बागमतीमा विनाविभागीय मन्त्रीलाई विषयगत जिम्मेवारी

मन्त्रालय घटेपछि ६ मन्त्रीले सम्हाल्ने अतिरिक्त कार्यभार, ओएनएम पूरा भएपछि ८ मन्त्रालयमै सीमित हुने

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले मन्त्रालयकाे संख्या १४ बाट घटाएर आठमा सीमित गरेसँगै विनाविभागीय बनाइएका ६ जना मन्त्रीलाई विषयगत जिम्मेवारी तोकेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय पुनर्संरचनापछि सरकारी कामकारबाहीमा निरन्तरता कायम राख्न उनीहरूलाई सम्बन्धित मन्त्रालयअन्तर्गतका विषयगत जिम्मेवारी प्रदान गरेका हुन्।

मुख्यमन्त्रीको निर्णयअनुसार विनु रायमाझी पौडेललाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ। जयराम थापाले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत श्रम, रोजगार तथा यातायात क्षेत्रको जिम्मेवारी सम्हाल्नेछन्।

यस्तै, सुरेश श्रेष्ठलाई सोही मन्त्रालयअन्तर्गत संस्कृति तथा पर्यटन, किरण थापामगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य, उर्मिला नेपाललाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद तथा भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा वातावरण क्षेत्रको जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकारले मन्त्रालयको संख्या घटाए पनि संगठन तथा व्यवस्थापन (ओएनएम)को प्रक्रिया अझै पूरा नभएकाले सम्बन्धित क्षेत्रका नीति तथा प्रशासनिक काममा अवरोध नआओस् भन्ने उद्देश्यले अतिरिक्त जिम्मेवारी तोकिएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारलाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालय पुनर्संरचना गरिएको बताएका छन् । उनका अनुसार ओएनएम प्रक्रिया सम्पन्न भएपछि मन्त्रालय र मन्त्रीको संख्या स्थायी रूपमा आठवटामै सीमित हुनेछ ।

यसअघि बिहीबार बिहान मुख्यमन्त्री बानियाँले सातजना मन्त्रीलाई नयाँ संरचनाअनुसार मन्त्रालयको जिम्मेवारी तोकेका थिए। त्यसको निरन्तरतास्वरूप विनाविभागीय रहेका ६ मन्त्रीलाई पनि विषयगत जिम्मेवारी दिइएको हो। मन्त्रालय संख्या घटेपछि प्रशासनिक खर्च कम हुने, निर्णय प्रक्रिया छरितो बन्ने र सेवा प्रवाह थप प्रभावकारी हुने सरकारको अपेक्षा छ।
 

सुझावित समाचार