युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भर्खरै देशका सेना प्रमुख ओलेक्जान्डर सिर्स्कीलाई बर्खास्त गरे । सिर्स्कीलाई बर्खास्त गर्नुअघि जेलेन्स्कीले आफ्ना रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पनि हटाएका थिए, जुन कदमविरुद्ध देशमा ठुलो विरोध प्रदर्शन उठ्यो । फेदोरोभको मन्त्री पद जानुमा सिर्स्कीसँगको असमझदारी मुख्य कारण रहेको चर्चामाझ प्रदर्शनकारीको आक्रोश मुख्यतः सिर्स्कीप्रति लक्षित थियो ।
पछिल्लो समय युक्रेनले रुसविरुद्ध सफलताका साथ प्रयोगमा ल्याएको ड्रोन युद्धपछाडि फेदोरोभको हात रहेको विश्वासमा उनको बर्खास्तीविरुद्ध हजारौँ मानिस सडकमा उत्रिए । यस पृष्ठभूमिमा सिर्स्कीलाई बर्खास्त गर्न स्पष्ट रूपमा सार्वजनिक दबाब सिर्जना भएको थियो । यसका बाबजुद, जेलेन्स्कीले सेना प्रमुखको बर्खास्तीलाई युक्रेनको सेनाको समग्र पुनर्संरचनाको एक अंशको रूपमा प्रस्तुत गरेका छन् । सिर्स्कीको स्थानमा जेलेन्स्कीले अहिले मिखाइलो ड्राप्तीलाई कमान्डर–इन–चिफका रूपमा नियुक्त गरेका छन् ।
यस प्रकरणलाई मुख्यतः रक्षामन्त्री र सेना प्रमुखको व्यक्तित्वको टकरावका रूपमा प्रस्तुत गरिँदै छ । तथापि, गहिरिएर हेर्ने हो भने युक्रेनमा नागरिक रक्षामन्त्री र सैन्य नेतृत्वबिचको तनावले संस्थागत रूप लिएको धेरै भयो । उसो त विश्वका सबैजसो देशमा नागरिक नेतृत्व र सैन्य नेतृत्वबिच केही असहमति हुन्छन् नै । यी दुई फरक प्रकृतिका संस्था भएकाले तिनको स्वार्थ नै परस्परविरोधी हुने गर्छ । सेनाभित्र स्पष्ट जिम्मेवारीको ‘चेन अफ कमान्ड’ र त्यसमाथि नागरिक निगरानीले दैनिक रूपमा आउन सक्ने मतभेदलाई व्यवस्थापन गर्न मद्दत गर्छ ।
युद्धले सिर्जना गर्ने अस्तित्वगत खतराका भावनाले सामान्य स्वार्थको टकराव र तिनको राजनीतिक महŒव ह्वात्तै बढाइदिन्छ । अझ युक्रेनको कमजोर संस्थाले द्वन्द्वहरू थप संगीन बनाउन सघाइरहेको छ । फेदोरोभको बर्खास्ती सन् २०१९ मा जेलेन्स्की निर्वाचित भएपछि र सन् २०२२ मा पुटिनले पूर्ण–स्तरीय आक्रमण सुरु गर्नुअघिको बिच अवधिकै टकरावको पुनरावृत्ति हो ।
सेनामाथि लोकतान्त्रिक नागरिक सरकारको नियन्त्रण नेटो/इयूले पनि सदस्यताका लागि आवश्यक सर्त मान्छ । ती समूहमा नजिकिने लक्ष्यमा युक्रेनले त्यस्तो कानुन पनि पारित गर्यो । तर, जब कानुन कार्यान्वयन हुने वेला आयो, रक्षामन्त्री नागरिक राजनीतिज्ञ हुनुपर्छ कि पर्दैन भन्ने कुरामै अड्कियो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्नुअघि युक्रेनी सैन्य नेतृत्वले नागरिक सरकारको नियन्त्रणका सबै अभिव्यक्तिको प्रतिरोध गरिरहेको थियो ।
पश्चिमी दबाबपछि अवलम्बन गरिएको सन् २०१८ को कानुनअनुरूप सन् २०१९ देखियता जेलेन्स्कीले पाँचजना नागरिक नेतालाई रक्षामन्त्रीको रूपमा नियुक्त गरिसके । तर, जेलेन्स्की आफैँ रक्षामन्त्रीमा भन्दा पनि रक्षा नीति निर्माणका लागि सधैँ सेना प्रमुखमा निर्भर रहने गरेका छन् । जेलेन्स्कीको यस शैलीकै कारण पछिल्ला पाँचजना रक्षामन्त्री आफ्ना सुधार कार्यान्वयन गर्न असफल भए ।
त्यसमाथि रक्षा मन्त्रालय एकपछि अर्को रक्षा खरिदसँग सम्बन्धित भ्रष्टाचार घोटालामा फस्दा कठिनाइ बढ्यो । सन् २०१० देखि २०१४ सम्म नागरिक रक्षामन्त्रीको रूपमा काम गरेकामध्ये तीनजना मन्त्री अहिले अनधिकृत रूपमा सैन्य सामग्री बेचबिखन गरेको आरोपमा देशद्रोहको मुद्दा सामना गरिरहेका छन् । यसले सैन्य र नागरिक नेतृत्वबिचको कार्यात्मक सम्बन्धका लागि आवश्यक विश्वास स्थापना गर्न झन् चुनौती खडा गरिदियो ।
संस्थागत द्वन्द्व
मन्त्रीलाई पाखा लगाउन सजिलो हुनुका पछाडि सन् २०१८ को कानुनमा राखिएको एक सोभियतकालीन प्रावधान जिम्मेवार छ । यस प्रावधानअनुसार रक्षामन्त्री र सेना प्रमुख दुवै राष्ट्रपतिप्रति छुट्टाछुट्टै जिम्मेवार हुन्छन् । सैन्य प्रमुखले चाहे सहजै मन्त्रीका निर्णय बेवास्ता गर्न सक्छन् । जबकि, लोकतान्त्रिक नागरिक नियन्त्रणको केन्द्रीय सिद्धान्त नै सेना प्रमुखले रक्षामन्त्रीको निर्णय मान्नुपर्छ । मन्त्री र सेना प्रमुखबिच असहमत हुँदा सैन्य कमान्डरहरू सीधै राष्ट्रपतिकहाँ जाने क्रम बढ्ने गर्छ । मन्त्री फेरिरहँदा पनि द्वन्द्व पुनः देखा परिरहनुको कारण यही हो ।
युक्रेनमा सेना प्रमुख र रक्षामन्त्रीबिच विवाद नयाँ होइन । विगतमा सन् २०१७ र २०१९ को बिचमा रक्षामन्त्री रहेका स्टेफन पोल्टोरक र उनका सैन्य समकक्षी लेफ्टिनेन्ट जनरल भिक्टर मुझेन्को एउटै कोठामा कहिल्यै सँगै देखिँदैनथे । सन् २०१९–२० को अवधिमा अर्का सेना प्रमुख जनरल रुस्लान खोमचक र नयाँ रक्षामन्त्री एन्ड्री जागोरोद्नियुकबिचको सम्बन्ध पनि छिट्टै बिग्रिन पुग्यो । विवाद कम नभएपछि सुधारवादी जागोरोद्नियुकलाई ६ महिनामै जेलेन्स्कीले बर्खास्त गरे । जागोरोद्नियुकका उत्तराधिकारीका रूपमा आएका एन्ड्री तरानसँग खोमचकको द्वन्द्व त झन् बढेर एकले अर्कोमाथि मुद्दा हाल्ने स्तरसम्म पुग्यो ।
युक्रेनको कमजोर संस्थागत प्रणालीमा राष्ट्रपति प्रमुख राजनीतिक खेलाडी हुन्छन् र सबै शक्ति एउटै व्यक्ति केन्द्रित भएको र संस्थाहरू कमजोर हुँदा नागरिक नेतृत्व र सैन्य नेतृत्वबिच प्रतिरोध स्वाभाविक थियो । त्यहाँ राष्ट्रपतिसँगको पहुँच सबैभन्दा मूल्यवान् राजनीतिक सम्पत्ति रहन्छ । युद्धका कारण जेलेन्स्की आफ्ना सैन्य नेतृत्वमाथि बढी निर्भर बन्दै गए । रक्षामन्त्री र सेना प्रमुखबिचको तनावमा जेलेन्स्कीले प्रायः सैन्य नेतृत्वको पक्ष लिने देखिन्छ ।
पछिल्लो संकटमा पनि जेलेन्स्कीले सुरुमा जनरल सिर्स्कीकै पक्ष लिएका थिए । यद्यपि, यस कदमले राजनीतिक संकट निम्त्याएपछि राष्ट्रपतिलाई सैन्य नेतृत्वलाई बर्खास्त गर्न बाध्य बनायो । तर, जबसम्म उनले राजनीतिक संकट उत्पन्न गर्ने अन्तर्निहित संरचना नै बदल्दैनन्, सेनामाथि नागरिक नेतृत्वको नियन्त्रण विवादित रहिरहन्छ ।
ह्वाइटमोर अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीका राजनीतिका सहप्राध्यापक हुन् भने रेन्ज युनिभर्सिटी अफ नोटिंघमका अन्तर्राष्ट्रिय सुरक्षाका प्राध्यापक हुन् ।
द कन्भर्सेसनबाट