बाढीपहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि तयारी कस्तो छ ?
प्राधिकरणले आफ्नो गठनको उद्देश्यबमोजिम नै सबै निकायसँग समन्वय र सहजीकरण गरिरहेको छ । मनसुन प्रतिकार्य योजना बनाएर खोज तथा उद्धारका लागि आवश्यकताअनुसार काठमाडौं, इटहरी र सुर्खेतमा सरकारी हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । निजी क्षेत्रका हेलिकोप्टर, र्याफ्टिङ र ड्रोनका लागि पनि कुराकानी गरी तयारी अवस्थामै राख्ने काम भएको छ । निजी क्षेत्रका हेलिकोप्टरले काठमाडौंमा निःशुल्क र काठमाडौंबाहिर न्यूनतम शुल्क लिएर सेवा दिने सहमति भएको छ । ‘सेतु’ नामको एपमार्फत सडक, पुल आदि कहाँ अवरुद्ध भएका छन्, डोजर कहाँकहाँ छन्, उद्धारकर्मी कहाँ छन् लगायत सूचना आदानप्रदान गर्ने गरी काम भइरहेको छ । हरेक जिल्लामा हटलाइनको व्यवस्था गरी चौबीसै घण्टा सूचना लिने र दिने तयारी गरिएको छ ।
विपत्पछिको उद्धार र राहत कार्यका लागि राज्य कति तयार छ ?
विपत्पछिको उद्धार र राहतका लागि तीनवटै सुरक्षा निकायका २६ हजारभन्दा बढी जनशक्ति तयारी अवस्थामा छन् । उद्धारका लागि माथि नै भनेझैँ सबै तयारी पूरा भइसकेको छ । साथै, राहतका लागि पनि पहिलेभन्दा बढी सामग्री खरिद गरी गोदाममा राखेर प्रदेशहरूलाई हस्तान्तरण गरिसकिएको छ । प्रदेश र स्थानीय तहका पनि आआफ्नै गोदाम छन् । कुन गोदाममा कुनै सामग्री कति मौज्दात छन् भन्नेबारे केन्द्रबाटै अपडेट लिन सकिने गरी आन्तरिक एप तयार गरिएको छ । त्यसैले, सम्भावित विपत्पछिको उद्धार र राहतका लागि हामी तम्तयार भएर बसेका छौँ ।
विपत्बाट प्रभावित नागरिकको स्वास्थ्य, खानपिन र बसोवासको व्यवस्थापन कसरी हुन्छ ?
प्रभावितलाई सुरक्षित स्थानमा राख्ने, खानपान र बसोवासको व्यवस्था मिलाउने जिम्मा स्थानीय तहको हो । स्थानीय तहबाट मात्र सम्भव भएन भने केन्द्रबाट समेत सहजीकरण गरी सघाउने व्यवस्थासमेत मिलाइएको छ । सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीसहितको टोली परिचालित हुने व्यवस्था पनि मिलाइएको छ ।