सिराहाको पश्चिमी भेगमा पर्ने कल्याणपुर नगरपालिका– १२, बेलहाका करिब सात वर्षीय नाबालकको हत्यामा संलग्न रहेको आरोप लागेका चारजना फरार प्रतिवादीमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कल्याणपुर– १२, बेलहाका गणेश मुखियाका छोरा करिब सात वर्षीय अजित मुखियाको हत्यामा संलग्न रहेको आरोप लागेका स्थानीय करिब ४५ वर्षीय ज्ञानचन मुखियालाई पक्राउ गरिएको हो । मुखिया आफ्नै घरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा परिचालन भएको प्रहरीले पक्राउ गरी जिल्ला प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
उनका अनुसार ३ फागुन ०८१ को साँझ आफ्नै घरबाट हराएका नाबालकको शव पाँच दिनपछि स्थानीय पोखरीमा मृत फेला परेको थियो । शव भेटिएपछि मृतकका परिवारले ज्ञानचनसहित चारजनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएपछि सबैजना फरार रहेको अवस्थामा खोजतलास गरी पक्राउ गरिएको हो ।
त्यसअघि प्रहरीले गत शुक्रबार सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका– ५, जिझौल गाउँमा १८ वर्षअघि महिलाको हत्यामा संलग्न रहेको आरोपमा फरार रहेका स्थानीय करिब ६० वर्षीय रामनाथ रायलाई पक्राउ गरेको थियो ।
पछिल्लो समय सिराहा प्रहरीले विभिन्न फौजदारी मुद्दाअन्तर्गत फरार प्रतिवादीहरूलाई घटनाको प्रकृतिको आधारमा जिल्ला प्रहरीसहित स्थानीय प्रहरी युनिट र सादा पोसाकका प्रहरी परिचालन गरी धमाधम पक्राउ गरिरहेको छ ।