शुक्रबारदेखि सुरु हुने आर्थिक वर्ष ०८३/८४ सँगै सरकारले व्यक्तिगत आयकरको नयाँ व्यवस्था लागू गरेको छ। नयाँ प्रावधानअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य रोजगारी आय हुने व्यक्तिले एक प्रतिशत मात्र कर तिर्नुपर्नेछ।
सरकारले करदाताको बोझ घटाउने उद्देश्यले आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ पुर्याएको हो। साथै व्यक्तिगत आयकरको अधिकतम दर पनि १० प्रतिशत विन्दुले घटाइएको छ।
नयाँ व्यवस्थाअनुसार १० लाखदेखि १५ लाख रुपैयाँसम्म करयोग्य आय हुनेले १० लाखसम्म १० हजार रुपैयाँ र बाँकी आयमा १० प्रतिशत कर तिर्नुपर्नेछ। १५ लाखदेखि २५ लाख रुपैयाँसम्म आय हुनेले १५ लाखसम्म ६० हजार रुपैयाँ र त्यसभन्दा माथिको आयमा २० प्रतिशत कर लाग्नेछ।
यस्तै, २५ लाख रुपैयाँभन्दा बढी करयोग्य आय हुनेले २५ लाखसम्म दुई लाख ६० हजार रुपैयाँ र त्यसभन्दा माथिको आयमा २७ प्रतिशत कर तिर्नुपर्नेछ। ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए थप आयमा अतिरिक्त दुई प्रतिशत कर पनि लाग्नेछ।