विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई शपथग्रहण गराएका हुन्।
ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएको भन्दै नीतिगत र संरचना सुधारका लागि काम गर्न निर्देशन दिए। उनले मन्त्रालयबाट आयोगको कामलाई पूर्ण सहयोग हुने प्रतिबद्धता पनि जनाए।
आयोगका पदाधिकारीले सरकारको स्पिरिटअनुसार सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए। आयोगका अध्यक्ष धितालले सरकारको सुशासनको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए। मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका निर्वाह गर्ने, विद्युतको राष्ट्रिय खपत बढाउन सहजीकरण गर्नेलगायत काम गर्ने उनको भनाइ थियो।
‘आयोगलाई मन्त्रालयको नीतिगत मार्गदर्शन, अभिभावकत्व हुनुपर्छ। मन्त्रालयसँग क्लोज कोर्डिनेसनमा काम गर्छौं। यो टिमले निराश पार्दैन,’ उनले भने। आयोगका सदस्यहरूले पनि आफूहरू २०औँ वर्ष यही सेक्टरमा काम गरेको भन्दै आफ्नो सिकाइ र अनुभवलाई प्रयोग गरेर नतिजामुखी परिणाम निकाल्न लाग्ने प्रतिबद्धता जनाए।
मन्त्री श्रेष्ठले नियामकीय निकायको हिसाबले मन्त्रालयअन्तर्गतको डिओई र एनइएलाई पनि आयोगले सुपरिवेक्षण गर्नुपर्ने बताए। यो टिमबाट आयोगको गरिमा बढ्ने र उदाहरणीय बन्ने उनको विश्वास छ। उनले विद्युत् प्राधिकरणको खरिद प्रक्रियाको पनि कार्यतालिका बनाएर हेर्न सुझाव दिए।