प्राधिकरणका प्रवक्ता राजन ढकाल भन्छन्— हामीले मागेको रायमा आन्तरिक राजस्व विभागले साउन १ गतेपछिको खपतमा मात्रै भ्याट लगाउन भनेको छ । अब साउन १ गतेपछिको खपतमा मात्रै भ्याट लिन्छौँ ।
उपभोक्ताले खपत गरेको विद्युतकाे साउन महिनादेखि मात्रै मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ जेठमा सार्वजनिक गरेको चालू आव ०८३/८४ को बजेटमार्फत विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेका थिए । घरायसी वर्गमा ५० युनिटमाथिको खपतमा पाँच प्रतिशत र उद्योगलाई १३ प्रतिशत भ्याट लगाउने प्रस्ताव गरिएको छ, जुन साउन १ गतेदेखि लागू हुने भनिएको थियो ।
तर, नेपाल विद्युत् प्राधिकरणले असारमा खपत भएको बिजुलीको बिलमा पनि भ्याट समावेश गरेर पठाएपछि सर्वसाधारण असन्तुष्ट भएका थिए । साउन १ गतेयता बिल काटेको भन्दै प्राधिकरणले भ्याट जोडिएको बिल पठाएको थियो । त्यसमा चर्को विवाद भएसँगै प्राधिकरणले असारको खपतमा भ्याट लाग्ने कि नलाग्ने भनेर आन्तरिक राजस्व विभागसँग राय मागेको थियो । त्यसमा विभागले साउन १ गतेपछिको खपतमा मात्रै भ्याट लगाउन भनेको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले अब १ साउनयताको खपतमा मात्रै भ्याट लाग्ने बताए । ‘हामीले मागेको रायमा आन्तरिक राजस्व विभागले साउन १ गतेपछिको खपतमा मात्रै भ्याट लगाउन भनेको छ,’ उनले भने, ‘अब साउन १ गतेपछिको खपतमा मात्रै भ्याट लिन्छौँ ।’
यस्तै, आन्तरिक राजस्व विभागले डिमान्ड शुल्कमा पनि भ्याट लिन भनेको छ । ‘विद्युत् खपतमा न्यूनतम चार्ज वा डिमान्ड चार्ज असुल गर्ने रकमसमेत विद्युत् सेवाबापत नै भएकाले न्यूनतम चार्ज वा डिमान्ड चार्जमा पनि मूल्य अभिवृद्धि कर आकर्षित हुने हुँदा द्विविधामा नरहन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विभागले भनेको छ ।