सशस्त्र प्रहरी बलका पूर्वएआइजी नारायणबाबु थापालाई ३ प्रश्न

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

सीमामा सशस्त्र प्रहरीलाई सफारी सुटमा विनाहतियार खटाउनु कस्तो अभ्यास हो ?
हाम्रो सुरक्षा बलमा यस्ता विभिन्न अवधारणा नेतृत्व तहबाट वेलावेलामा लागू हुँदै आएका हुन्छन् । तर, त्यस्ता अवधारणालाई निरन्तरता दिएको भने खासै पाइँदैन । सीमावर्ती क्षेत्रमा सूचना संकलनमा सघाउन यसरी खटाइएको भए ठिकै पनि हुन सक्छ । तर, यसको सफलता या असफलता भने भविष्यले नै देखाउनेछ । जसरी, जुनसुकै पोसाकमा खटिए पनि कसैले परिचय सोधे हामी सशस्त्र प्रहरी हौँ भन्न त परिहाल्यो । फेरि कम्ब्याट पोसाकमै भए पनि पारिबाट के ल्याउन पाइन्छ, के ल्याउन पाइन्न भनेर जनतालाई सरल रूपमा बुझाउन सकियो भने त्यसको प्रभाव सकारात्मक देखिन सक्छ । तर, आपराधिक तत्वले त्यस्तै पोसाक लगाएर अन्य सीमावर्ती स्थानमा त्यसको फाइदा नउठाउलान् भन्नचाहिँ सकिन्न । 

सीमाजस्तो सुरक्षाका दृष्टिले संवेदनशील स्थानमा विनाहतियार खटाउँदा सुरक्षाकर्मी नै असुरक्षित हुने अवस्था त आउँदैन नि ?
यसरी अन्य पोसाकमा सशस्त्र प्रहरीलाई विनाहतियार खटाउने निर्णय सीमावर्ती क्षेत्रमा कहिलेकाहीँ स्वयं प्रहरी कर्मचारीकै सुरक्षाका दृष्टिले प्रत्युत्पादक नहोला भन्न सकिन्न । जनतासँग नजिक हुन, उनीहरूसँग ‘इन्टर्याक्ट’ गर्न भनी खटिएका सुरक्षाकर्मीले हतियार लुकाएर सेवा दिने कुरा पनि हुँदैन । यस्तो अवस्थामा उनीहरू स्वयं अवाञ्छित तत्वको ‘थ्रेट’मा पर्न पनि सक्छन् । त्यसैले, यसतर्फ भने सचेत हुनैपर्छ । 

यसले सीमा व्यवस्थापनमा कस्तो प्रभाव पार्ला ?
हाम्रो दक्षिणी सीमा व्यवस्थापन अत्यन्त जटिल छ । यसलाई सशस्त्र प्रहरीले मात्र व्यवस्थापन गर्न सक्दैन । यसलाई युगौँदेखि सीमावर्ती स्थानका जनताले जोगाउँदै आएका हुन् र अहिले पनि उनीहरूले नै जोगाउँदै आएका छन् । सशस्त्र प्रहरी त सीमारक्षासित जोडिने एउटा अवयव मात्र हो । त्यसैले, प्रहरीको पोसाक परिवर्तनले मात्र सीमा व्यवस्थापनमा ठुलो प्रभाव पार्ने अपेक्षा गर्न मिल्दैन । 

सुझावित समाचार