राजेन्द्रलक्ष्मीको नायबी शासन र कांग्रेस संकट

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण
  • ‘बदलिएको कांग्रेस’को नेतृत्वले सानेपामा सभापतिकै वरिपरि घुमेर मात्र युग सुहाउँदो कांग्रेस निर्माण गर्ने सभापति थापाको चाहनामा बल पुग्दैन

पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहको मृत्युपछि नाबालक राजा रणबहादुर शाहका नायबका रूपमा रानी राजेन्द्रलक्ष्मीले शासन प्रारम्भ गरिन् । जसरी कांग्रेसभित्र आज संस्थापनइतर पक्षले शेरबहादुर देउवाको बहिर्गमनपश्चात् डा. शशांक कोइरालालाई अगाडि सारेर गुटगत सत्ताको नायबका रूपमा कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधीहरू शासन गर्ने तर्खरमा छन् ।

प्रतापसिंहको मृत्युपश्चात् बज्रनाथ पण्डित राजेन्द्रलक्ष्मीलाई सती पठाएर आफू बालक राजाका नाममा शासन चलाउन चाहन्थे । जसरी कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको सिंगापुर बहिर्गमनपश्चात् केही समय त्यसको रिहर्सल पूर्वउपसभापति पूर्णबहादुर खड्काले समेत गरे । बज्रनाथ पण्डितको चालबाजीको भेउ पाएकी राजेन्द्रलक्ष्मीले पण्डितलाई चारपाटा मुडेर चार भन्ज्याङ कटाइदिएकै शैलीमा कार्यवाहक सभापति खड्कालाई असफल बनाउन सिंगापुरमा रहेका देउवालाई सिटौला–निधीले नेपाल बोलाइछाडे । अहिले आएर खड्का इतर समूहमा समेत किनारीकृत भएका छन् भने डा. शशांकको आडमा सिटौला–निधीको नायबी आरम्भ भएको छ ।

भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको वैधानिक सभामा भागै नलिई बाहिरिएको संस्थापनइतर समूहले साउन २९–३१ काठमाडौंमा राष्ट्रिय भेला नामको गुटगत बैठक गर्ने निष्कर्ष निकालेको छ । र, राजनीतिक वैधताकै निम्ति बैठक आयोजक समितिको संयोजकमा डा. शशांक छानिएका छन् । कांग्रेसबाट बाहिरिएर नयाँ पार्टी निर्माण गर्ने उद्देश्यले नायबी चलाउन उद्यत् सिटौला–निधीलाई गुटगत भेलाको उद्देश्यबारे थाहा नहुने कुरै भएन, डा. शशांकलाई भने त्यसको भेउ छ भन्नेमा शंकै छ । कांग्रेसको संस्थापनइतरको हरेक मोर्चामा हारका बाबजुद जसरी पनि पार्टी कब्जा गर्नैपर्ने रणनीति र त्यसबारे चाल पाएसँगै विधि र पद्धतिबाहिर गएर टसमस नगर्ने सभापति गगन थापाको रणनीतिका कारण कांग्रेसमा यतिवेला संस्थापन र इतर समूहबिच निकै ठुलो रस्साकस्सी देखिन्छ ।

सतहमा हेर्दा बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीजस्ता मूर्धन्य दिवंगत नेताका पुत्रत्रय डा. शशांक, प्रकाशमान र विमलेन्द्र फ्रन्ट लाइनमा देखिएको, तर ठेक्कापट्टा असफल भई कालोसूचीमा रहेका ठेकेदारको लगानीमा राजधानीको निर्मल निवासछेउ चुनदेवीमा सम्पर्क कार्यालय खोलेर बिपी स्मृति दिवसकै दिन पार्टी सभापति गगन थापाविरुद्ध विषवमन गर्ने एउटा समूह कांग्रेसलाई कमजोर बनाउन मैदानमै उत्रिएको देखिन्छ । हुन त विशेष महाधिवेशनपूर्वका सभापति देउवा स्वयंले पनि सत्ताकै लागि कांग्रेस पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेस नबनाएका होइनन् । तर, लामो समय सो पार्टी टिकाउन भने देउवा असफल भए ।

देउवाकालीन समयमा नायबी चलाउने आरजु राणा र उनकै वरिपरि घुम्ने कांग्रेसको तत्कालीन संस्थापनको एउटा समूह आफूभन्दा कान्छो उमेरका गगनलाई मनैदेखि सभापति मान्न तयार देखिन्न । सो समूह कतिसम्म उल्टो बाटो हिँड्न तयार छ भन्ने उदाहरण उनीहरूको सर्वोच्च अदालतको यात्राले पनि पुष्टि गर्छ । देउवा स्वयंलाई मतदान गरेर पार्टी सभापति बनाउने बहुमत महाधिवेशन प्रतिनिधि देउवालाई छाडेर विधिवत् गगनतिर लाग्दासमेत नैतिकताको पर्वाह नै नगरी देउवा र पूर्णबहादुर राजनीतिक विषयलाई लिएर सर्वोच्च अदालत जानु उनीहरूको राजनीतिका नाममा देखिएको कुण्ठा मात्र हो ।

इतिहासमा कांग्रेसले पटक–पटक टुटफुट व्यहोर्यो । अझ जब–जब कांग्रेसभित्र झगडाको बीजारोपण गरिन्छ, तब बुझ्नैपर्ने हुन्छ, सिस्टममै कहीँ न कहीँ गडबड गर्न खोजिँदै छ । भारी जनमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रसमेत बेमेलको तुवाँलो बाक्लिँदै गएको देखिएको समय जनमतका हिसाबले दोस्रो कांग्रेसभित्र समेत बाक्लिँदै गएको घरझगडाले नेपालको राजनीतिमा शुभ संकेत गर्दैन ।

कांग्रेसको आफ्नै विधानमा भएको व्यवस्थामा टेकेर सँगै हिजो देउवालाई नै सभापति बनाउन मतदान गर्ने १४औँ महाधिवेशनकै प्रतिनिधिबाट गरिएको वैधानिक विद्रोहबाट आएका गगन थापालाई सभापति मान्न देउवा समूह तयार नहुनु नै कांग्रेसभित्रको मूल समस्या हो । उमेरले ८० को हाराहारीमा रहेका र हिजैदेखि, अर्थात् गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र देउवाकालीन समयदेखि उनीहरूका नाममा नायबी चलाउँदै आएको एउटा समूह जनता र कार्यकर्ताबाट अनुमोदनबेगरै पद प्राप्तिको राजनीति गर्दै आएको थियो । गगन नेतृत्वको कांग्रेसले जब वैधानिक विद्रोहमार्फत कांग्रेसमा बदलाव ल्यायो, सँगै पार्टीका पदाधिकारीसमेत आसन्न महाधिवेशनमा वडातहबाटै प्रतिनिधि भएर आउनुपर्ने व्यवस्था विधानमै गर्यो, तब विक्षिप्त बन्न पुगेको संस्थापनइतर समूह नयाँ पार्टी निर्माणको अभियानमा छ ।

कांग्रेसलाई मनोवैज्ञानिक रूपमा विभाजनको तहसम्म लैजानुपूर्व संस्थापनइतर समूहले पार्टीका दिवंगत नेता बिपी, गणेशमान र महेन्द्रनारायणजस्ता मूर्धन्य व्यक्तित्वका पारिवारिक विरासत बोकेका नेता हामीसँग छन् भन्ने सन्देश दिन खोजेको देखिन्छ । २१औँ शताब्दीको यक्षप्रश्न भनेको राजनीतिमा प्रधान भनेको ‘ब्लड’ कि ‘विचार’ भन्ने नै हो । संस्थापनइतर समूहले माने पनि, नमाने पनि देश–दुनियाँले मानेको एउटा सत्य के हो भन्दा गगनमा बिपी, गणेशमान र निधीको रगत छैन । तर, उनीहरूको विचार प्रस्ट देखिन्छ । उनैले पनि भन्दै आएका छन्, मेरो शरीरमा बिपी र गणेशमानको रगत छैन, तर बिपीको विचार र गणेशमानको साहस छ । राजनीतिमा प्रधान ठानिने पनि वंश वा रगतभन्दा वैचारिक निष्ठा र साहस नै हो ।

बिपी, गणेशमान र निधीजस्ता नेताको ‘लिगेसी’ प्राप्त गरेर मात्र हुन्न भन्ने उदाहरण हेर्न टाढा जानै पर्दैन । हालै मात्र बिपी स्मृति दिवसको अवसरमा संस्थापनइतर समूहद्वारा राजधानीमा आयोजित सभालाई हेरे पुग्छ । जुन सभामा बिपी स्मृतिका नाममा जम्मा भएका संस्थापनइतर समूहका बिपी, गणेशमान र निधीका ‘ब्लड’कै उत्तराधिकारी दाबी गर्नेले कांग्रेस सभापति थापाविरुद्ध विषवमन गरे । वर्तमान राजनीतिक असहजता तथा लोकलाजको ख्यालै नराखी हिजोसम्म आफैँले राजनीति गरेको पार्टी तथा निर्वाचन लड्न जाँदा टिकटमा हस्ताक्षर गरेका पार्टी सभापतिविरुद्ध भविष्यमा कांग्रेस रहेर राजनीति गर्नै नपर्नेझैँ गरी सो समूह घृणाको राजनीतिमा उत्रियो । गालीगलोजको पनि सीमा हुन्छ । हुँदाहुँदा सभापति थापामाथि विदेशी एजेन्ट तथा ‘सेटिङमा चलेको’ आरोपसम्म लगाइयो । कांग्रेसजनको मात्र नभई तमाम लोकतन्त्रवादीकै चाहना कांग्रेसमा बृहत् एकता होस् भन्ने छ । तर, एकताको जिम्मा केवल गगन थापाले मात्र लिनुपर्छ भन्ने जुन भाष्य चुनदेवीले निर्माण गर्न खोजेको छ, त्यो आफैँमा पूर्वाग्रहप्रेरित छ । महाधिवेशन प्रतिनिधिको बहुमतबाट हस्ताक्षरित निवेदन ग्रहण गर्ने पूर्णबहादुर, विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने महाधिवेशन प्रतिनिधि, महाधिवेशन प्रतिनिधिले गरेको नेतृत्व परिवर्तनलाई कानुनतः अद्यावधिक गर्ने निर्वाचन आयोग र आयोगले गरेको अद्यावधिक कानुनसम्मत छ भनेर देखाइदिने सर्वोच्चको खिलाफ जान देउवा समूहमा नैतिकता भए त्यसैले रोक्नुपर्ने थियो । तर, दुर्भाग्यवश उक्त समूह कांग्रेसको नेतृत्व परिवर्तनको विषयलाई लिएर सर्वोच्च र उल्टै गगनद्वारा हस्ताक्षरित टिकट लिएर गयो ।

जनमतका आधारमा प्रतिपक्षमा धकेलिएको कांग्रेसबारे उल्लिखित विषय समीक्षाको पाटो हो । बाँकी मूल विषय भनेको बिपी, गणेशमान र कृष्णप्रसादजस्ता व्यक्तित्वको राजनीतिक मात्र नभई पारिवारिक विरासतसमेत प्राप्त व्यक्तिले पार्टीलाई फुटउन्मुख गराएर समाजलाई दिन खोजेको सन्देश के र कस्तो भन्ने नै हो । कांग्रेसका संस्थापक नेताले राजनीतिको संगीन कालखण्ड व्यहोरेर निर्माण गरिदिएको लोकतन्त्रको भरपूर उपयोग गरी सत्ताको चास्नीमा डुब्ने, तर जेन–जी विद्रोहपश्चात् पार्टीमा आएको परिवर्तनलाई चाहिँ आत्मसात् गर्न पटक्कै रुचि नदेखाउने विचार बिपी विचार’ हुनै सक्दैन । चुनदेवी समूहले ख्याल पुर्याउनुपर्ने अर्को तर महŒवपूर्ण सवाल के पनि देखिन्छ भने प्रजातन्त्र प्राप्तियता कांग्रेस सत्तामा रहेका समय निरन्तर सत्तामा बसी अकुत कमाइरहेका, एउटा न एउटा केसमा अड्डा–अदालत धाइरहेका, बैंक तथा वित्तीय संस्थासँगै ठेक्कापट्टा र चेक अनादर केस व्यहोरिरहेका, अकुतको विषयले लखेटिरहेका र आफ्नो घर बैंकको मुख्यालयझैँ देखिने गरी धन–दौलत थुपारिरहेका पार्टीबाट अलग हुँदा नै पार्टी सच्चिन्छ भन्नेको संख्या पनि कांग्रेसभित्र ठुलो छ । बिपीले उही समय भनेकै थिए, ‘प्रजातन्त्र प्राप्तिसँगै पार्टीमा सुकिला–मुकिला हाबी हुनेछन्, त्यतिवेला इमानदार कार्यकर्ताले एकपटक संघर्ष गर्नुपर्छ ।’

देउवा समूह त पार्टी ब्रेक गर्न उद्यत भयो नै । ‘बदलिएको कांग्रेस’ले पनि आजको मितिमा संगठन निर्माणमा खेलेको भूमिकाले मात्र संघीय लोकतान्त्रिक व्यवस्था मजबुत हुने छनक देखिँदैन । हिजो देउवाकालीन समयका महामन्त्रीद्वय गगन–विश्वकै जुझारु भूमिकामा आजका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे देखिन सक्नुपर्थ्यो । विशेष महाधिवेशन प्रतिनिधिको वैधानिक विद्रोहले कांग्रेसको नेतृत्व त परिवर्तन भयो, तर परिवर्तित नेतृत्वले गगन थापाको बेग बुझेर राजनीतिक मैदानमा उत्रिने सिंगो केन्द्रीय समिति भने राजनीतिक रूपमा परिपक्व नपाएकै हो । आज पनि कांग्रेसको सिंगै केन्द्रीय नेतृत्व जनता र कार्यकर्तातिर फर्कनुको सट्टा सभापति गगनकै वरिपरि भेटिन्छन् । आज गगन राज्यसत्तामा छैनन् । तैपनि, कांग्रेस नेतृत्व उनकै वरिपरि रमाइरहेको छ भने भोलि राज्यसत्तामा गगन पुग्दा के होला ?

प्राकृतिक विपत्तिको समय छ । मधेशलगायत पूर्वी प्रदेशमा देखापरेको धार्मिक हिंसाको ज्वाला निभिसकेको छैन । जनताले प्राप्त गर्ने मल, बिउबिजन प्राप्त गर्न सकेका छैनन् । सरकारको कामकारबाही बच्चाले ‘भाँडाकुटी खेलेजस्तो’ छ । भूराजनीतिक हिसाबले मुलुक चुक्दै गएको देउवा, ओली, दाहालकै पालादेखि हो । मुलुकको अर्थतन्त्र डावाँडोल छ । ‘मनी लाउन्डरिङ’का हिसाबले ‘ग्रे लिस्ट’बाट नेपाल फिर्ता आउने त कता हो, सरकारको काम–कारबाही हेर्दा ‘ब्ल्याक लिस्ट’उन्मुख देखिँदै छ । यस्तो समय कांग्रेसको संस्थापनइतर त कांग्रेस कमजोर बनाउन लाग्यो नै, परिवर्तित नेतृत्वले समेत सभापति थापाको भाषा र चाल बुझ्न नसकेकै देखिन्छ । ‘बदलिएको कांग्रेस’को सिंगै नेतृत्वले बुझ्नुपर्ने भनेकै हिजोको संस्थापनलाई जनताले पत्यारयोग्य नठानेकाले आफू जनताबाट पत्याइने शक्ति कसरी बन्ने भन्ने नै हो । ‘बदलिएको कांग्रेस’को केन्द्रीय नेतृत्वले सानेपा र चपलीमा सभापतिकै वरिपरि देखा परेर मात्र युग सुहाउँदो कांग्रेस निर्माण गर्ने सभापति थापाको चाहनामा बल पुग्दैन ।

ढिलोचाँडो निश्चित अवधिका लागि पार्टीबाट एउटा तप्का त बाहिरिने नै भयो, पार्टीको मूलधारमा रहेका नेता–कार्यकर्ताले पार्टीलाई जनताको तहमा स्थापित गर्न जनताकै तहसम्म पुग्न सक्दा मात्र कांग्रेस र लोकतन्त्र बलियो हुने हो । सत्तामा पुगेपछि जे गरे पनि हुन्छ भन्ने मान्यता स्थापित गरेकै कारण देउवा, ओली र दाहालको विकल्प नेपाली जनताले खोजेका हुन् । रास्वपालाई हेरेर देशमा कायापलट ल्याउलान् भनेर जनताले मतदान गरेका होइनन् ।

कांग्रेसको हिजैदेखि खाइपाइ आएको एउटा ‘रैथाने गुट’ पार्टीबाट लगभग बाहिरिने पूर्वसन्ध्यामा छ । पार्टीको मूलधारले बिपी विचार अँगालेर राजनीति बिपीको ‘ब्लड’बाट होइन, ‘विचार’बाट सम्भव छ भन्ने सुखद् सन्देश सम्प्रेषित गर्न सक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको मियो शक्ति कांग्रेसप्रतिको जनताको अभिभारा पूरा गरेको ठहरिनेछ । अन्यथा, पदबाट बाहिर पुग्यो कि पदकै लागि पार्टी नै फुटाउन उद्यत हुने र लोकतन्त्रको स्थायित्वका निम्ति नयाँ रणनीति अख्तियार गर्न नसक्ने हो भने कांग्रेससँगै लोकतन्त्रले समेत बाटो बदल्ने निश्चितप्रायः देखिन्छ ।  

सुझावित समाचार