चिकित्सकमाथि कुटपिटपछि नारायणी अस्पतालको आकस्मिक सेवा आंशिक प्रभावित

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

नारायणी अस्पतालको आकस्मिक सेवा आंशिक रूपमा प्रभावित भएको छ। शनिबार उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट हुँदा आकस्मिक सेवा प्रभावित भएको हो।

वीरगन्ज महानगरपालिका– २५ का ४५ वर्षीय राजकुमार पटेलको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्तले चिकित्सकलाई कुटपिट गर्दै तोडफोड गरेका थिए। बिहान ११ बजेको समयमा मृतक पटेलका आफन्तले आकस्मिक कक्षमा प्रवेश गरेर कुटपिट गरेपछि मेडिकल अफिसर डा. प्रमोद राम घाइते भएका छन्। उनको अहिले आइसियूमा उपचार भइरहेको छ।

नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डा. मनोज गुप्ताका अनुसार आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि संघातिक हमलापछि असुरक्षा महसुस भएकाले आंशिक रूपमा सेवा प्रभावित भएको अवस्था छ।  अस्पतालमा उपचारमा खटिएका चिकित्सकमाथि कुटपिट भएको र उल्टै काममा खटिएका स्वास्थ्यकर्मीलाई निलम्बन गरेकाले सेवा प्रभावित भएको उनले बताए।

शनिबार भएको घटनामा संलग्न भएको भन्दै आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मी निलम्बन भएका छन्। घटना भएको समयमा आकस्मिक कक्षमा खटिएका डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादव निलम्बनमा परेका हुन्।

शनिबार साँझ अस्पतालमा सहायक प्रजिअसहित बसेको बैठकले छानबिन समितिको प्रतिवेदन नआएसम्म उनीहरूलाई जिम्मेवारीबाट अलग राख्ने निर्णय गरेको हो।

अस्पतालमा खटिएका चिकित्सकहरूको निलम्बन फिर्ता नभएसम्म सेवा नियमित गर्न चिकित्सकहरू तयार नभएको अध्यक्ष गुप्ताले बताए। अहिले प्रमुख जिल्ला अधिकारी अस्पताल पुगेर चिकित्सकहरूसँग घटनाबारे बुझ्ने काम गरिरहेको एक चिकित्सकले बताए।

यस्तै, नेपाल चिकित्सक संघले अस्पतालमा उपचारमा खटिएका चिकित्सकमाथि सांघातिक हलमा भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चिकित्सकमाथि सांघातिक हमला गर्नेलाई पहिचान गरेर कानुनी कारबाही गर्न पनि माग गरेको नेपाल चिकित्सक संघका अध्यक्ष बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सुझावित समाचार