राजनीतिक विश्लेषक रोशन जनकपुरीलाई ३ प्रश्न

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

मधेशी दलहरूमा एकताका लागि छटपटी किन देखिन्छ ?
सायद उनीहरूले अस्तित्वको संकट महसुस गरेको हुनुपर्छ । विगतमा एक्लाएक्लै हुँदा कहिले कोसित त कहिले कोसित गठबन्धन गरेर सत्तामा टिकिरहन सकिने अवस्था थियो । तर, पछिल्लो निर्वाचनपछि त्यो सम्भावनाको अन्त्य भयो । आगामी चुनावले थप चुनौती दिन सक्ने सम्भावना पनि छ । यतिखेर सम्भव भए पनि नभए पनि नेपाली राष्ट्रिय राजनीतिमा वाम एकताको पनि बहस चलिरहेको छ । सायद, त्यसले पनि मधेशी दलहरूलाई एकता या सहकार्यका लागि घचघच्याएको हुन सक्छ । 
अहिले आन्दोलनको मनस्थितिमा छ त मधेश ?
आन्दोलन उठाउन सके त राम्रै हुन्छ उनीहरूका लागि । त्यसैले, उनीहरूले कोसिस त पक्कै गर्लान् । तर, राष्ट्रिय राजनीतिमै त्यसका लागि माहोल बन्यो भने मात्र त्यस्तो आन्दोलन उठ्न र प्रभावकारी हुन सक्छ । यतिखेर सुकुमवासीहरूमाथि संघीय सरकारको ज्यादतीपछि उनीहरू आन्दोलित छन् । मिटरब्याजपीडित पनि आन्दोलनमै छन् । विद्यार्थी पनि आन्दोलित छन् । प्रतिपक्षी दल पनि आन्दोलनको कुरा गरिरहेका छन् । यस्तोमा आन्दोलनका पक्षमा माहोल बन्दै गयो भने भोलि मधेश आन्दोलित नै नहोला चाहिँ भन्न सकिन्न । 

मधेशी दललाई फेरि पनि मधेशले विश्वास गर्ने सम्भावना कति देख्नुहुन्छ ?
अहिले प्रोपोगान्डामा आधारित राजनीतिको माहोल बलियो देखिन्छ । मधेशबाटै ३२ मा ३१ सिट जितेको रास्वपा राष्ट्रिय राजनीतिमै बलियो देखिन्छ । भविष्यमा रास्वपामा कुनै विग्रह आएमा या ऊ कमजोर भएमा एकातिर कांग्रेस र एमालेजस्ता दल र अर्कातिर मधेशी दलको पक्षमा माहोल नबन्ला भन्न सकिन्न । मधेशी दलहरूको आधार मधेश नै भएको हुनाले आफू सच्चिएको आभास मधेशी जनतालाई गराउन सके भने मधेशले फेरि मधेशी दललाई विश्वास गर्ने दिन आउन पनि सक्छ । 

सुझावित समाचार