‘मेयरसाब, बालविवाहको पहिलो कारण दारु हो। यसले प्रत्येक घरमा अशान्ति छ,’ अछामको कमलबजार नगरपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत कल्पना देवकोटाले नगरप्रमुख यज्ञप्रसाद ढकाल सहभागी सभामा भनिन्, ‘जसका कारण छोरीहरू उमेर नपुग्दै विवाह गरेर घर छोड्न बाध्य छन्। अधिकांश बुबाहरू मदिराको मातमा आमा र छोरीहरूलाई गाली गर्छन्। छोरीहरूले डर र धम्की सहनुपर्छ। यो अवस्था मैले पनि भोगेँ र अहिलेका बालिकाले पनि भोगिरहेका छन्। यसबारे सोचिदिनुहोला।’
उनका अनुसार कमलबजारका अधिकांश गाउँमा अहिले पनि मदिरा सेवनपछि बालबालिकामाथि हुने विभेद, अपहेलना, असुरक्षा र हिंसाको कहालीलाग्दो शृंखला जारी छ।
‘आमाहरू ऋण गरेर छोरी पढाउन खोज्छन्,’ कल्पनाले आफ्नो विगत सम्झँदै रुँदै भनिन्, ‘तर, बुबाहरूलाई कुनै वास्ता छैन। उनीहरू मदिराकै मातमा हुन्छन्, जसका कारण गाउँ बर्बाद भइसकेको छ।’
बालबालिकाको नेतृत्व विकासका लागि आयोजना गरिएको नगरस्तरीय भेलामा बोल्दै नगर प्रमुख ढकालले पनि मदिराले बालविवाह बढाएको बताए।
‘म ठोकुवा गरेर भन्न सक्छु,’ उनले भने, ‘८० प्रतिशतभन्दा बढी बालविवाह मदिराकै कारण भइरहेका छन्।’ अन्य कारणले हुने बालविवाह घटे पनि मदिराका कारण हुने बालविवाह घटाउन नसकिएको उनले बताए।
‘बुबाहरू मात्र होइन, सानै उमेरका छोराहरूसमेत मदिराकै लतमा भेटिन्छन्,’ नगरप्रमुख ढकालले भने, ‘यो मदिराले कलिला बालबालिका घरभित्रै सुरक्षित छैनन्।’
यो अवस्था सुधारका लागि चेतनाको विकास जरुरी रहेको भन्दै उनले त्यसका लागि विभिन्न प्रयास भइरहेको र त्यसलाई निरन्तरता दिइने बताए।
छाउपडी, बालविवाह र घरेलु हिंसा रोक्न यो वर्ष विशेष पहल गरिने भन्दै नगर उपप्रमुख शारदा विष्ट कुँवरले त्यसका लागि सबैको सहयोग आवश्यक हुने बताइन्।
प्रमुख प्रशासकीय अधिकृत गणेशविक्रम शाहीले बालबालिकालाई आफ्नो लक्ष्य पूरा हुने गरी अघि बढ्न आग्रह गर्दै त्यसका लागि नगरपालिकाले गर्ने सबै सहयोग गर्न तयार रहेको बताए।
कमलबजार नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष भावना भण्डारीले बालबालिकाले घरभित्रै खेपिरहेको हिंसाका कारण उनीहरूको जीवनको लक्ष्य र उद्देश्यमा समेत बाधा भइरहेको बताइन्।
‘जीवनमा के बन्ने भन्ने हरेक बालबालिकाको लक्ष्य हुन्छ,’ उनले भनिन्, ‘त्यो लक्ष्य पूरा गर्न घरबाटै वातावरण छैन।’ उनका अनुसार कमलबजारमा प्रत्येक महिना बालविवाह हुने गरेको तथ्यांक छ।
कमलबजारमा शनिबार आयोजित भेलामार्फत बालविवाहसहितका अन्य हिंसा रोक्दै बालबालिकाको भविष्यको लक्ष्य पूरा गराउने उद्देश्यले आठबुँदे प्रतिबद्धतासमेत गराइएको छ। भेलामा स्वास्थ्य शाखा प्रमुख चक्रबहादुर विष्टलगायतले आफ्नो जीवनको सफलताको कथा समेत सुनाएका थिए।
अछाममा कमलबजारसँगै पञ्चदेवल विनायक नगरपालिका र मेल्लेख गाउँपालिकामा पनि बाल नेतृत्व भेलामार्फत उनीहरूको भविष्यको उद्देश्य र लक्ष्यबारे छलफल गरिएको बाल संरक्षण अधिकृत तपेन्द्र ठकुल्लाले बताए।
उनका अनुसार पालिकास्तरीय बाल सञ्जालहरूले आस्था नेपाल र वर्ल्ड भिजनको सहयोगमा बालबालिकाको भविष्यको लक्ष्यबारे धारणा सुन्ने, परामर्श गर्ने तथा जनप्रतिनिधिलाई समस्या समाधानका लागि प्रतिबद्ध गराउने उद्देश्यले बालबालिकाले आफैँ यो भेला सञ्चालन गरेका हुन्।