वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठलाई ३ प्रश्न

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

हामीकहाँ अहिले नसर्ने रोगको अवस्था कस्तो छ ?
पहिले–पहिले नसर्ने रोगको बिगबिगी थियो । समुदायमा बढ्दै गएको स्वास्थ्य सचेतना, सरसफाइलगायत कारणले त्यस्ता रोग क्रमशः कम हुँदै गए । तर, पछिल्लो समयमा बढ्दै गएको प्रदूषण, ‘लाइफ स्टाइल’, खानपान, सहरीकरण, औद्योगीकरणलगायत अनेक कारकले नसर्ने रोगका बिरामी भने दिनदिनै बढिरहेका छन् । 

नसर्ने रोग यो स्तरमा किन फैलिइरहेको छ ?
नसर्ने रोग यो स्तरमा फैलिनुमा हाम्रो खानपान मुख्य रूपमा जिम्मेवार छ । धूमपान र मद्यपानका कारण पनि यस्ता रोगका बिरामी बढिरहेका छन् । क्यान्सर, डायबिटिज, हाइपरटेन्सन, मुटु, मिर्गौला, प्रेसरलगायत विभिन्न नसर्ने रोगले अहिले नेपालीहरू बढी आक्रान्त भइरहेका देखिन्छन् । यस्ता कतिपय रोग वंशाणुगत पनि छन् । यीमध्ये कतिपय रोग एक–अर्कामा अन्तर्सम्बन्धित पनि छन् । एउटाका कारण अर्को रोग देखिने अवस्था पनि छ ।

यस्ता रोगको प्रकोपबाट बच्न के गर्नुपर्ला ?  
यसका लागि सबैभन्दा पहिले हामी सबैले आफ्नो लाइफ स्टाइलमा सुधार ल्याउनुपर्छ । यसका लागि बच्चैदेखि सुधार सुरु गर्नुपर्छ । पछि हुर्किसकेपछि सचेत भएर सुधार गर्न खोज्दा पनि पूर्ण सुरक्षित हुन कठिन हुन्छ । त्यसैले, बच्चैदेखि घरबाटै यसबारे अभ्यास गराउनुपर्छ । हेल्दी खाना खान र बाहिरका जंकफुड नखान प्रेरित गर्नुपर्छ । आधुनिकताका नाममा पिज्जा, बर्गर, प्याकेटका खानेकुरा आदिप्रतिको बढ्दो मोह त्याग्नुपर्छ । यसका लागि बालबालिकाको पाठ्यक्रममै व्यवस्था गरी स्कुलबाटै सुधार सुरु गर्नुपर्छ । हेल्दी खानासँगै बालबालिकालाई शारीरिक अभ्यासमा पनि संलग्न गराउनुपर्छ । समुदायमा खेल्ने स्थानको व्यवस्था गरी बालबालिकालाई घरबाहिरका शारीरिक खेलमा सरिक गराउनुपर्छ । साइक्लिङलाई पनि प्राथमिकता दिन सकिन्छ । बालबालिकाले खेलकुदमा गरेको प्रगतिलाई उनीहरूको मार्कसिट या ग्रेडसिटमा पनि ठाउँ दिनुपर्छ । 

सुझावित समाचार