आफैले सेवा गर्ने वाचा गरेका जनतामाथि दुव्र्यवहारसमेत गरेको थियो । आर्थिक अनियमितता, संरचनागत कमजोरी, भ्रष्टाचार र बेरोजगारका कारण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि सरकारले चरम दमन गरेको थियो । प्रहरी दमनमा सयौँको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए ।

विद्यार्थी आन्दोलन उत्कर्षमा पुगिरहेका वेला ५ अगस्टमा सेख हसिना देश छाडेर भारत पुगेकी थिइन् । दुई वर्षको अन्तरालमा बंगलादेश बदलिरहेको छ । तथापि, अझै पनि यो देशले तिनै समस्याको सामना गरिरहेको छ, जसले देशलाई इतिहासभर पिरोलेर यसको विकासक्रममा अवरोध सिर्जना गरिरहेको छ ।

विद्यार्थी आन्दोलन उत्कर्षमा पुगिरहेका वेला ५ अगस्टमा सेख हसिना देश छाडेर भारत पुगेकी थिइन । उनी भारत निर्वासनमै रहेको समयमा बंगलादेशको एक अदालतले उनलाई मृत्युदण्डको सजाय मात्र सुनाउँदै  उनलाई सुपर्दुगी गर्न भारतसँग अनुरोध गर्दै आएको छ । हसिनाले देश छाडेपछि सरकारले उनको पार्टी अबामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । अबामी लिगका दर्जनौँ नेता तथा कार्यकर्तामाथि अहिले मुद्दा चलाइएको छ । कतिपय नेता कारागारमा छन् । मृत्युदण्डको फैसलाबिच हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छिन् ।

यद्यपि, दुई वर्षको अन्तरालमा बंगलादेश एउटा नयाँ देश बनिसकेको छ र अझ उत्कृष्ट राष्ट्र बन्ने लक्ष्य राखेको छ । तैपनि, हामी अझै पनि तिनै समस्याको सामना गरिरहेका छौँ, जसले हाम्रो इतिहासभर हामीलाई पिरोलेका छन् र हाम्रो विकासक्रमको अर्को चरणमा अघि बढ्नबाट रोकिरहेका छन् । 

सन् २०२६ को फेब्रुअरीमा भएको आमनिर्वाचन (जसले बंगलादेश नेसनल पार्टी अर्थात् बिएनपीलाई सत्तामा पु¥यायो) अगस्ट २०२४ पछि मुलुकलाई स्थिरता प्रदान गर्ने अर्काे एक महत्वपूर्ण राजनीतिक परिवर्तन थियो । अन्तरिम सरकारको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा व्यापक रूपमा हेरिएको यस निर्वाचनले परिवर्तन, स्थिरता र सक्षम प्रशासनप्रतिको जनआकांक्षालाई पनि प्रतिबिम्बित गर्यो ।

तर, केवल राजनीतिक संक्रमणले मात्र सन् २०२४ को अशान्तिको कारक बनेका र जरा गाडेर बसेका समस्या समाधान गर्न सक्दैन । नागरिकहरू केवल भाषण वा बहाना होइन, बरु ठोस नतिजा र वास्तविक सुधारको अपेक्षा गर्छन् । तरिक रहमानको नेतृत्वमा रहेको बिएनपी सरकारले यस्तो राष्ट्रको जिम्मेवारी सम्हाल्दै छ, जुन नतिजाका लागि आतुर छ र हाम्रो हालैको इतिहासले देखाएझैँ सार्वजनिक जीवनमा लामो समयदेखि जरा गाडेर बसेको आत्मसन्तुष्टि वा शिथिलतालाई कदापि सहन तयार छैन । तसर्थ, सरकारमा आबद्ध सबैले यस्तो आत्मसन्तुष्टिबाट टाढा रहँदै आमजनताको हितलाई सर्वोपरि राखी काम गर्नुपर्छ ।

वर्तमान समयमा ग्यास तथा ऊर्जा, स्वास्थ्य सेवा र शिक्षाका क्षेत्रमा देखिएका चुनौती सरकारले प्राथमिकतामा राख्नुपर्ने र तत्काल सम्बोधन गर्नुपर्ने विषय हुन् । दादुराको हालै देखिएको प्रकोप वास्तवमा कहिल्यै नहुनुपर्ने संकट हो र यस मामिलामा अन्तरिम सरकारको असफलताका लागि उसको आलोचना हुनु स्वाभाविकै हो । यद्यपि, यसरी भइरहेको अकाल र अर्थहीन मानवीय क्षति रोक्न हामीले हरसम्भव प्रयास जारी राख्नैपर्छ ।

ग्यास र ऊर्जाको संकट राज्यको कार्यक्षमताको अर्को कसी हो । साथै, यो आयातित विद्युत्मा अत्यधिक निर्भर रहँदै ऊर्जाका स्रोतमा विविधता ल्याउन नसक्नुको प्रमाण पनि हो । हाम्रो ऊर्जा प्रणालीमा लामो समयदेखि संरचनागत सुधारको आवश्यकता छ, जसमा स्रोतहरूको विविधीकरण, पारदर्शी खरिद प्रक्रिया, उत्कृष्ट योजना तर्जुमा र नवीकरणीय ऊर्जामा तीव्र लगानी समावेश छन् । ऊर्जाको बलियो आधारविना आर्थिक पुनरुत्थानको कुनै पनि प्रयास अधुरै रहनेछ र जनअसन्तुष्टि अझ बढ्दै जानेछ ।

शिक्षा र बेरोजगारीका समस्याले पनि हाम्रो भविष्यमाथि गहिरो असर पारिरहेको छ । जुलाई क्रान्ति’ मुख्यतया सम्मान र अवसरको माग गर्ने युवाहरूको अगुवाइमा भएको थियो । दुई वर्ष बितिसक्दा पनि ती माग पूरा भएका छैनन् र सुधारको कुनै खास संकेत पनि देखिएको छैन । जुलाई क्रान्तिमा गरिएका बलिदानहरूको सम्मान गर्दै युवा शक्तिको सम्भावनालाई सदुपयोग गर्ने हो भने बंगलादेशले आफ्नो शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ तथा रोजगारी सिर्जना, सिपमूलक तालिम र नवीनतामा लगानी बढाउनुपर्छ ।

दुई वर्ष बितिसक्दा र परिवर्तनका बाबजुद पनि हामी गहिरो जनअसन्तुष्टि प्रकट गर्ने राजनीतिक विघटनको परिणामबाट गुज्रिरहेका छौँ । फेब्रुअरी २०२६ को चुनावले लोकतान्त्रिक पुनस्र्थापना प्रदान गर्यो, तर विश्वास पुनर्निर्माण गर्ने र परिणाम प्रदान गर्ने काम अझै पूरा भएको छैन ।

दुई वर्षपछि सन्देश स्पष्ट छ । हामीले नयाँ र राम्रो बंगलादेशको आशामा आफ्नो जीवन अर्पण गर्नेहरूलाई सम्मान गर्नुपर्छ । त्यसको लागि, यदि हामीले बंगलादेशको त्यो संस्करण साँच्चै निर्माण गर्ने हो भने हामीले यो राष्ट्रले स्थापनाकालदेखि नै कसरी काम गरेको छ भन्ने धेरै कुराबाट सिक्नुपर्छ ।
ढाका ट्रिब्युनको विश्लेषण

सुझावित समाचार